दरबार हत्याकाण्डको पुन: छानबिन आवश्यक : भट्टराई

baburam copyकाठमाडौं, २२ चैत । एमाओवादी नेता डा. बाबुराम भट्टराईले तत्कालिन दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुन आवश्यक रहेको बताएका छन् । दरबार हत्याकाण्ड कसरी भयो भन्ने विषय अझै पनि रहस्यमय रहेको भन्दै डा. भट्टराईले सत्यतथ्य बाहिर आउन पनि छानबिन हुनु पर्ने बताए ।
मोहन कुमार थापाद्वारा लिखित ‘ती सैनिक’ नामक पुस्तकको राजधानीमा विमोचन कार्यक्रममा शनिबार बोल्दै नेता भट्टराईले दरबार हत्याकाण्ड दिपेन्द्र शाहले गरेको भनिए पनि किन त्यसो भयो भन्नेबारे सत्यतथ्य खोजिनुपर्ने धारणा राखे ।
‘दिपेन्द्रले मारे भन्ने करिब करिब त प्रत्यक्षदर्शीले भनिराखेका छन्’ कार्यक्रममा बोल्दै नेता भट्टराईले भने, ‘तर उनले किन मारे र आफैं किन मारिए भन्ने छानबिन हुन आवश्यक छ ।’
कार्यक्रममा लेखक थापाले भने आफ्नो नव विमोचित पुस्तकमा दरबार हत्याकाण्डबारे छानबिन समिति गठन भएपनि सत्यतथ्य खोजी नभएको दावी गरेका छन् । हत्याकाण्डमा को कसको भूमिका थियो ? कसरी त्यस प्रकारको दुर्घटना हुन गयो ? दोषीमाथि (चाहे मृत्यु नै भैसकेको भएपनि) के कस्तो दण्ड सजाय दिने ? भन्ने सम्बन्धमा गहन अनुसन्धान, छलफल र बहस नभएको पनि पुस्तकमा उल्लेख छ ।
सो पुस्तकमा तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको जिप दुर्घटनालाई हत्याको रुपमा उतार्दै त्यसयता रहस्यमय हत्या हुने क्रम: बढेको दावी समेत गरिएको छ ।
कार्यक्रममा एमाओवादी नेता डा. भट्टराईले प्रधानमन्त्री सुशिल कोइरालाको दिनगन्ती सुरु भइसकेको समेत उल्लेख गरेका छन् । ‘हामी चाँही कोही मान्छे प्रधानमन्त्री बन्न पाएको हुँदैन लडाउन सुरु गर्छौ’ भट्टराईले भने, ‘आदरणीय सुशील कोइरालाको समेत दिनगन्ती गन्न सुरु गरिसके । म त्यो पक्षमा छुइन । काम गर्ने समय नदिई हात खुट्टा बाधेर काम गरेन भन्न मिल्दैन’
कार्यक्रममा उनले मलेसिया र सिंगापुर बनाउन लामो समय एकै व्यक्तिले शासन सत्ता चलाएको उदाहरण समेत प्रस्तुत गरेका थिए ।
भट्टराईले इतिहास भनेको कुनै घटनाको विशेषण मात्रै नभएको भन्दै नेपालमा विजेता तथा शासकहरुले मात्रै इतिहास लेखेको भन्दै त्यसलाई सच्याउन पर्नेमा पनि जोड दिए । ‘इतिहासमा भएका गल्तिहरुलाई सच्याउनुपर्छ’ उनले भने ‘सय वर्ष, हजार वर्षपछि भएपनि गलत कुरालाई सच्याउनुपर्छ ।’

प्रतिक्रिया