कुनै समय थियो नेपालका कम्युनिष्टहरूलाई झापाली भनेर चिनिन्थ्यो । सशस्त्ररूपमा झापाबाट सुरु भएको कम्युनिष्ट बिद्रोहले आज शान्तिको बाटो अपनाएको छ । तिनै झापा आन्दोलनसंगै कम्युनिष्ट पार्टीमा लागेका र लामो समय जेल जीवन बिताएका मनकुमार गौतम यति वेला संविधानसभा सदस्य भएका छन् । युवा अवस्थावाट वाम आन्दोलनमा लाग्दा उनले तत्कालीन पञ्चायती ब्यवस्थाबाट धेरै यातना भोगे । उनीसँगै राजनीतिमा लागेका धेरै झापालीहरूले राज्यको उपल्लो पद हासिल गरेका छन भने कोहि स्वतन्त्र भएर बसेका छन् । गौतमको विचारमा नेपालमा जे–जति पनि आन्दोलन र परिवर्तन भएका छन् सबैको जग झापा आन्दोलन हो । झापा आन्दोलन र यसका सकारातमक पक्षको विषयमा सौर्यका लागि चमिना भट्टराईले गौतमसँग गरेको संवाद :
नेपालमा यति वेला जे जति पनि कम्युनिष्ट पार्टीहरू छन् ती सबैको जग झापा आन्दोलन हो । ०२७ सालको अन्त्य र ०२८ सालको प्रारम्भसंगै झपा आन्दोलनको विकास भयो । त्यति बेला सिंगो नेपालमा निरंकुश, सान्तवादी, साम्राज्यवादी र नोकरशाही पुँजीवादीहरूको राज्यमा एकाधिकार र जगजगी थियो । श्रमजीवी जनता पञ्चायती ब्यवस्थाको शोषण र उत्पीडनमा पिल्सिएका थिए । एकातिर मुलुकमा समाजिकरूपमा चरम विभेद थियो । अर्को तर्फ सर्वहारा वर्गको हितमा काम गर्ने अठोटसाथ निर्माण भएका कम्युनिष्ट पार्टीहरू अनेक टुक्रा–टुक्रामा विभाजित थिए । प्राय जसो कम्युनिष्ट पार्टीहरूमा दक्षिणपन्थी सोचको हावी थियो । साथै देशमा निरनकुश पञ्चायती ब्यवस्थाको निरंकुशता र दमन थियो । जनता उकुस मुकुसको अवस्थामा थिए । सबै प्रकारका वाक स्वतन्त्रताबाट जनता बन्चित थिए । सबै प्रकारको अधिकारबिहिन अवस्थामा थिए नेपाली जनता ।
देशमा बढदो पञ्चायती दमन, गाउँमा भएको सामन्त मण्डलेहरूको आतकंले अक्रोसित जनता निकासको खोजीमा थिए । दविएको अवस्थामा रहेका जनताका लागि झापा आन्दोलन एक प्रकारले संजिवनी बुट्टी बनेको थियो । जनताले भोगेका सास्ती, उत्पीडनको बिरुद्धमा जनता आफै उत्रने काम त्यति बेला झापा आन्दोलनबाट भयो । समाजमा रहेका महिला, किशान, विद्यार्थी, बुद्धिजीवी, शिक्षक लगायत सबै वर्गका जनताका हितमा थियो झपा आन्दोलन । समाज र राष्ट्रको परिवर्तनका लागि आन्दोलन अनिवार्य बनेको थियो । जनता मुक्तिको बाटो खोज्दै थिए । कम्युनिष्टहरू जनतालाई सामान्त र फटाहहरूको दासत्ववाट मुक्त गर्न चाहन्थें । त्यसको एउर्टै बाटो थियो आन्दोलन । त्यसैले जनता क्रान्तिकारी कम्युनिष्ट पार्टीको झण्डा मुनी गोलबद्ध भएर बिद्रहमा उत्रिए ।
