म गायक नै हुँ

JBवाम आन्दोलनको इतिहासमा कसैले नभुल्ने चर्चित झापा आन्दोनलको प्रभाव जताततै थियो । कम्युनिस्ट पार्टीहरु खुला थिएनन् । झापा आन्दोलनको कारण एकातिर जनताका विचमा कम्युनिस्टहरु लोकप्रिय हुदै थिए । अर्को तर्फ पुलिस प्रशासनको दमन कडा बन्दै थियो । म टुटेफुटेका गित गाउथें । त्यति बेला मेरो स्वर जनताको पक्षमा लेखिएका गीत सुनाउने गतिलो माध्यम बनेको थियो । त्यति बेला जनातको बिचमा गीत गाउन झापाली नेताहरु मदन भण्डारी, जीवराज आश्रित, मोदनाथ प्रश्रित, लगायतले हौसाउनु हुन्थ्यो । पञ्चायती दमनको बेला जनताको पक्षमा बोल्नु वा गाउनु ठूलै कुरा हुन्थ्यो । म निर्भिकता पूर्वक गित गाउथें । मैले गाउँने गीतमा समाजमा महिलाले भोगेका भोगाई, पीडा, रोदन र जनतालले शासक वर्गवाट भोगेका दमनका कुरा समेटिएका हुन्थें । हाम्रो टेलिमा थुप्रै साथीहरु थिए जो अहिले पनि जनताको नजरमा सम्मानीत छन् ।
मुलुकमा रहेको पञ्चायती ब्यवस्था बिरुद्ध जनतालाई आन्दोलित गर्न गाउँ–गाउँमा हाम्रो टोली गीत गाएर हिडथ्यो । अहिले म मुलुकको कानुन बनाउने ठाउँमा पुगेको छु । आज पनि मेरो जिम्मेवारी सकिएको छैन । संविधानसभा सदस्यको नाताले म यति वेला संविधान बनाउने ठाउँमा छु । सबै जाति र वर्गको हितमा संविधान बनाउनु मेरो दायित्व हो । हिजो म जनताको गायकको रुपमा आम शोषित पीडित नेपाली विच चिनिएँ । अहिले त्यहि पेशाको संक्षण गर्नु पनि मेरो दायित्व हो भनेर बुझेको छु । जति बेला नेपालको पहाड र कुनाकन्दरामा जनतालाई ब्यूझाउने गीत गाउँदै हिड्थे, त्यति बेला सभासद वा अरु कुनै पद प्रतिष्ठा पाउँला भनेर सोचेको थिइन । त्यति बेलाको बुझाइ र सिकाइ पाउने होइन आफूसंग भएको सिप र क्षमता राष्ट्र र जनताका लागि दिने मात्र हो भन्ने थियो । अहिले जुन जिम्मेवारी पाएको छु त्यो मैले कहिल्यै कल्पना नगरेको जिम्मेवारी हो ।
एकदेव ज्ञवालीले लेख्नु भएको ‘आमा, दिदी–बहिनी हो, कति बस्छौ दासीभई सुखको सधै प्यासी बनेर’ बोलको गीतमा केहि पछि गायक रामेश र मैले केहि शब्द थपेर पूर्णता दिएका हौं । पहिलो पटक ०३४ सालमा गाएको उक्त गीत नेपालको सबै भागमा रहेका शोषित पीडित महिला लगायत सबैको प्रिय बन्यो । यो गीत अन्त्य गर्ने सवालमा कमरेड वमजनले सहयोग गर्नु भएको थियो । म उहाँलाई बिर्सन सक्दिन ‘सामन्तको कु चालले भ्रष्ट’्र जस्ता शब्द थपेर पूर्णता बनाए । यो गीतले मलाई सबै माझ पुर्‍याउने काम गर्‍यो । मैले गाएका गीत मध्ये सबै भन्दा यसैबाट सन्तुष्ट भएँ । जेवी टुहुरेलाई चिन्नेहरुले उक्त गीत भुल्न सक्दैनन । आमा दिदी बहिनी हो बोलको गीत मेरो पहिचान भन्दा हुन्छ ।
