काठमाडौ २० फागुन । निजि तथा आवासीय विद्यालय संगठन प्याब्सन आगामी बिहीबारबाट शुरु हुने १२ औं राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्याव्सनका अध्यक्ष डा बाबुराम पोखरेलले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । प्याब्सनको महाधिवेशनमा अनुमानित ५५ लाख रूपैया खर्च हुने बताइएको छ । महाधिवेशनका सम्पूर्ण कार्यक्रम हात्तीवनस्थित लिटिल एन्लल्स स्कुलमा सञ्चालन हुनेछ । पत्रकार सम्मेलनमा प्याब्सनका सल्लाहकार उमेश श्रेष्ठले हलबाहेक करिब ५५ लाख खर्च हुने जानकारी दिए । महाधिवेशनमा देशभरका १ हजार ७ सय प्रतिनिधीहरू सहभागी हुने महासचिव डिके ढुंगानाले जानकारी दिए । प्याब्सनमा ७० जिल्लाका करिव ६ हजार विद्यालय आवद्ध छन् । महाधिवेशनमा ४ हजार ३ सय विद्यालयका प्रतिनिधि सहभागी हुने छन् । प्याब्सनले १५ विद्यालय बरावर १ जना महाधिवेशन प्रतिनिधीको व्यवस्था गरेको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने बरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसीले जानकारी दिए । उनका अनुसार बिहीबार उम्मेदवारको मनोनयन हुनेछ । निर्वाचनको कार्यक्रम शनिवार हुनेछ । तीन दिनसम्म चल्ने सो महाधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ । अध्यक्ष पदका लागि अहिले दुईजनाले प्रमुख रूपमा दावेदारी प्रस्तुत गरेका छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसी र महासचिव डिके ढुङगानाले यसपटक आफूलाई अध्यक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिसकेका छन् ।
स्वामित्वको माग
मंगलबारै आयोजित पत्रकार सम्मेलनमा प्याब्सनका अध्यक्ष डा पोखरेलले सरकारसँग नीतिगतसहित स्वामित्व व्यवस्थाको मागसमेत गरे । देशमा राजनीतिक स्थिरता नहुँदा निजि विद्यालयहरूमा त्रासदीको वातावरण देखिएकाले स्पष्ट नीतिसहित स्वामित्व हुनु पर्ने धारणा उनले राखे ।
अस्थिर राजनीतिले निजि क्षेत्र लगानी गर्न असर्मथ भएको पनि उनले बताए । ‘हामी लगानी गर्न चाहान्छौँ तर ग्यारेन्टी छैन,’ उनले भने, ‘ग्यारेन्टी भए सुविधानजक राम्रो शिक्षा नेपालमै दिन सक्छौँ ।’ पोखरेलले भने ‘शिक्षामा निजिको धेरै ठूलो योगदान छ । न सरकार न राजनीतिक दलले पहिचान दिन सके’ उनले भने, ‘यत्रो ठूलो संस्थालाई सरकारले पहिचान गरेको छैन ।’
यस्तै प्याब्सनले राष्ट्रिय परीक्षा बोर्डबाहेक सबैखाले परीक्षा सञ्चालन गर्न स्वायत्तताको पनि माग गरेको छ । महासचिव डिके ढुंगानाले ४५ प्रतिशत छात्रवृतिमा निजि विद्यालयबाट अध्ययन गरेका विद्यार्थीलाई स्थान दिनुपर्ने तर्क गरे । विद्यार्थीमाथि लगाइएको १ प्रतिशत शिक्षा सेवा शुल्कको वैकल्पिक व्यवस्था, संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाको त्रृटी सच्चाउन समेत सरकारसँग उनले आग्रह गरे ।
प्याब्सनले आफ्नो संस्थालाई थप सहयोग पुगोस भन्नका लागि प्रिसिडेन्टल काउन्सिलसमेत गठन गरेको छ । बर्तमान अध्यक्षसहित पूर्वअध्यक्ष भएको ४ सदस्यित काउन्सिल गठन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । काउन्सिलमा बर्तमान अध्यक्ष पोखरेल, पूर्वअध्यक्षहरू भोजबहादुर शाह, राजेश खड्का र उमेश श्रेष्ठ रहेका छन् ।
प्रतिक्रिया