क्रिकेटले जगाएको एकता

काठमाडौं, ६ चैत । बंगलादेशको चिट्यागोङमा रहेको जहुर अहमद चौधरी क्रिकेट स्डेडियममा नेपाल र अफगानिस्तानबीच खेल भइरहँदा काठमाडौंको जमल चोकमा सयौँ क्रिकेट फ्यानहरू जम्मा भएर ‘नेपाल नेपाल’ भनेर चिच्याइरहेका थिए । उनीहरूले यसरी चिच्याउन थालेपछि बाटो हिँड्नेहरू पनि के रहेछ भनेर त्यहिँ रोकिए । रोकिएर हेर्दा जमलबाट दरबारमार्ग आउने सडकको एउटा कुनामा ठूलो स्क्रिनमा नेपाल र अफगानिस्तानबीचको खेलको प्रत्यक्ष प्रसारण सबैको सुविधाका लागि देखाइएको थियो ।
दुई–चार जना गर्दागर्दै सो क्षेत्रमा सयौँ समर्थक जम्मा भए, जसका कारण सो क्षेत्रमा सवारी आवागमन सहज बनाउन आधा दर्जनभन्दा बढी प्रहरी नै खटिनु परेको थियो । यो अवस्था सो क्षेत्रमा मात्र होइन काठमाडौंका धेरै स्थानमा यस्तो दृष्य बिहीबार देखियो । त्यतिबेला सबैको दिमाग र मुखमा केबल नेपाल र नेपाली खेलाडीको नाम थियो । त्यहाँ जम्मा भएका सबैले आ– आफ्ना तरिकाले प्रार्थना गर्दै नेपालको जितको कामना गरे । त्यतिबेला कुनै जाति, धर्म वा क्षेत्रको चर्चा त्यहाँ भएन । बंगलादेशको मैदानमा भिड्ने खेलाडी को थियो सँग कसैलाई सरोकार थिएन । उनीहरूलाई सरोकार थियो त केवल नेपाली जर्सी र नेपाली झन्डा ।
नेपालको जितको कामना गर्नेहरू स्वदेशमा मात्र थिएनन् विदेशमा बस्नेहरूले पनि आ–आफ्नै शैलीमा नेपालको जितको कामना गरे । फेसबुक र ट्विटरमा नेपालको जितको कामना गर्दै उनीहरूले अन्तरमनबाट गरेको प्रार्थना झल्किन्थ्यो । सबैको प्रार्थना काम लाग्यो र नेपालले अफगानिस्तानलाई इतिहास रच्दै विश्वकप क्रिकेटमा पहिलोपटक हराउन सफल भयो । तर, नेपालका लागि बिहीबार जित मात्रै पर्याप्त थिएन । भाग्यले पनि त्यत्तिकै साथ दिनु पर्ने अवस्था थियो । तर, राम्रो खेल्दाखेल्दै पनि नेपाल अघिल्लो चरणको यात्रा तय गर्न भने असफल भयो ।
पहिलो खेलमा हङकङलाई पराजित गरे पनि दोस्रो खेलमा बंलादेशसँग नमिठो हार खाएका कारण नेपाल अघिल्लो चरणको यात्रा तय गर्न असफल भयो । नेपालले अघिल्लो चरणमा स्थान बनाउन हङकङले पनि राम्रो खेल्नु पर्ने अवस्था थियो । हङकङले घरेलु टोली बंगलादेशलाई १३ दशमलव २ ओभरमा पराजित गर्न सकेको खण्डमा नेपालले अघिल्लो चरणमा स्थान सुरक्षित गर्न सक्ने अवस्था थियो । जुन हुन सकेन ।
नेपालले खेलेको तीन खेलमध्ये दुईमा जित दर्ता गराएर पनि अघिल्लो चरणको यात्रा तय गर्न सकेन । जसका कारण नेपालले भारत, अस्ट्रेलिया र इंग्ल्यान्डजस्ता देशसँग भिडेको हेर्न पाउने नेपाली दर्शकको चाहना अझै पनि अधुरो रह्यो । तर, पनि नेपाल क्रिकेट टिमले गरेको प्रर्दशनबाट आमनेपाली खेलप्रेमी खुशी भएका छन् ।
क्रिकेट खेलाडीले नेपालमा राष्ट्रिय एकतालाई फेरि एकपटक जगाएका छन् । नेपालको खेल क्षेत्रले सबैको महत्त्व र आकर्षण पाएको छ । यसलाई सदुपयोग गरेर अगाडि बढ्न सके खेलकै माध्यमबाट देशमा विभिन्न खालका परिवर्तन ल्याउन सकिन्छ भन्ने पनि प्रमाणित भएको छ ।
अफगानिस्तान निरीह
टि–ट्वान्टी विश्वकप क्रिकेटअन्तरगत बिहीबार भएको समूहगत चरणको तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको छ । टि–् ट्वान्टी क्रिकेटमा एक दिवसीय मान्यता पाइसकेको अफगानिस्तानलाई नेपालले हराएको यो पहिलोपटक हो । सन् २००७ यता नेपालले अफगानिस्तानलाई हराउन सकेको थिएन । तर, बिहीबार भएको खेलमा इतिहास रच्दै अफगानिस्तालाई रोमान्चक खेलमा पराजित गर्न नेपाल सफल भयो ।
बंगलादेशमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको थियो । खेलको सुरुवातदेखि नै अफगानिस्तानलाई दबावमा राख्न सफल नेपालका लागि ओपनर सुवास खकुरेलले ५६ रनको महत्त्वपूर्ण पारी खेलेका थिए । उनले ७६ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरेका थिए । अर्का ओपनर सागर पुन खेलमा त्यतिबेर टिक्न सकेनन् । उनले १८ बल खर्चेर जम्मा ८ रन मात्रै बनाउन सके । ज्ञानेन्द्र मल्लले १७ बलमा २२ रन बनाए । कप्तान पारस खड्का भने बिहीबारको खेलमा कमजोर सावित भए । उनी मिरवाइस असरफको बलमा मात्र १ रन बनाएर बोल्ड भए । शरद भेषवाकरले नेपाली टिमको पारी सम्हाले । उनले ३८ बलमा ३७ रनको महत्त्वपूर्ण पारी खेले । जसका कारण नेपालले १ सय ४१ रनको महत्त्वपूर्ण स्कोर खडा गर्न सफल भयो ।