जीवनलाई हत्केलामा राखेर भोकभोकै जनताको गीत गाएँ । आफूले गरेको योगदानमा पछुतो कहिल्यै लागेन । उति बेला मात्र होइन अहिले पनि लाग्छ यो मुलुकको नागरिक भएको नाताले जे सके राम्रो गरे भन्ने । उति वेला अहिले जस्तो आधुनिक वाद्यवाधनको साधन थिएन । मादल बोकेर गाउँ गाउँ जान्थ्यौं र आफ्ना गित जनतालाई सुनाउथ्यौं । जनता हाम्रो गीतमा आनन्द मान्थे । कयौं ठाउँमा हामीले गीत गाउँदै गर्दा दर्शक महिलाहरु रोएको देखेको छु । कति पटक कलाकारहरु आफै रुन्थें । त्यति बेला लाग्थ्यो –साच्चै जनताको भावना अभिब्यक्त गर्न सकेछौ भन्ने । यसले आत्म सन्तुष्टी मिल्थ्यो । हामी जनताले दैनिक भोगेका पीडा र उत्पीडनलाई शब्दमा मिलाएर गाउथ्यौं । हाम्रा शब्दले गरीव र निमुखालाई केहि क्षण भए पनि अपनत्व प्रदान गथ्र्याे आफूलाई पनि उनीहरुको भावना अभिब्यक्त गर्न पाउँदा खुसी लाग्थ्यो ।
देशमा पञ्चायतको आतंक थियो । पार्टीहरुलाई राजनीति गर्ने अनुमति थिएन, अझ कम्युनिस्ट पार्टी माथि कडा प्रतिवन्ध थियो । कम्युनिस्ट पार्टीहरु माथि राज्यको निगरानी अरु पार्टीलाई भन्दा कडा हुन्थ्यो । जनतामा जाने र आफना विचार राख्ने माध्यम बनेको थियो सांस्कृतिक अभियान । त्यति बेला एक प्रकारले पार्टी जस्तै हामी पनि प्रतिवन्धित थियौ । जनताका गीत गाएको आरोपमा प्रशासनको आँखाको तारो बनिन्थ्यो । कयौ पटक गीत गाउँदा गाउँदै प्रहरीको घेरामा परेका छौं । धेरै ठाउँमा स्थानीय महिलाहरुले बचाएका छन् प्रहरीबाट । झपाको सुरुङ्गा, धरान जस्ता कयौ ठाउँको कार्यक्रमा महिला दर्शकले हातमा समातेर प्रहरीबाट बचाउनु भयो र सेल्टरमा पुर्‍यााउनु भयो । झापाको सुरुङ्गको कार्यक्रम सुरु हुनु पहिला नै प्रहरीले घेरा हालेकोले कार्यक्रम गर्न पाएनौ । अर्को ठाउँमा गया,ै त्यहाँ पनि सफल भएनौ । प्रहरी, प्रशासन, गाउँका जालिफटाह र सामन्तको आखाँ छलेर कार्यक्रम गर्नु पर्ने अवस्था थियो । तर, पनि हामी हार मान्दैन थियौं कहिं न कहिं गएर कार्यक्रम गथ्र्याै ।
म गीत गाउँदा वा लेख्दा आफ्नो वर्गलाई सम्झने गर्थे । आफू तल्लो वर्गवाट आएकोले आफ्ना गीतका शब्द त्यहि वर्गका जनतालाई छुनेहोस भनेर सचेत हुने गर्थे । हामी त्यति बेला तत्कालिन माले पार्टीको योजना र उनीहरुको सहयोगमा गाउँ गाउँ जान्थ्यौ । चोक चौतारीमा भेला भएका जनतालाई गीतले जगाउने काम गथ्यौं । बिचार र सिद्धान्तमा पनि म तत्कालिन मालेको नजिक थिएँ । त्यति बेला पार्टीको बिचारले प्रभावित भएको थिएँ । साचै गरीव निमुखा जनताका लागि यी नै पार्टीहरु सहि छन् भनेर मालेमा लागियो । त्यति बेला चाहेको भए माया प्रेमको गीत गाएर धेरै धन आर्जन गर्न सकिन्थ्यो । तर, त्यता तिर मनै गएन । आमा दिदी बहिनी हो कति बस्छौं दासी भइ भन्ने गीतले मलाई सबै नेपाली सामु चिनायो । आफूलाई पनि त्यहि गीतले बढी सन्तुष्टी दियो । माया र प्रितीका गित गाउन तिर मन गएन । त्यति बेला पार्टीको सिद्धान्त अनुसार माया प्रितीका गितलाई हामी वुर्जुवा भन्थ्यौं । तर, अहिले आएर लाग्न थालेको छ –सिष्ट भाषामा समाजलाई हानी नपुग्ने शब्द भएका गीत पनि गाउनु पर्ने रहेछ भन्ने । त्यसैले अहिले मैले माया प्रितीका गीतलाई वुजु्रवा भन्न्न छाडे । ती गीतहरु पनि स्वभाविकै हुन भन्ने लाग्छ । त्यति वेला हामीले जनवादी संस्कृतिको नाममा दु:ख पीडाका गितमात्र गायौं । हामीले ब्यवस्था फेर्ने गीत गायौ । तर, समाजलाई चेतना र सन्देश दिने पनि धेरै गीतहरु छन् तिनलाई पनि सम्मान गर्नु पर्छ । अहिले मैले महसुस गर्न थालेको छु –हामी हिजो कला र संस्कृतिको सवालमा केहि अस्पष्ट र संकुचित थियौं भन्ने । त्यति बेलाको अध्ययन र प्रशिक्षणले हामीलाई साँघुरो बनाएको थियो भन्ने अहिले बुझे ।