कम्युनिष्ट पार्टीहरूमा आएको फुट एकातिर समस्या थियो भने, अर्को तर्फ जनताको हितमा आन्दोलन गर्नु पर्ने दायित्व । पार्टीमा देखिएको फरक विचार र संकृर्णताको कारण कम्युनिष्ट पार्टीले जनताको हितमा जति काम गर्नु पर्ने थियो सकेको थिएन । कम्युनिष्ट पार्टी एक आपसमा छिन्न भिन्न अवस्थामा थिए । विचार र दृष्टिकोणको नाममा अनेक रूपमा विखण्डन र विभाजित अवस्थामा थियो कम्युनिष्ट पार्टी र आन्दोलन । त्यस्तो बेलामा एउटा सोच बन्यो –छिन्न भिन्न रूपमा रहेको कम्युनिष्ट आन्दोलनलाई नयाँ रूपमा अगाडि बढउनु पर्छ भन्ने । त्यहि सोचको आधारमा राष्ट्र र जनताको हितमा अगाडि बढ्न झापामा क्रान्तिकारी कम्युनिष्ट पार्टी बनायौं । पार्टी अगाडि बढाउदा हाम्रो विश्लेषण थियो –समाजमा रहेका दलाल नोकरशाही पुँजीपति वर्गको बिरुद्ध आन्दोन गर्नु पर्छ र जनतालाई सबै प्रकारको थिचोमीचोबाट मुक्त गर्नु पर्छ भन्ने । जनताका लागि सबै प्रकारको त्याग गर्न हामी तयार थियौं । त्यहि बिचारबाट अगाडि बडेको थियो झापाको सशस्त्र बिद्रोह ।
झापा आन्दोलनको लक्ष्य जनताको मुक्तिका खातिर राजतन्त्रको अन्त्य र नौलो जनवादी गणतन्त्रको स्थापना थियो । त्यति बेलाको हाम्रो बुझाई जवसम्म मुलुकमा राजतन्त्रको अन्त्य र नयाँ जनवादी गणतन्त्र स्थापना हुदैन नेपाली जनताले सुख पाउँदैनन भन्ने हो । त्यहि उदेश्यले जनतालाई गोलबद्ध गर्यौ र क्रान्तिकारी कम्युनिष्ट पार्टीको पुर्नगठन गर्यौं । यसले शिथिल रूपमा रहेको कम्युनिष्ट आन्दोलनले जनताको निरासालाई उत्साहामा परिणत गर्ने काम गर्यो । जनताको विचमा कम्युनिष्ट पार्टीको बिचार ससक्त रूपमा लाने काम पुन सुरु भयो । झापा आन्दोलनको उदेश्य थियो –सशस्त्र क्रान्ति गरेर सत्ता कब्जा गर्ने । पार्टीको विचार अनुसार सुरु भयो झापामा ससस्त्र आन्दोलन । त्यसले पछि सम्म सबै कम्युनिष्ट झापाली भनेर चिनिए । आन्दोलन सुरु गर्न जस्तो टिकाउन भने सजिलो भएन । हाम्रो आन्दोलनमा चर्को सरकारी दमन भयो । धेरै साथीहरू मारिए, कयौं गीरफ्तार भए । आज नेपालमा विचार र दृष्टीकोणको हिसावले जति पनि कम्युनिष्ट पार्टीहरू छन सबैमा झापा आन्दोलनको प्रभाव र छायाँ छ । समय क्रममा कयौ कुरामा परिवर्तन भयो होला तर, झापा आन्दोलन वर्तमानको जग हो । त्यहि जगमा अडेको छ नेपालको कम्युनिष्ट आन्दोलन ।
झपा आन्दोलन प्रति आलोचना पनि भए । तर, धेरै कम्युनिष्टहरूले झापा आन्दोलनलाई गर्वको रूपमा लिन्छन् । झापा आन्दोलनको सकारात्मक पक्षहरू धेरै छन् । त्यो आन्दोलन नेपालको कम्युनिष्ट आन्दोलन मध्येको एक सकारात्मक आन्दोलन हो । कुनै पनि आन्दोनमा सकारात्मक पक्षसंगै केहि नकारात्कम कुराहरू आउने गर्छ । व्दन्द्धात्मक भौतिकवादी दृष्किोणले हेर्ने हो भने हेरक बस्तु र क्रियामा दुईवटा पक्ष हुने गर्छ । झापा आन्दोलनलाई पनि त्यहि रूपमा हेर्नु पर्छ । त्यो आन्दोलन सदियौं