काठमाडौं चैत ५ । फलामे ढोकाको रुपमा चिनिएको यसबर्षको प्रवेशिका परीक्षा एसएलसी विहिबारबाट शुरु हुदैछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ । परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाकारी गराए ।
विहान ८ बजेबाट देशभर एकैसाथ संचालन हुने परीक्षामा एक हजार ८ सय ३६ वटा परीक्षा केन्द्रमा विद्यार्थीले परीक्षा दिने छन् । यो गतबर्ष भन्दा ५० बढी परीक्षा केन्द्र हो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पहिलो दिन अंग्रजी बिषयको परीक्षा संचालन हुदै छ । परीक्षालाई मर्यादित रुपमा संचालन गर्न यस वर्षदेखि देशभरबाट होम सेन्टर हटाइएको छ ।
परीक्षामा नियमित र एक्जाम्टेड गरी ५ लाखलाख ६६ हजार ८५ विद्यार्थीले परीक्षामा सहभागिता जनाउदै छन् । जसमा नियमित तर्फ ४लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जनाछन् । गतवर्ष भन्दा यस बर्ष करिव २० हजार बढी विद्यार्थी परीक्षामा सामेल हुदैछन् । गत बर्ष ५लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति र सुरक्षाकालागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको जनाए ।
परीक्षा नियन्त्रक द्वारेले परीक्षामा परीक्षार्थर्ीले चिट चोरेको वा कुनै पनि अनियमितता हुने कार्य गरेको पाइएमा तत्काल त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी कारबाही गर्न सबै जिल्लाका जिल्ला शिक्षा समितिलाई निर्देशन दिएको बताए । यस्ता परीक्षार्थीको तत्काल परीक्षा रद्द गरी आगामी वर्ष समेत परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था गरेको र यसका लागि समितिलाई अधिकार सहित निर्देशन दिइएको छ । उपनियन्त्रक अर्यालले परीक्षार्थीलाई अनिवार्य रुपमा आफ्नो विद्यालय पोसाक लगाएर मात्र परीक्षामा सहभागी हुन निर्देशन दिएको बताए ।
त्यसैगरी परीक्षा केन्द्रमा कुनै पनि कर्मचारीले अनियमितता गरेको पाइएमा र परीक्षा केन्द्रमा जबर्जस्ती प्रवेश गर्न खोज्ने र अशान्ति फैलाउने लाई तत्काल नियन्त्रणमा लिएर एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको उपनियन्त्रक प्रह्लाद अर्यालले जानकारी गराए ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका, परीक्षा सञ्चालन सम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशनपुस्तिका, अन्य सम्पूर्ण सामग्री र खर्चको अख्तियारीसमेत सबै जिल्लामा पुगिसकेको छ । परीक्षाकालागि तालिम प्राप्त कर्मचारी तैनाथ गरिएको छ ।
प्रतिक्रिया