मैले द:ुख पीडामा रहेका महिलाको गीतमात्र गाएको छैन । समाजलाई चेतना र शन्देश दिने गीत पनि गाएँ । कयौ गितले मान्छेको मनलाई उत्तेजित र आन्दोलीन बनाउथ्यो । गीतकै कारणले पनि कति पय समूह र ब्यक्ति परिवर्तनको आन्दोलमा सहभागी हुन्थें । भावनात्मक रुपमा म आम महिलाहरु प्रति श्रद्धा र सम्मान गर्छु यो मेरो स्वभाव हो । त्यसैले मेरा गीतहरु धेरै जसो महिलाको रोदन र पिडा मिश्रीत हुन्छन् । यसले आफूलाई आनन्द बनाउछ ।
हिजो जनतालाई चेतनशिल वनाउन लागि परे । गलत सस्कार र संस्कृतिको बिरुद्ध गाए, लेखे । त्यति बेला समाज र व्यवस्था फेर्ने आन्दोलनमा लागेको थिए । अहिले आन्दोलनको स्वरुप फोरिएको छ, जिम्मेवारी फेरीएको छैन । हिजो गाएर उठ जाग भन्थें । आज कानुन बनाउने ठाउँमा पुगेको छु । हिजो मसंगै महिलाको आसु र रोदन पुच्छन एउटै यात्रामा हिडेका मित्र आज पनि मसंगै संविधानसभामा हुनु हुन्छ । यति बेला मेरो सामु अर्को चुनौति छ –राज्यले तीनवटा अंग मान्दछ । न्यापालिका, कार्यपालिका र व्यवस्थापिका, त्यसै गरी चौथो अंग आमा संञ्चारलाई मान्छ । तर, चौथो अंग तीन अंग जस्तो वैधानिक छैन । भन्नलाई मात्र अंग भएको छ । अब म सांस्कृतिकलाई राज्यले पाँचौ अंग मान्नु पर्छ भनेर आन्दोलन गर्न चाहन्छु । आफू कानुन वनाउने ठाउँमा भएकोले यो मेरो दायित्व हो । यति बेला मैले आवाज नउठाए कहिले उठाउने ? यस्लाई कानुनमा संस्थागत वनाउनु पर्छ भन्नेमा म लागी पर्ने छु । राज्यले मान्यता दिनु पर्ने कारण के हो भने कसैको गीत राष्ट्रिय गीत बन्ने हाम्रो चेतना मूलक गीतलाई किन राज्यले मान्यता नदिने ? कसैले सम्वोधन गर्नु पर्दा कलाकार, गायक, देशका कर्णधार र गहना भन्ने तर सम्मान भने नगर्ने ? हामीलाई राष्ट्रको गहना भनिन्छ । तर, म गहना मान्दिन । गहना श्रृंगारको वस्तु हो । हामी श्रृगारको वस्तु होइनं राष्ट्रको अंग हुन चाहन्छौं ।
नेपालमा रहेका कम्युनिस्ट पार्टीहरु फुट, विभाजन र टुक्रामा परिणत भएका छन् । त्यहि आधारमा पार्टी फेर्ने काम मैले पनि गरें । लामो समय तत्कालिन मालेमा रहेको म एमाले हुदै यति बेला एमाओवादी भएको छु । हिजो मलाई माया गर्नेहरुले आरोप लगाए । आफ्नो स्वार्थमा पार्टी छोडेर हिड्यो भनेर । तर, एमालेमा रहेका कयौले अहिले पनि माया गर्छन । जति बेला कम्युनिस्ट भएँ त्यति बेला देखि अहिलेसम्म गरेको अध्ययन र बुझाइको आधारमा सबैले माक्र्सवाद लेलिनवाद र माओत्सेतुङको बिचारलाई मान्दछन् । तर, यिनका बिचारलाई सबैले आ–आफ्नै ढंगले ब्याख्या गर्दै आएका छन् । तर, पछिल्लो समयमा नेपालका कम्युनिस्टहरु सिद्धान्त भन्दा शक्तिको पछि लागे । कसरी अरुलाई पछार्न सकिन्छ र आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भन्ने होडमा छन् नेपालका कम्युनिस्टहरु । यस्तो अवस्थामा म एमाले छाडेर एमाओवादी भएँ । म जहाँ छु त्यसमा कुनै पछुतो छैन । मैले नेपालमा रहेका कम्युनिस्ट पार्टीहरु मध्ये एमाओवादी क्रान्तिकारी पार्टी देखेर यसमा लागेको हुँ । यहि पार्टीले नेपाली जनतालाई मुक्ति दिलाउने छ भन्ने सोचको आधारमा एमाओवादी को हुँ ।
