विशेष सुरक्षा समिति गठन

काठमाडौं, १२ फागुन । व्यवस्थापिका संसदको सोमबारको बैठकले सुरक्षा विशेष समिति गठन गरेको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा बसेको बैठकले शीर्ष नेताहरू सम्मिलित ८१ सदस्यीय सुरक्षा समिति गठन गरेको हो । समितिमा एमाले अध्यक्ष झलनाथ खनालदेखि माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसमेत छन् ।
समितिमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष चित्रलेखा यादव, नेता कुलवहादुर गुरुङ, विमलेन्द्र निधी, गोपालमान श्रेष्ठ, कमला पन्तलगायत छन् ।
एमालेबाट अध्यक्ष खनाल, संसदीय दलका नेता केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, नेता भरतमोहन अधिकारीलगायत छन् ।
यसैगरी एमाओवादीका नेता डा. भट्टराई, नेता कृष्णबहादुर महरा, ओनसरी घर्ती, गणेशमान पुन, जनार्दन शर्मा, रामनारायण विडारी, रेखा शर्मालगायत छन्  ।
त्यसैगरी साना दलका तर्फबाट सभासद् एकनाथ ढकाल, कुमार खड्का, डिम्पलकुमारी झा, परशुराम तामाङ, प्रेमबहादुर सिंह, विसेन्द्र पासवान, हरिचरण शाह, सरिताकुमारी यादवलगायत रहेका छन् ।
संसदको कार्यसंचालन नियमावली, ०५६ को नियम ११७ अनुसार सो समिति गठन गरिएको हो । सुरक्षा समितिमा सभामुख पदेन सभापति र उपसभामुख उपसभापति रहने कानुनी व्यवस्था छ ।
सो समितिमा राष्ट्रिय सुरक्षा परिषद्को समेत अध्यक्ष रहेका प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्रीका साथै प्रधानमन्त्रीले तोकेका तीन जना मन्त्री र  संसदको राज्य व्यवस्था समितिको सभापति पदेन सदस्य रहने प्रावधान छ ।
नेपाली सेना परिचालन गर्ने विषयमा पनि सो समितिले निर्णय लिन सक्नेछ । त्यसै कारण पनि सो समितिलाई शक्तिशाली मानिन्छ । प्राकृतिक विपतबाहेकको अवस्थामा सेना परिचालन भए त्यसलाई अनुमोदन गर्ने निर्णय गर्न सक्ने कानुनी प्रावधान छ ।

प्रतिक्रिया