काठमाडौं, २४ चैत । सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता छानविन आयोग मस्यौदामा प्रमुख तीन दलबीच सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको छलफलमा नेपाली कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताबीच भएको बैठकले आयोगको मस्यौदानमा सहमति जनाएको एक नेताले जानकारी दिए । उनका अनुसार मस्यौदामा सहमति भइसकेको र मंगलबार बेलुकासम्मा तीन दलको कार्यदलले त्यसलाई अन्तिम रुप दिनेछ ।
बैठकले विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदातलको फैसला र अन्तरिम संविधानलाई ख्याल गर्दै विधेयक तयार पार्न कार्यदललाई निर्देशन दिएको बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए । त्यसपछि सो मस्यौदालाई कानुन मन्त्रालयले विधेयक बनाई संसदमा पेश गर्ने बताइएको छ ।
स्रोतका अनुसार बुधवारसम्ममा सो विधेयक संसद्मा प्रस्तुत गर्ने गरी तीन दल विच सहमती भएको छ । बैठकमा कांग्रेसको तर्फबाट प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेर बहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र कानुन मन्त्री नरहरि आचार्य सहभागी थिए । नेकपा एमालेको तर्फबाट सो बैठकमा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम, महासचिव इश्वर पोखरेल र सचिव विष्णु पौडेल सहभागी थिए । त्यस्तै एमाओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, पोष्टबहादुर बोगटी र वर्षमान पुन सहभागी थिए ।
यसैबीच तीन दलका शीर्ष नेताको सोमबारको बैठकमा संविधानसभामा मनोनित गर्ने २६ सभासद् र संविधानसभा अन्तर्गतका विभिन्न समितिमा नियुक्ति गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
प्रतिक्रिया