ट्रान्सफरमर घोटालामा १७ विरुद्ध मुद्दा

काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत् प्राधिकरणको ट्रान्सफर्मर खरिद घोटाला काण्डमा तत्कालीन प्रमुखहरूसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मुद्दा चलाइएकाहरूमा चिनियाँ कम्पनी र एजेन्टहरू पनि परेका छन् । उनीहरूले ट्रान्सफर्मर खरिद गर्दा १८ करोडभन्दा बढी भ्रष्टाचार गरेको अख्तियारले दाबी गरेको छ । ‘१८ करोड चौबिस लाख पाँच हजार आठ सय पैँसठ्ठी रुपियाँ र पैसा सोह्रसमेत जरिवाना तथा विगो जफत हुनेसमेत माग दाबी लिई विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ,’ अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भ्रष्टाचार मुद्दामा तत्कालीन प्रमुखहरूसहित उच्च तहका कर्मचारी तानिएका हुन् । तत्कालीन कार्यकारी निर्देशक डा. जीवेन्द्र झा र तत्कालीन महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर साह र चिरञ्जीवी शर्मा पौडेल, तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सह–निर्देशक हरिशबहादुर पाल, सहनिर्देशक डिल्लीरमण दाहाल, तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाल, तत्कालीन सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, तत्कालीन का.मु. निर्देशक अष्टरत्न शाक्य, केन्द्र प्रमुख त्रिपुरारीप्रसाद सिंह, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरु, तत्कालीन केन्द्रीय भण्डार प्रमुख एवम् इन्जिनियर नारायणप्रसाद चौधरी, तत्कालीन भण्डार सहायक सरोज श्रेष्ठसमेत विरुद्ध मुद्दा दायर गरिएको छ ।
खरिद प्रक्रियामा भएको भ्रष्टचारमा चिनियाँ ठेकेदार कम्पनी सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनी लिमिटेडका अध्यक्ष यो याङ सी, महाप्रबन्धक होङयु ओयाङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । त्यस्तै कम्पनीका नेपाली एजेन्ट इन्टर कन्टिनेन्टल विजिनेस नेटवर्कका मणिनाथ ढकालले पनि घोटालामा साथ दिएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया