कोइरालाको ‘छुट्टै पहिचान’

काठमाडौं, २१ फागुन । विमस्टेक सम्मेलनमा सहभागी हुन म्यानमार पुगेका प्रधानमन्त्री सुशील कोइराला आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । कोइराला सहभागी भएकै अवसरमा नेपालले विमस्टेकको अध्यक्ष बन्ने अवसर पनि पायो ।
दोस्रो संविधानसभाको पहिलो निर्वाचित प्रधानमन्त्री बनेर कोइराला म्यानमार पुगेका थिए । उनलाई भेट्न भारतलगायत अन्य देशका सरकार र राष्ट्र प्रमुख पनि आतुर थिए । सबैले उनको सफल कार्यकालको शुभकामना पनि दिए । उनको म्यानमार बसाई मात्र होइन, म्यानमारसम्मको यात्रा शैली पनि अन्तर्राष्ट्रिय जगतमा चर्चित बनेको छ ।
भारतीय हिन्दू दैनिक पत्रिकाले उनको यात्रालाई प्रशंसा गर्दै ‘उदाहरणीय काम’ भनेको छ । सात देश सहभागी विमस्टेक सम्मेलनमा सहभागी हुन अन्य देशका सरकार प्रमुखहरू विमान चार्टर गरेर जम्बो टोलीसहित म्यानमार पुगेका थिए । तर, नेपालका प्रधानमन्त्री कोइराला जम्मा सात जनाको सानो टोली लिएर विजनेश क्लासको टिकट लिएर म्यानमार पुगेका थिए । उनले नेपालबाट बैंकक हुँदै म्यानमारको राजधानी यांगुन र त्यसपछि विमस्टेक सम्मेलनस्थल ने पाई डाउ पुगेका थिए । तर, अन्य देशका सरकार प्रमुखहरू जम्बो टोली बोकेर चार्टर फ्लाइटबाट सोझै सम्मेलन स्थल पुगेका थिए ।
भारतीय पत्रिका हिन्दूले कोइरालाको सामान्य यात्रा शैलीको ब्यापक प्रसंसा गरेको छ । सो पत्रिकाका अनुसार भारतीय प्रधानमन्त्री मनमोहन सिंह १ सय जनाभन्दा बढीको टोली बोकेर एअर इन्डियाको बोइङ ७४७ को चार्टर फ्लाइटमार्फत् त्यहाँ पुगेका थिए । जसमा ३७ जना पत्रकार मात्रै थिए ।
सो पत्रिकामा ‘कोइराला जसले केही दशक अगाडि लोकतान्त्रिक आन्दोलनका क्रममा भारतीय जेलमा तीन बर्षसम्म बन्दी जिवन पनि विताएका थिए, उनी सामान्य जीवन शैलीका कारण पनि परिचित छन्’ लेखिएको छ । सोही पत्रिकामा श्रीलंकाली राष्ट्रपति माहिन्दा राजापाक्षे पनि चार्टर फ्लाइटमार्फत् ७१ जनाभन्दा बढीको टोली लिएर सो सम्मेलनमा सहभागी हुन म्यानमार पुगेको बताइएको छ । बङलादेशकी सेख हसिना पनि ३७ जनाभन्दा बढीको टोली सहित त्यहाँ पुगेकी थिइन् । उनको टोलीमा पाँच जना स्वतन्त्र पत्रकार पनि थिए ।
सो पत्रिकाका अनुसार विदेश भ्रमणका नाममा गरिने अनावश्यक खर्चले राजनीतिक रूपमा र आर्थिक रूपमा चर्को आलोचना खेप्नु परिरहेको छ । एक तथ्यांकअनुसार सन् २००४ यता मात्रै भारतीय प्रधानमन्त्री मनमोहन सिंहले वैदेशिक भ्रमणका नाममा ६ सय ४० करोड भारतीय रूपैया खर्च गरिसकेका छन् । जसका कारण भारतीय सञ्चार माध्यममा उनी आलोचित भइरहेका छन् । नेपालमा पनि बेला बेलामा हुने गरेका वैदेशिक भ्रमणमा जम्बो टोलीसहित जाने र अनावश्यक खर्चका विषयका कारण प्रधानमन्त्री तथा मन्त्रीहरू आलोचित हुने गरेका छन् । तर कोइरालाले म्यानमार भ्रमणका क्रममा देखाएको भूमिका अहिले दक्षिण एशियाको मात्र नभई विश्वजगतको पनि चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया