ग्रीनकार्ड होल्डर खोज्न अमेरिकाको सहयोग !

काठमाडौ ,२१ चैत । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्लु बोडेले आफ्नो देशको ग्रीनकार्ड र नागरिकता लिने नेपाल सरकारका कर्मचारीको खोजीमा सहयोग गर्ने बताएका छन् । शुक्रबार सामान्यप्रशासन मन्त्री लालबाबु पण्डितसँगको भेटको क्रममा राजदुत बोडेले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
गैरकानुनी हिसावले विभिन्न देशको नागरिकता, ग्रीनकार्ड र पिआर लिएका कर्मचारीहरुलाई कारवाही गर्ने घोषणा गरेको केही दिन पनि वित्न नपाउदै राजदूत बोडेले मन्त्री पण्डितसँग भेट गरी सो प्रतिवद्धता जनाएका हुन् । राजदूत बोडेले त्यस्ता कर्मचारीको खोजीमा आफ्नो देशले सहयोग गर्ने बचन दिए ।
सामान्य प्रशासन मन्त्रालयमा भएको भेटमा राजदूत बोडेले प्रशासन सुधारका लागि सरकारले गरेको प्रयास प्रशंसा योग्य भएको बताएका थिए । ‘अमेरिकामा प्रशासन सुधार हुन १ सय ७० बर्ष लागेको थियो’, राजदूत बोडेको भनाई उदृत गर्दै मन्त्री पण्डितले भने, ‘प्रशासन सुधारका लागि जे थाल्नुभएको छ, हिम्मतका साथ अघि बढनुस्, यसका लागि हामीले गर्नुपर्ने आवश्यक सबै सहयोग गर्छौं ।’
सार्वजनिक पदमा रहेको व्यक्तिले अरू देशको नागरिकता लिन खोज्नु अमेरिकामा पनि अपराध मानिने राजदूतले बताएको मन्त्री पण्डितले जानकारी दिए । भेटमा राजदूत बोडेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आमनागरिक बेग्लै हो, अन्य देशको पिआर र नागरिकता भएको व्यक्ति सार्वजनिक प्रशासनमा बस्न नपाउने व्यवस्था अमेरिकामा पनि छ ।’ भेटमा मन्त्री पण्डितले देश संक्रमण कालबाट गुज्रिरहेकाले यसको गलत फाइदा कर्मचारीतन्त्रले पनि उठाएको बताएका थिए ।
‘राष्ट्रियताको कुरा हो, देश गरीब भयो भन्दैमा कसैलाई पनि गैरकानुनी काम गर्न छुट छैन’, मन्त्री पण्डितले भने ‘अर्काको देशमा भविष्य देख्ने व्यक्तिले देश र जनताप्रति उत्तरदायी हुँदैन, यस्ता कर्मचारीहरु देशद्रोही हुन् ।’
विभिन्न देशको पिआर, नागरिकता, ग्रीनकार्ड लिएका कर्मचारीलाई कारवाही गर्ने घोषणा गरेका मन्त्री पण्डितले बरु आत्महत्या गर्ने तर कारवाही नगरी नछाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनका अनुसार मन्त्रालयले विभिन्न सरकारी निकाय र कुटनीतिक निकायहरुसँग विभिन्न देशका पिआर, नागरिकता, ग्रीनकार्ड लिएका कर्मचारीहरुको नाम मागेको छ । मन्त्री पण्डितले नाम संकलन भैरहेको र छिट्टै उनीहरुको नाम सार्वजनिक गर्ने र त्यसका लागि आवश्यक कानून संशोधन गरेर कारवाही प्रक्रिया अघि बढाइने बताए ।
राजदूत बोडेले कुटनीतिक मान्यता पूरा गर्दै परराष्ट्र मन्त्रालयमार्फत समय मिलाएर मन्त्री पण्डितलाई भेटेका हुन् । ‘सबैले आफूले पालना गर्नुपर्ने आचारसंहिता र प्रक्रिया पूरा गर्नुपर्छ,’ उनले भने, ‘कुटनीतिक प्रक्रिया पूरा गरेर परराष्ट्र मन्त्रालयमार्फत् समय मागेर मैले राजदूतलाई भेटेको हुँ ।’
मन्त्री पण्डितका अनुसार नेपाल सरकारका एक हजारभन्दा बढी कर्मचारीसँग अमेरिकाको ग्रीन कार्ड र युरोपका विभिन्न देशको पिआर छ ।

प्रतिक्रिया