जीवनको लामो समय विताएको पार्टी बुढेसकालमा छोडे । कयौं अवस्थामा मेरो कारणले पार्टी स्थापित भयो, कयौ अवस्थामा पार्टीको कारण म जनताको विचमा चर्चित भएँ । तर, पार्टी हिजोको सिद्धान्त र व्यवहारबाट पछि हट्दै गए पछि ममा असन्तुष्टिहरु बढदै गए । नेताहरु पार्टी, जनता, कार्यक्रता र राष्ट्रका लागि भन्दा आफ्ना स्वार्थमा लाग्न थाले । यस्ता गतिबिधिले म दु:खी थिएँ । आफूले बुझेको र पढेको आधारमा नेताहरुलाई सुझाव दिने काम धेरै गरे । तर, हिजो जेवी टुहुरेको आवस्यकता र महत्व देख्ने नेताहरुको नजरमा म फिक्का हुन थालेको थिए । एउटै पार्टीमा कसैले पद र अवसर पाउने संगैको अर्कोले त्यागमात्र गर्नु पर्ने भयो एमालेमा । संगै राजनीतिमा लागेका साथीहरुले अवसर पाएको देख्दा ममा पनि आकंक्षा बढनु स्वभाविकै हो । नेताहरुलाई आफ्नो कुरा गर्दा उनीहरुको जवाफ आउथ्यो –तपाँइ गायक हो, अव पनि गायक नै भएर बस्नु राम्रो होला भन्ने । के पार्टीले प्राप्त गर्ने पद र अवसर मैले लिन हुदैन ? कि त पार्टीमा कसैले केहि पाउनु भएन, एउटै पार्टीमा कसैले भए जति अवसर पाउने कोहि हिजो जहाँ थियो त्यहि बस्नु पर्ने ? यस्ता कुराले मलाई पीडाबोध बनायो । तर, म जहाँ भए पनि अहिले पनि मलाई माया गर्नेहरु एमालेमा धेरै छन् ।
अहिले पनि नेपालका कम्युनिस्ट पार्टीहरु सबैले वास्तविक माक्र्सवाद, लेलिनवाद र माओको विचारलाई व्यवाहारिक रुपमा मानेका छैनन् । कम्युनिस्टहरुमा विचार भन्दा व्यक्तिवाद हावी भएको छ । अहिले हामीसंग विचार, सिद्धान्त, संस्कृति लगायत सबैमा ह्रास आएको छ । यो नैतिकतामा आएको ह्रास हो । हिजो हामीले सिकेको र सिकाएको कुरा भन्दा धेरै अगाडि बढेका छौं हामी । कहिले कांिह यी सबै कुराले कतै हामी अराजकता तिर जादै त छैनौं भन्ने लाग्छ । नेपाली जनताले मलाई सभासद वा नेता भन्दा जनताको गायक भनेर माया गरे वा चिने पुग्छ । हिजो मलाई माया गर्नेहरु यति बेला मैले पाएको जिम्मेवारीले म भन्दा धेरै खुसि छन् । यति बेला लागेको छ –मैले नेपालका पहाड, डाडाकाँडा र पाखा पखेरामा गएर जनतालाई आन्दोलित बनाउन गरेको मिहिनेतको सहि मुल्याकङन भयो भन्ने । सत्तरी वर्षको उमेरमा मैले गरेको दुख र संघर्षको मुल्याङ्कन भएको महसुस भएको छ । तर, अहिले पनि मेरो लडाई सकिएको छैन । कला र संस्कृतिलाई राज्यको पाँचौ अंगको रुपमा स्थापित गर्न लडनु छ । अहिले म जाहाँ भए पनि गाउने क्रम जारी छ । जहाँ गए पनि एउटा गीत गाउनै पर्छ, गाउछु पनि । मेरो परिचय नेता वा सभासद होइन गायक नै हो ।
चमिना भट्टराई

प्रतिक्रिया