काठमाडौं १७ फागुन । एमालेका नेताहरूबीच मतभेद देखिएपछि महाधिवेशनको विषयमा अन्यौलता बढेको छ । एमालेको जारी केन्द्रीय कमिटि बैठकमा शनिबार बोल्ने सदस्यहरूबीच महाधिवेशनको स्थान र मितिलाई लिएर विवाद देखिएको हो । उनीहरूबीच नवौं महाधिवशेन कहिले र कहाँ गर्ने भन्ने विषयमा तिब्र विवाद देखिएको छ । शनिबार बोल्ने ६ जना पोलिटव्युरो र केन्द्रीय सदस्यले ३ जेठमा महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा फरक–फरक धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश सदस्यले महाधिवेशनका लागि समय अपुग हुने भन्दै सार्न मागसमेत गरेका छन् ।
संगठन विभाग प्रमुख युवराज ज्ञवालीले पनि महाधिवेशन जेठमा गर्न समय अपुग हुने संकेत गरे । ज्ञवालीले पार्टीका करिब साढे दुई लाखको सदस्यता हालसम्म पनि नवीकरण हुन नसकेको भन्दै ३ जेठमा महाधिवेशन गर्न नसकिने बताएको एक केन्द्रीय सदस्यले जानकारी दिए । उनले बैठकमा पार्टीका सबै कार्यकर्ताहरूको सदस्यता नवीकरण गर्दा कम्तिमा २ महिना र नविकरण गरिएको सदस्यताको रुजु गरेर गाउँ कमिटीसम्म पुर्याउँदा ४५ दिन लाग्ने भन्दै दू्रत गतिमा सदस्यता नवीकरण थाल्दा पनि ३ जेठसम्ममा नसकिने दाबी गरे ।
०६४ सालबाट नवीकरण नगरिएका जिल्लाको समेत नवीकरण गरेर केन्द्रमा ल्याई रुजु गर्दा थप डेढ महिना लाग्ने जानकारी ज्ञवालीले गराएपछि नेताहरूबीच थप मतभेद देखिएको एक सदस्यले जानकारी दिए ।
बैठकमा बोल्दै पोलिटव्युरो सदस्य प्रदीप ज्ञवाली, केशव वडाल र केन्द्रीय सदस्य अग्नी खरेलले भने कुनै पनि हालतमा जेठमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।
पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय सदस्य विजय पौडेलले भने महाधिवेशन पछि सार्नुपर्ने तर्क गरेका थिए । पाण्डेले केन्द्रीय कमिटी बैठकबाटै पदाधिकारीको संरचना, केन्द्रीय कमिटीको संख्यालगायत छिनोफानो गरेर अघि बढ्नु पर्ने सुझाव दिएका थिए ।
उनले एमालेले बैचारिक बहसको पनि निक्र्यौल गर्नुपर्ने सुझाव दिएका थिए । एमालेले सामन्तवादलाई प्रमुख शत्रु ठाने पनि व्यवहारमा नदेखाएको भन्दै केही नेताले पार्टी नीतिको आलोचनासमेत गरेका थिए । उनले पार्टी संगठनमा महाधिवेशन अघि हुनुपर्ने कुनै पनि वैचारिक बहस हुन नसकेको भन्दै महाधिवेशनलाई कम्तिमा दुई महिना पर सार्नुपर्ने सुझाव पनि दिएका थिए । शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा पहिलो दिन बोल्ने केन्द्रीय सदस्यहरूबीच पनि महाधिवेशनको विषयलाई लिएर मतभेद देखिएको थियो ।
प्रतिक्रिया