सिंह–कोइराला भेट

koirala-singकाठमाडौं १९ फागुन । प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीच म्यानमारमा भेटवार्ता भएको छ । विमस्टेक सम्मेलनमा सहभागी हुन दुवै नेता त्यहाँ पुगेका हुन् । भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई भेटेर बधाईसमेत दिए ।
सिंहले भेटका अवसरमा प्रधानमन्त्री कोइरालालाई भने, ‘तपाईंलाई प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछु । तपाईंको सफलताको कामनासमेत गर्दछु ।’
विमेस्टेकको तेस्रो सम्मेलनमा भाग लिन म्यानमार पुगेका कोइराला र सिंहबीच सोमबार साँझ भेटवार्ता भएको हो । भेटमा भारतीय प्रधानमन्त्रीले नेपालमा समयमै संविधान जारी भएको हेर्न चाहेको बताएका थिए । भारतीय प्रधानमन्त्रीले कोइरालालाई चुनावमा विजयी भएकोमा बधाईसमेत दिएका थिए । भेटमा द्विपक्षीय हित र आपसी सम्बन्धका विषयमा कुराकानी भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्री सिंहले कोइरालालाई एक वर्षभित्रै संविधान जारी गरेर विकासमा अघि बढ्न आग्रह गरेका थिए । उनले नेपालमा शान्ति, स्थायित्व र विकास भएको आफूले हेर्न चाहेकोसमेत बताएका थिए ।
प्रधानमन्त्री भएपछि पहिलोपटक विदेश भ्रमणमा म्यानमार पुगेका कोइरालाले एक वर्षभित्र संविधान जारी गर्ने आफ्नो प्रयास रहेको बताएका थिए । प्रधानमन्त्री कोइरालाले समकक्षी सिंहलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको बुझिएको छ । तीन साताअघि प्रधानमन्त्री भएपछि कोइराला पहिलोपटक विदेश भ्रमणका क्रममा शनिबार म्यानमार गएका हुन् । सार्क राष्ट्रका साथै बर्मालगायत देशहरूको आर्थिक समन्वय र सहयोगका लागि बिमस्टेकले काम गर्छ । बिम्स्टेकमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का नेपाल, भारत, भुटान, बंगलादेश र श्रीलंका तथा दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) मा आवद्ध देश थाइल्यान्ड र म्यान्मार सदस्य छन् ।

प्रतिक्रिया