भारतीय निर्वाचनमा फिल्मी कलाकार

rakhi copyनयाँदिल्ली, २० चैत । छिमेकी मुलुक भारतमा आसन्न लोकसभा निर्वाचनमा फिल्मी क्षेत्रको प्रभाव विगतमा जस्तै यसपटक पनि उल्लेख्य देखापरेको छ । भारतको निर्वाचनमा महत्वपूर्ण पार्टीका रूपमा रहेका कंग्रेस आई, भारतीय जनता पार्टी, नया पार्टीका रूपमा उदाएको आम आदमी पार्टी लगायतबाट उम्मेदवार बन्ने र ती पार्टीको समर्थनमा विभिन्न कार्यक्रममा सहभागी हुने फिल्मी कलाकारहरूको संख्या बढ्दो छ ।
भारतीय फिल्म उद्योगमा चरित्र अभिनेत्रीको रूपमा ख्याती कमाएकी किरण खेर पंजावको चंढिगढबाट लोकसभा निर्वाचनमा उम्मेदवार बनेकी छिन् । खेर सन् २००९ मा भारतीय जनता पार्टीमा आबद्ध भएकी थिइन् । उनी चर्चित फिल्मी कलाकार अनुपम खेरकी पत्नी हुन् । यता संगितकार बप्पी लहरी पनि चुनावी मैदानमा होमिएका छन् । सन् ७० र ८० को दशकमा संगीतको क्षेत्रमा भारतमा चर्चित बनेका बप्पी पश्चिम बंगालको श्रीरामपुर क्षेत्रबाट लोकसभा निर्वाचनमा उम्मेदवार बनेका छन् । उनलाई पनि भारतीय जनता पार्टीले टिकट दिएको हो ।
यता राखी सावन्त पनि चुनावी मैदानमा होमिएकी छिन् । राखीले राष्ट्रिय आम पार्टी नामको नयाँ पार्टी खोलेर उत्तर पश्चिम मुम्वइ क्षेत्रबाट उम्मेदवार बनेकी छिन् । उनी यस अघि भारतीय जनता पार्टीको प्रचार प्रसारमा जुटेकी थिइन् । तर, सो पार्टीले टिकट नदिएपछि उनी आफैले नयाँ पार्टी खोलेर निर्वाचनमा सरिक भइन् । उनले आफ्नो चुनावी घोषणासभामा अवदेखि आइटम र अश्लिल नृत्यहरू नगर्ने प्रतिबद्धता पनि ब्यक्त गरेकी छिन् ।
यता अर्का गायक बाबुल सुप्रियो पनि चुनावी मैदानमा देखापरेका छन् । कहो ना प्यार हे भन्ने हिन्दी फिल्मबाट आफ्नो गायन यात्रा शुरु गरेका बाबुल भारतीय जनता पार्टीले दिएको टिकटबाट पश्चिम बंगालमा उम्मेदवार बनेका हुन् । यता सन् ७० को दशककी चर्चित अभिनेत्री मुनमुन सेन पनि लोकसभा निर्वाचनमा होमिएकी छिन् । उनले तृणमुल कंग्रेसमा आवद्ध भएर पश्चिम बंगालको बाँकुरा क्षेत्रबाट उम्मेदवारीको घोषणा गरेकी छिन् ।
गुल पनाग, परेश रावल, महेश मंज्रेकर, रवि किशन र जावेद जेफ्रीलगायत चर्चित कलाकारहरू पनि चुनावी अभियानमा जुटिसकेका छन् । हेमा मालिनी त विगत केही बर्ष अगाडी देखी नै राजनीतिमा सक्रिय छन् । विगतमा अमिताभ बच्चन र धर्मेन्द्रजस्ता कलाकारहरूले पनि राजनीतिमा आफ्नो कदम अगाडि बढाएका थिए । तर, उनीहरू सो क्षेत्रमा स्थापित हुन सकेनन् ।

प्रतिक्रिया