नेपालले बलियो स्कोर बनाएपछि दबावमा आएको अफगानिस्तानको पारी सुरुवातदेखि नै लड्खडाएको थियो । अफगानिस्तानका दुवै ओपनरले दोहोरो अंक पनि बनाउन सकेनन् । ओपनर मोहम्मद सहजाद १९ बल खेलेर मात्र ६ रनमा जितेन्द्र मुखियाको बलमा आउट भए । अर्का ओपनर करिम सादिक मात्र ८ रनमा सोमपाल कामीको बलमा आउट भए । अफगानिस्तानका लागि पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका सफिकुल्लाहले ३६ रन जोडे । सातौँ नम्बरका ब्याट्म्यान असगर स्टानिकजाईले ४८ बलमा ४९ रन जोडेर टिमलाई बलियो बनाउने कोसिस गरे । तर, अन्य ब्याट्म्यानहरूले उनलाई राम्रो साथ दिन सकेनन् र अफगानिस्तान २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रनमा समेटियो । अफगानिस्तानलाई रोक्नका लागि जितेन्द्रको बलिङ थप महत्त्वपूर्ण बन्यो । उनले ४ ओभरमा मात्र १८ रन दिएर अफगानिस्तानको महत्त्वपूर्ण तीन विकेट लिएका थिए । नेपालसँग बिहीबार पराजित भएको अफगानिस्तानले पनि हङकङलाई हराएको थियो । तर, बंगलादेशसँग अफगानिस्तान पनि पराजित भएको थियो ।
टि–ट्वान्टी विश्व कप क्रिकेटको पहिलो खेलमा हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्न नेपाल सफल भएको थियो । तर, दोस्रो खेलमा भने नेपाल घरेलु टोली बंगलादेशसँग पराजित भएको थियो ।
नेपालको जितमा सबै गद्गद्
नेपालले टि–ट्वान्टी विश्वकप क्रिकेटको तेस्रो खेलमा अफगानिस्तानविरुद्ध जित दर्ता गराएलगत्तै सामाजिक संजाल फेस बुक र ट्विटरमार्फत स्वदेश र विदेशमा रहेका नेपालीहरूले आफ्नो खुसी विभिन्न शैलीमा व्यक्त गरे । काठमाडौंमा नेपाल र अफगानिस्तानबीचको खेल हेर्न विभिन्न चोक र गल्ली तथा सपिङ मलहरूमा समर्थकहरूको ठूलो भिड देख्न सकिन्थ्यो ।
जमलबाट दरबारमार्ग आउने क्षेत्रमा राखिएको ठूलो स्क्रिनमा क्रिकेट हेर्न सयौँ समर्थक जम्मा हुँदा सो क्षेत्र भएर चल्ने सवारी आवागमनमा समेत अवरोध पुगेको थियो । नेपालले अफगानिस्तानलाई हराउनेवित्तिकै विभिन्न चोक र गल्लीबाट नारा जुलुस गर्दै नेपाली समर्थक निस्केका थिए । नेपालमा भन्दा तुलनात्मक रूपमा विदेशमा रहेका नेपालीहरूले यो जितमा रमाइरहेको आभास फेसबुक र ट्विटरमार्फत देख्न सकिन्छ ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले खेल सकिएलगत्तै विज्ञप्ति नै जारी गरेर नेपाली खेलाडीलाई बधाई दिए । यसैबीच सामसुङले नेपाल र अफगानिस्तानबीचको खेलमा नेपाली खेलाडी म्यान अफ दी म्याच भए १ लाख रुपियाँ दिने घोषणा गरेको थियो । जसअनुसार बिहीबारको खेलका स्टार जितेन्द्र मुखियाले सामसुङले प्रदान गर्ने एक लाख रुपियाँ प्राप्त गरेका छन् । अन्य विभिन्न संस्थाहरूले पनि नेपालको जितमा खुसी व्यक्त गर्दै सम्मान र पुरस्कारको घोषणा गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव युवराज लामाले पनि नेपाली क्रिकेट टिमको उचित सम्मान र पुरस्कारका लागि बोर्ड बैठकमार्फत केही निर्णय गरिने बताए । उनले बिहीबारको जितले नेपालीलाई एकताको सुत्रमा बाँध्न थप बल मिलेको टिप्पणीसमेत गरे ।
टि–ट्वान्टी क्रिक्रेटमा पहिलोपटक अफगानिस्तानलाई हराएर इतिहास रचेपछि नेपाली टिमलाई बधाई र सम्मानको ओइरो लाग्न थालेको छ । राष्ट्रपति डा. रामवरण यादवले पनि नेपाल र अफगानिस्तानबीचको खेल अभिरुचीपूर्वक हेरे । नेपालको जितमा उनी पनि गद्गद भए । राष्ट्रपति कार्यालयका अनुसार नेपालले ठूलो उपलब्धि पाएको प्रतिक्रिया राष्ट्रपति यादवले दिएका थिए ।

प्रतिक्रिया