शिवरात्रिमा स:शुल्क दर्शन

Pashupatinathtemple
काठमाडौं, ९ फागुन । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिमा लाइनमा नबसी छिटो छरितो दर्शन गर्न चाहनेहरूका लागि यसवर्ष पनि स:शुल्क दर्शनको व्यवस्था गरेको छ ।
छिटो दर्शन गर्न चाहनेहरूले नेपाल एसबिआई बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र एभरेस्ट बैंकबाट एक हजार रुपियाँको टिकट लिन सकिने व्यवस्था कोषले मिलाएको छ । कोषले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले सो पर्वलाई भव्यरूपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको जानकारी दिए । १५ फागुनमा परेको महाशिवरात्रि पर्वमा सुरक्षालाई ध्यान दिँदै पशुपति क्षेत्रमा पाँच दिन अगाडिदेखि नै सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
पशुपतिमा लाग्ने मेलामा पाकेटमारीलगायत अनियमित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि सादा पोसाकमा पनि प्रहरी परिचालन गर्ने व्यवस्था मिलाएको कोषले जनाएको छ । शिवरात्रिको दिन पशुपतिमा लाग्ने मेलाको सुरक्षा प्रबन्धको लागि ५ हजार सुरक्षाकर्मी परिचालन गर्ने क्षेत्र विकास कोषको तयारी छ ।
पशुपतिनाथ मन्दिर, प्रवेशद्वारलगायत विभिन्न स्थानमा वाकथ्रु गेट र सिसिटिभी जडान गरिने कोषद्वारा गठित महाशिवरात्रि व्यवस्था मूल समितिअन्तर्गतको सुरक्षा एवं प्रचारप्रसार समितिले जनाएको छ । साथै, मेला क्षेत्रमा शंकास्पद वस्तु फेला परेमा नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा फोन गरी जानकारी गराउन सकिनेछ ।

प्रतिक्रिया