काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशील कोइरालालाई पार्टीभित्र र बाहिरबाट कमजोर बनाउन खोजिएको आरोप लगाएका छन् ।
उनले प्रधानमन्त्रीलाई पार्टीभित्रबाट पनि काम गर्न कठिनाइ उत्पन्न भइरहेको जीकिर गरे । नेता पौडेलले प्रधानमन्त्रीलाई संसदीय पद्धतिभन्दा बाहिर गएर पार्टीभित्रका वा बाहिरका कुनै पनि शक्तिले हातखुट्टा बाँध्ने काम गर्न नहुने धारणा राखे । उनले अगाडि भने, ‘संसदीय व्यवस्थाविपरीत प्रधानमन्त्रीलाई पार्टीभित्र, बाहिर र चारैतिरबाट हातखुट्टा बाँध्ने काम गर्नुहुन्न, प्रधानमन्त्रीलाई स्वविवेकले काम गर्न दिनुपर्छ ।’
आफ्ना पार्टीका सदस्यहरू कहाँ, को सित, के वार्ता गरी सहमति गर्दछन् त्यसको जानकारी पार्टीका माथिल्ला निकायले पाउनुपर्छ कि पर्दैन भन्ने प्रश्न गर्दै उनले भने, ‘त्यही जानकारीको अभावमा अहिलेको अवस्था आएको हो ।’
तर, उनले प्रत्यक्ष रूपमा भने क– कसले असहयोग गरे त्यो भने बताएनन् । कांग्रेस महोत्तरी–काठमाडौं सम्पर्क समितिद्वारा महोत्तरी जिल्लाबाट संविधानसभामा कांग्रेसका तर्फबाट प्रतिनिधित्त्व गरेका सभासद्हरूलाई सम्मान गर्न शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति पौडेलले एमालेलाई सरकारमा सहभागी हुन आह्वानसमेत गरे ।
कार्यक्रममा नेता पौडेलले नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनुपर्छ भनेर निहुँ खोज्नु सुहाउँदो कुरा नभएको जीकिर गरे । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका विषयमा संविधानमै स्पष्ट व्यवस्था छ, किन एमालेले त्यो व्यवस्थालाई थाहा नपाएजस्तो गरिरहेको छ । अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आवश्यक छैन ।’
प्रतिक्रिया