मलेसियामा थप २ लाखलाई रोजगारी

काठमाडौं, १९ चैत । मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीको अवसर उपलब्ध गराउने भएको छ । नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच बुधवार श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा सुरक्षा, कृषि र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिन मलेशिया सहमत भएको बताइएको छ ।
दुइ देशका उच्च अधिकारीबीच बुधबार काठमाडौंमा भएको वार्ताले सो निष्कर्ष निकालेको हो । वार्तामा मलेसियाको श्रम मामिला समेत हेर्ने त्यहाँका गृहमन्त्री अहमद जालिद हमिदी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको टोली सहभागी थियो । वार्तामा नेपाली श्रमिकको व्यवस्थापन, उनीहरको सेवा सुविधा लगायत विषयको समुचित सम्बोधन गर्न दुईपक्षीय कार्यदल गठनको सहमति पनि भएको छ । नेपाली श्रमिकलाई मलेसियामा सरलरूपमा बढी सङख्यामा रोजगारीका अवसर उपलब्ध गराउने तथा उनीहरूलाई कुनै किसिमका समस्या हुन नदिन र समस्या उत्पन्न भए तत्काल त्यसको निराकरण गर्न पारस्परिक श्रम समझदारीमा प्रवेश गर्न पनि दुवै मुलुक राजी भएका छन् ।
नेपाली कामदारको उच्च नैतिकता, कामप्रतिको समर्पण एवं इमान्दारीका कारण मलेसियाले उनीहरको प्रशंसा गरेको भन्दै राज्यमन्त्री गुरुङले आगामी तीन महिनाभित्र समझदारीपत्रमा हस्ताक्षर गर्ने गरी गृहकार्य थालिने बताए ।
चाँडोभन्दा चाँडो कार्यदलले समझदारीपत्रको खाका तयार गर्ने र त्यसलाई दुवै देशले औपचारिकता प्रदान गर्ने जानकारी मन्त्री गुरुङले दिए । ‘श्रमिकका सुविधा, पारिश्रमिक, तलब भत्ता लगायत सम्पूर्ण समस्याको सम्बोधन श्रम सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गरेपछि हुनेभएकाले त्यसमा नै मन्त्रालय केन्द्रीत रहेर काम गर्नेछ,’ उनले भने ।
मलेसिया प्रवेशाज्ञामा तीन दोब्बरभन्दा बढीले भएको वृद्धी, वैधानिक रूपमा त्यहाँ पुगेका श्रमिकको धरपकड, अध्यागमनमा झेल्नु परेको अमानवीय व्यवहार, रोजगारदाता कम्पनीका मनोमानी लगायत श्रमिकका सबै समस्या समाधान गर्न मलेसिया तयार रहेको पनि मन्त्री गुरुङले जानकारी दिए । उनले मलेसियाली मन्त्रीले प्रस्ताव गरेको श्रमिकसम्बन्धी समझदारीपत्रबाट श्रमिक व्यवस्थापन सहज हुनेमा आफू आश्वस्त रहेको बताए ।
मलेसियाले दक्ष कामदार लिन चाहेको र उनीहरूलाई कार्यक्षेत्रमा प्रवेश गर्नु अगावै नेपाल र मलेसियामा तालिमको व्यवस्था गर्न पनि मलेसिया सरकार तयार रहेको बताइएको छ । बन्दीगृह र कारागारमा रहेका नेपालीलाई न्यायोचित व्यवहार गरिने आश्वासन पनि मलेसियाले दिएको उनले जानकारी दिए ।
मलेसिया–नेपाल व्यापार परिषद्मार्फत श्रमिकलाई तालिम दिइने र चाँडै नै तालिम केन्द्र स्थापना तथा सञ्चालन गर्न दुवै पक्ष सहमत भएको उनले बताए । सन् २०२० सम्ममा विकसित मुलुकको सूचीमा आफूलाई स्थापित गर्न मलेसियाले आफ्नो भौतिक एवं आथिर्क विकासका गतिविधि सहजरूपमा सञ्चालन गर्न ठूलो संख्यामा आप्रवासी कामदारलाई रोजगारीका अवसर प्रदान गर्दै आएको छ । हाल उक्त मुलुकमा ३० लाख आप्रवासी कामदार छन् । नेपाल र मलेसियाबीच सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
मलेसियाले विगत १३ वर्षदेखि नेपाली कामदारलाई रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ । हाल उक्त मुलुकमा झन्डै पाँच लाख नेपाली कार्यरत छन् । मलेसियाले बङगलादेशी कामदारमाथि प्रतिबन्ध लगाएपछि नेपाली श्रमिकको माग बढेको बताइन्छ ।

प्रतिक्रिया