काठमाडौं, १४ चैत । पहिलो बैठक बसेको दुई महिना ६ दिनपछि दोस्रो संविधानसभाले अघिल्लो संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गरेको छ । शुक्रबार संविधानसभा भवन नयाँ वानेश्वरमा बसेको संविधानसभा बैठकले पहिलो संविधानसभाले गरेका कामहरुको स्वामित्व ग्रहण गर्ने प्रस्ताव पारित गरेको हो । यससँगै नयाँ संविधान निर्माणका लागि आधारबिन्दु तयार भएको छ ।
अघिल्लो संविधानसभाका ११ विषयगत समितिमा भएका निर्णय र काम कारवाहीहरु संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले बैठकमा पेश गरेका थिए । भट्टराईले अभिलेखहरु सभामुख सुवासचन्द्र नेम्वाङलाई हस्तान्तरण गरेपछि नेम्वाङले निर्णायार्थ बैठकमा प्रस्ताव पेश गरेका थिए । स्वामित्व ग्रहणको प्रस्ताव ध्वनीमतले पारित भएपछि संविधानसभाले अभिलेखहरु अभिलेख अध्ययन तथा निक्र्यौल समितिमा पठाउने निर्णय गरेको छ ।
स्वामित्व ग्रहणको विरोध गर्दै आएको राप्रपा नेपालका सभासद्ले समेत शुक्रबारको बैठकमा कुनै विरोध गरेनन् । यद्यपि राप्रपा नेपालका अध्यक्ष कमल थापा भने बैठकमा उपस्थित थिएनन् ।
शुक्रबारै बसेको संविधानसभाको दोस्रो बैठकले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिसहित पाँच विषयगत समिति गठन गरेको छ । राजनीतिक सम्वाद समितिमा तीन दलका प्रमुखहरु प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी अध्यक्ष प्रचण्ड छन् । यसैगरी समितिमा पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल र शेरबहादुर देउवाका साथै एमाले संसदीय दलका नेता केपी शर्मा ओली, कांग्रेस उपसभापति रामचन्द्र पौडेलसहित संविधानसभामा रहेका सबै दलका शीर्ष नेताहरु रहेका छन् । विमति भएका विषयहरुमा सहमति खोज्नुका साथै संविधानसभाबाहिर रहेका शक्तिहरुसँग वार्ता र सम्वाद गरी सहमति गर्नेसम्मको अधिकार पाएको उक्त समिति ७१ सदस्यीय रहेको छ ।
त्यसैगरी संविधानसभाले संविधान अभिलेख अध्ययन तथा निक्र्यौल समिति पनि गठन गरेको छ । उक्त समिति पनि ७१ सदस्यीय नै रहेको छ । उक्त समितिले अघिल्लो संविधानसभाले गरेका कामको अध्ययन गरेर सहमति भएका विषयहरुलाई मस्यौदा लेखन समितिमा पठाउनेछ । संविधान मस्यौदा समिति भने ६८ सदस्यीय रहेको छ । १ सय ७८ सदस्यीय नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति र १ सय ७७ सदस्यीय क्षमता अभिवृद्धि तथा स्रोत व्यवस्थापन समिति पनि संविधानसभाले गठन गरेको छ ।
अभिलेख सर्वसम्मत स्वीकृत
संविधानसभाको शुक्रबार बसेको १३ बैठकले अघिल्लो संविधानसभा र त्यसका समितिको निर्णय तथा कारबाहीको सुरक्षित अभिलेखालय सर्वसम्मतिले स्वीकृत गरेको छ ।
संविधानसभा नियमावली २०७० को नियम १६२ बमोजिम संविधानसभाका महासचिव मनोहरप्रसाद भट्टराईले ती अभिलेख संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङसमक्ष पेस गरेका थिए ।
संसदीय दल समितिको निर्वाचन स्थगित
नेपाली काग्रेस संसदीय दल कार्यसमितिको (आज) शुक्रबार हुने भनिएको निर्वाचन पनि स्थगित भएको छ । सहमति जुटाउन केही समय लाग्ने भएपछि शुक्रबार पनि निर्वाचन नहुने भएको कांग्रेस प्रवक्ता एवं निर्वाचन समिति संयोजक दिलेन्द्रप्रसाद बडुले जानकारी दिए ।
सहमतिका आधारमा संसदीय दल कार्यसमिति गठन गर्न सहमहामन्त्री पूर्णबहादुर खडका, संगठन विभाग प्रमुख आनन्द प्रसाद ढुंगाना र प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेको समिति गठन गरिएको छ । कांग्रेसको संविधानसभा संसदीय दल कार्यसमितिको १७ सदस्यका लागि हुने निर्वाचनमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया