माधवले नछाड्ने

काठमाडौं, २४ चैत । आफूलाई पार्टीभित्र ‘माइनस’ गर्न खोजेको आरोप लगाउँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संसदीय दलका नेता केपी शर्मा ओली र एमाले उपाध्यक्ष बामदेव गौतमलाई लक्षित गर्दै चुनावी मैदानमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन् ।
मंगलबार युवा संघ नेपालको केन्द्रीय कमिटीको तेस्रो पूर्णबैठकको धुलिखेलमा समापन कार्यक्रममा बोल्दै नेता नेपालले कसैको टक्करबाट आफू नडराउने दाबी गरे । संसदीय दलको निर्वाचनको बेलादेखि ओली गुटमा लागेका उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका गौतमले अवको अध्यक्ष ओली भन्ने अभिव्यक्ति दिएको भोलिपल्टै नेता नेपालले आफ्नो आक्रोश पोखे । नेता गौतमले सो कार्यक्रममा आफू अब प्रधानमन्त्री बन्नेसमेत दाबी गरेका थिए ।
युवा संघको कार्यक्रममा बोल्दै नेता नेपालले आफू कसैको गुट र टक्करबाट कहिलै नडराउने दाबीसमेत गरे । उनले ओली र गौतमप्रति लक्षित गर्दै जहाज ठोक्नेहरुलाई जहाजको जिम्मा दिनु नहुने तर्कसमेत गरे । ‘जहाज कुशलताका साथ उडाउने र अवतरण गर्न सक्नेलाई नेतृत्व दिनुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया