रेकर्ड तोड्दै प्रधानसेनापती

gaurav_samser copyकाठमाडौं, २६ फागुन । प्रधानेनापति भएको झन्डै दुई वर्षको अवधिमा गौरवशमशेर राणाले औपचारिक र शिष्टाचार भेटका लागि मात्रै दर्जनौंपटक वैदेशिक भ्रमण गरिसकेका छन् । केही साता पहिले मात्रै पनि प्रधानसेनापति राणा माल्दिभ्स, श्रीलंकालगायत देशको औपचारिक भ्रमणमा गएका थिए । उच्च सैनिक स्रोतका अनुसार आगामी बैशाखमा प्रधानसेनापति राणाले अर्को वैदेशिक भ्रमण गर्ने भएका छन् । स्रोतका अनुसार राणा मलेसियन सेनाको निमन्त्रणामा १ वैशाखमा क्वलालम्पुर जाने तयारीमा छन् । सैनिक प्रवक्ता सहायकरथी जगदिश पोखरेलले भने मलेसिया भ्रमणबारे आफू अनभिज्ञ रहेको दाबी गरे ।
प्रधानसेनापति राणा गत महिना मात्रै माल्दिभ्स र श्रीलंकाको भ्रमणमा गएका थिए । प्रधासेनापतिका रूपमा ती दुई देशको औपचारिक भ्रमण गर्ने राणा पहिलो हुन् । यस अघिका प्रधानसेनापतिहरूले भारत र चिनको भ्रमण गर्ने गरेका थिए । सैन्य सम्बन्ध नभएका देशहरूमा औपचारिक भ्रमण गर्ने चलन यस अघि थिएन । तर राणाले भने सैन्य कुटनीति विस्तार गर्न भन्दै भ्रमण जारी राखेका छन् । सबैभन्दा बढी विदेश भ्रमण गर्ने प्रधानसेनापति बन्न सफल राणाले भने आफ्नो भ्रमणले सैनिक कुटनीति विस्तारमा सहयोग पुर्‍याउने दाबी गर्दै आएका छन् । तर, प्रधानसेनपतिले गरेको माल्दिभ्स र श्रीलंकाको भ्रमण सामान्य औपचारिकतामा मात्रै सीमित भएको सैनिक स्रोतको दाबी छ । सो भ्रमणमा राणासहित उपरथी राजेन्द्र क्षेत्री, राणा पत्नी डली राणा र एक जना स्टाफ सहभागी थिए ।
यसअघिका प्रधानसेनापतिहरूले औपचारिक निमन्त्रणाबाहेक सैन्य सम्बन्ध नभएका देशमा भ्रमण गर्ने परम्परा थिएन । तर, राणाले भने व्यक्तिगत रूपमा नै निमन्त्रणाको आग्रह गरेर भ्रमणमा जाने गरेको स्रोतको दाबी छ । प्रधानसेनापतिको भ्रमणको सम्पूर्ण खर्च राज्यले ब्यहोर्ने गर्छ ।
रक्षा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रधानसेनापतिको भ्रमणले आर्थिक व्ययभार बढाउनेबाहेक अरू उपलब्धी केही हुँदैन ।
रक्षामन्त्रालयका एक अधिकारीले कुनै विशेष कार्यक्रम नभई विदेश भ्रमण गर्नुको कुनै अर्थ नहुने बताए । ‘सेनापतीलाई निमन्त्रणा त जसले पनि गरिहाल्छ नि, निमन्त्रणा आयो भन्दैमा विदेश भ्रमणमा जानु त्यती राम्रो होइन ।’ ति अधिकारीले सौर्यसँग भने ।
प्रधानसेनापति विदेश भ्रमणमा जानुअघि रक्षामन्त्रालयमार्फत् अर्थको सहमति लिएर मन्त्रिपरिषद्ले भ्रमण स्वीकृति गर्ने परम्परा छ । अर्थ स्रोतकाअनुसार प्रधानसेनापति राणाको वैदेशिक भ्रमणका नाममा हालसम्म झन्डै दुई करोड खर्च भइसकेको छ ।
प्रधानसेनापतिले सैन्य कुटनीति विस्तारमा भ्रमण केन्द्रित भएको भनिए पनि सेनाले त्यस्तो गर्न नमिल्ने सुरक्षाविद्हरू बताउँछन् ।
सुरक्षाविद् डा.दिपकप्रकाश भट्टले सैन्य कुटनीति भनेको विदेश नीतिको एउटा कम्पोनेन्ट मात्र भएको बताए । ‘सुरक्षा डिप्लोमेसीजस्तो महत्त्वपूर्ण विषय व्यक्तिगत महत्वकांक्षाबाट निर्देशित हुने विषय राम्रो होइन,यो त मुलुकको परराष्ट्र नीतिको एउटा सानो इकाइ हो, यसलाई अघि बढाउन राज्यले नै बृहत्तर हिसाबले सोच्नुपर्छ,’ सुरक्षाविद् भट्टले सौर्यसँग भने ।
अर्का सुरक्षाविद् डा.इन्द्र अधिकारीले सेना पनि राज्यको एउटा अंग भएकाले सेनाले छुट्टै सैन्य कुटनीति विस्तार गर्छु भन्नु अनौठो विषय भएको बताइन् । ‘देशको सेना प्रमुखको भ्रमणलाई शंकाको दृष्टिले हेर्नु जरुरी छैन्, तर सेनापतिले सैन्य कुटनीति विस्तारका लागि भ्रमण केन्द्रित भएको भनेको भए त्यसको अर्थ छैन् ।’ अधिकारीले सौर्यसँग भनिन् ।
‘पंचशीलको सिद्धान्तमा आधारित परराष्ट्र निती भएको देशको सैन्य कुटनीति भन्ने नै हुँदैन, सैन्य कुटनीति विस्तारका नाममा हुने यसखालका भ्रमणले राज्यको ब्ययभार मात्र बढ्ने गर्छ ।’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।
सेक्टेम्बर २०१२ मा प्रधानसेनापती नियुक्त भएयता राणा आधादर्जनभन्दा बढी मुलुकको औपचारिक भ्रमणमा गइसकेका छन् । उनी यसअघि तीन पटक भारत, चिन, अष्ट्रेलिया र बेलायत भ्रमणमा गइसकेका छन् ।
बेलायत भ्रमणमा गएका राणालाई उनीसँगै तालिम गरेका सहपाटीले निमन्त्रणा गरेका थिए । हाल उनी बेलायतको सेनाअध्यक्ष हुन् ।

प्रतिक्रिया