उपत्यकाका ‘डन’हरूको भागाभाग

काठमाडौं, ११ फागुन । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले गुन्डागर्दीमा संलग्नहरूलाई कारवाही गर्ने भन्दै अभियान सुरु गरेलगत्तै उपत्यकामा विभिन्न नामले परिचित ‘डन’हरू भूमिगत हुन थालेका छन् । खरेलले काठमाडौंमा सुरु गरेको गुन्डागर्दी नियन्त्रण अभियानपछि संगठित गुन्डागर्दी गर्दै आएका डनहरू धमाधम राजधानी छाडेर भागेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार काठमाडौंमा गुन्डागर्दी गर्दै आएका एमालेनिकट चरी भनिने दिनेश अधिकारी भारतको पर्यटक नगरी गोवा र रमेश बाहुन भनिने सुजन पौडेल भारतको राजधानी दिल्ली पुगेका छन् । प्रहरीले खोजी तीव्र बनाएपछि उनीहरू भारततर्फ लागेको बताइएको छ । उनीहरूले अझै केही साता भारतमा बिताउने उनीहरू निकट स्रोतको दाबी छ । केही साता पहिले रमेश बाहुन र चरीको संलग्नतामा ललितपुरका ‘डन’ तथा कांग्रेस नेता मिनकृष्ण महर्जनलाई गोली हानिएको आरोप प्रहरीको छ । सोही आरोपमा प्रहरीले उनीहरूको खोजी तीव्र बनाएको बुझिएको छ । दुई समूहबीच ठेक्कापट्टाको कमिसनमा विवाद भएपछि गोलीकाण्ड भएको स्रोतको दाबी छ ।
सो गोलीकाण्डमा संलग्न भएको अभियोगमा बाहुनको समूहमा आवद्ध मधुसुदन डोटेल पक्राउ परेपछि ती दुईको संलग्नता पुष्टि भएको थियो । काठमाडौंमा संगठित गुन्डागर्दीको आडमा अपराध बढ्न थालेपछि प्रहरीले विशेष कार्ययोजना सुरु गरेको हो । त्यस्ता गुन्डालाई नेता र पहुँचवालाले संरक्षण दिने आरोप पनि लाग्दै आएको छ ।
काठमाडौं परिसर प्रमुख भएलगत्तै खरेलले चरी र बाहुनलाई पक्राउ गरी कानुनी कारवाही गर्ने बताएका थिए । नेपाली सेनाको रेन्जर बटालियन गणका भगौडा सिपाही रमेश बाहुन एमालेको रामेछाप जिल्ला कमिटी सदस्य हुन् । चरी नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय उपाध्यक्ष हुन् । काठमाडौं प्रहरी परिसर प्रमुख खरेलले दुई साता पनि नबित्दै ५० भन्दा बढी गुन्डालाई पक्राउ गरिसकेका छन् ।
उनीहरूलाई ट्रयाक रेकर्ड र उद्योगी व्यापारीहरूलाई धम्काएर रकम असुली गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको दाबी छ । त्यस्तै, प्रहरीले चक्रे मिलनका भाइ तेजेन्द्र गुरुङ, शुक्रबहादुर लामा बाघे, पञ्चे लामालगायतलाई पनि पक्राउ गरको छ ।

प्रतिक्रिया