काठमाडौं, २२ फागुन । व्यवस्थापिका संसदको बैठकमा सत्तारुढ दलका सभासद्हरू नै उपस्थित नहुँदा बैठक स्थगित भएको छ । बैठकमा सत्तारुढ दलका सभासद्हरू नै उपस्थित नहुँदा सरकारले प्रस्ताव गरेको सुपुर्दगी अध्यादेशसमेत पारित हुन सकेन । ४ मंसिरमा भएको संविधानसभाको निर्वाचनमा चुनिएर आएका सभासद्हरूको गणपूरक संख्या नपुगेर बैठक स्थगित भएको भने यो पहिलोपटक हो । यसअघिको संविधानसभामा भने व्यवस्थापिका संसद र समितिको बैठकमा गणपूरक संख्या नपुगेर धेरैपटक बैठक स्थगित भएको थियो ।
संसदको बिहीबार बसेको बैठकमा १ सय २७ जना मात्र सभासद्हरू उपस्थित रहेका थिए । सरकारको तर्फबाट स्वास्थ्यमन्त्री खगराज अधिकारीले पेस गरेको सुपुर्दगी अध्यादेश, ०६९ माथि छलफल भए पनि निर्णयार्थ पस्तुत हुन लाग्दा विपक्षी दलहरूले गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठाएका थिए ।
बैठकमा एमाओवादी सभासद् रामनारायण बिडारीले संसदमा सदस्यहरूको संख्या कम रहेको भन्दै सभामुखको ध्यानाकर्ष गराएपछि संसदमा कम उपस्थिति रहेको खुलेको थियो । बिडारीको ध्यानाकर्षणपछि सभामुख सुवासचन्द्र नेम्वाङसमेत अलमलमा परेका थिए । नेम्वाङले संविधानको पुस्तक पल्टाएर हेरेपछि भने व्यवस्थापिका संसद सचिवालयका कर्मचारीलाई गणपूरक संख्या भए–नभएको गन्ती गर्न निर्देशन दिएका थिए । सचिवालयका कर्मचारीले पनि गणपूरक संख्या नभएको बताएपछि नेम्वाङले केहीबेर घन्टी समेत बजाएका थिए । नेम्वाङले घन्टी बजाएपछि संविधानसभा परिसरमा रहेका केही सभासद्हरू बैठकमा प्रवेश गरे पनि गणपूरक संख्या पुगेन ।
विपक्षी दलले गणपूरक संख्या नपुगेको भने पनि बिहीबारको बैठक स्थगित भएको थियो । सभामुख सुवासचन्द्र नेम्वाङले बैठकमा गणपूरक संख्या नपुग्नु गम्भीर विषय भएको बताए । ‘व्यवस्थापिका संसदको बैठकमा सत्तारुढ दलका सभासद्हरूको अनुपस्थित हुनु राम्रो विषय होइन, यसका लागि म सरकारको गम्भीर ध्यानआकर्षण गर्न चाहन्छु ।’ सभामुखले भने ।
संसदमा अहिले ५ सय ७० जना सभासद् रहेका छन् । अध्यादेश पारित हुन १ सय ४३ जना सदस्यहरू उपस्थित हुनुपर्नेमा बिहीबारको व्यवस्थापिका संसदको बैठकमा १ सय २७ जना सदस्यहरू मात्र उपस्थित भएपछि सदन स्थगित भएको हो । अन्तरिम संविधानको धारा ५३ मा कुनै पनि प्रश्न वा प्रस्ताव पारित गर्दा संसदमा रहेका सबै सदस्यको कम्तिमा एक चौथाई उपस्थित हुनुपर्ने प्रावधान रहेको छ ।
बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका २८ जना सभासद् मात्र उपस्थित रहेका थिए । बिहीबारको संसद बैठकमा सरकारले पेस गरेको सुपुर्दगी सन्धीसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयकमाथि छलफल भइरहेको भए पनि गणपूरक संख्या नपुगपछि बैठक स्थगित भएको हो । सभामुख सुवासचन्द्र नेम्वाङले संसदको अर्को बैठक फागुन २७ सम्मका लागि स्थगित भएको घोषणा गरेका छन् ।
प्रतिक्रिया