काठमाडौं, २४ फागुन । मलेशियन एअरलाइन्सको २२७ यात्रु र चालक दलका १२ सदस्यसहित बेपत्ता बिमानको खोजी कार्य जारी छ । भियतनामका सञ्चारमाध्यमहरूले जनाएअनुसार उक्त बिमान दक्षिण चीनको एक समुद्रमा खसेको हुन सक्ने अनुमान गरिएको छ ।
मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको सो बिमान दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ । सो बिमान दुर्घटना भएको आशंका भएपछि चीन, मलेसिया र भियतनामको समुद्रमा तीनै देशका सुरक्षा फौज खोजीमा सक्रिय छन् ।
मलेसिया एयरलाइन्सका अनुसार बिमानमा कम्तिमा १४ देशका नागरिक थिए । बिमानमा एकसय ५२ जना चीनियाँ, ३८ मलेसियन, सात इन्डोनेसियन, ६ अष्ट्रेलियन, पाँच भारतीय, चार फ्रान्सेली र तीन अमेरिकी नागरिक थिए । यात्रुमध्ये दुई शिसुसमेत रहेको जनाइएको छ ।
मलेसिया एयरलाइन्सका अनुसार सो बोइङ ७७७–२०० ई आर क्वालालम्पुर छाडेको केही समयपछि स्थानीय समयअनुसार शनिबार २ बजेर ४ मिनेटपछि सम्पर्कविहीन भएको थियो । बिमान साढे ६ बजे बेइजिङ अवतरण गर्नुपर्ने थियो । सो विमान भियतनाम वा चीनको समुद्रमा खसेको हुन सक्ने आशंका गरिएको छ । रात परेकाले हवाई मार्गबाट विमान खोज्ने कार्य शनिबारका लागि स्थगित गरिएको अधिकारीहरूले जनाएका छन् ।
स्थल मार्ग र पानी जहाजबाट भने सो विमानको खोजी कार्य जारी रहेको बताइएको छ । सो विमानको खोजी गर्न सिंगापुरले पनि आफ्ना सुरक्षा संयन्त्रलाई सक्रिय बनाएको छ ।
इन्डिगो विमानमा आगलागी
त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा इन्डिगो एयरलाइन्सको विमानमा आगलागी भएको छ । भारतको दिल्लीबाट आएको एअर बस ए ३२० विमानमा अवतरण गर्ने क्रममा आगो लागेको हो । आगलागीपछि विमानमा सवार एक सय ७४ जना यात्रुलाई आकस्मिक कक्षबाट सकुशल बाहिर निकालिएको छ ।
शनिबार मध्यान्ह १२ बजेर ३५ मिनेटको समयमा जहाजको पछाडिको चक्कामा आगो लागेपछि बारुण यन्त्रले आगो तत्काल नियन्त्रणमा लिएको थियो । जसका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ । आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ ।
यसअघि शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाँ इन्जिनमा आगो लागेपछि तत्कालै आकस्मिक अवतरण गराउन सफल भएका कारण ठूलो क्षती भएन । इन्डिगो विमानमा आगो लाग्नुको कारण भने अझै खुलेको छैन ।
प्रतिक्रिया