देखि हेपिएका, थिचोमिचोमा परेका, राज्यबाट तिरस्कृत भएका समुदाय र वर्गको हितमा थियो । उनीहरूलाई समाजमा सम्मान पूर्वक बाच्न दिनु पर्छ भन्ने आन्दोलनको उदेश्य थियो । आन्दोलन दुई प्रकारले महत्वपूर्ण थियो । पहिलो कुरा जनतालाई सबै प्रकारका दमन र उतपिडनबाट मुक्त गर्नु दोस्रो अनेक टुक्रामा रहेका कम्युनिष्ट पार्टीलाई एकता बद्ध गर्दै ससक्त रूपमा जनताको पक्षमा उभिदै बलियो पार्टी निर्माण गर्नु । जनतालाई शोषण, दमन र उत्पीडनबाट मुक्ति दिलाउने साथै समान्तवादको अन्यत गर्ने पार्टी यहि हो भनेर जनताको बिचमा जानु हाम्रो दायित्व थियो । यहि आधारमा भाmपा आन्दोलन अगाडि बढेको थियो । अहिले हाम्रो देशमा जुन अवस्था छ त्यो गणतन्त्रको जग झापा आन्दोलन हो ।
झापा आन्दोनल अगाडि बढाउने सन्दर्भमा केहि अतिवादी सोचहरू देखिए । त्यति बेलाको राष्ट्रिय परिस्थितिलाई मुल्याकन गर्ने सवालमा जसरी गम्भीर हुनु पर्ने हो भएन । त्यति बेला सशस्त्र संघर्षका लागि समाज सायद अनुकुल थिएन । त्यसताकाको झापा बिद्रोहमा हामी केहि झापाली भारतको चारु मजुमदार र भारतीय कम्युनिष्ट पार्टी मालेबाट प्रभावित भएका थियौं । सशस्त्र बिद्रोह गर्ने सवालमा नेपालको बस्तुस्थितिको ठोस र सहि रूपमा मुल्याङ्कन गर्न सकेनौ । त्यति बेला झापा आन्दोलनका अगुवा नेताहरूमा पनि कयौ बिषयलाई हेर्ने सवालमा फरक फरक विचार देखियो । परिस्थितिको मुल्याकन गर्ने सवालमा साथै मित्र शक्ति र शत्रुको पहिचान गर्ने सवालमा अतिवादी र उग्रवादी सोचहरू देखिए । सायद समयको ठोस पहिचान गर्ने सवालमा केहि कमजोरी भयो होला । तर, समयसंगै सच्चिदै अगाडि बढेका छौं ।
झापा आन्दोलनबाट आजको दिनसम्म आउँदा मलाई कतै आत्मग्लानी भएको छैन । जे गरियो जनता र राष्ट्रका हितमा काम गरियो । ब्यक्तिगत हितमा कुनै काम गरिएन, त्यसैले आन्दोलमा लाग्दा पार्टी वा आफू ब्यक्तिले कुनै गल्ति गरियो भनेर पछुताउने काम गरेको छैन । समाजका लागि काम गर्दा ब्यक्ति वा सस्थाबाट कहिं कतै गल्ति हुन सक्छ । कहिल्यै गल्ति न गर्ने हो भने चुप लागेर बस्नु पर्छ । केहि नगर्नेले गल्ति गर्दैन । काम गर्नेले काम गर्ने सिलसिलामा कहिले काहिं गल्ति गर्न सक्छ । तर, आफुले पछुताउनु पर्ने कुनै गल्ति गरेको छैन । समाजमा रहेको सामन्तवाद र दमनको बिरुद्ध जनता र राष्ट्रको हितमा लाग्दा जे गरियो ठिक गरियो भन्ने लाग्छ ।
झापा आन्दोलनलाई बुझनेहरूको आ–आफ्नै सोच छ । त्यति बेलाको झापा आन्दोलन किसान, मजदुर, महिला लगायत सबै वर्गको हितमा थियो । कतिले हामीलाई टाउको कटुवा भने । त्यसलाई सफाय आन्दोलन पनि भनियो । तर, त्यो सबै गलत हो । सुरुमा हामीले ससस्त्र आन्दोलनबाट सक्ता कब्जाको नीति अपनाएको हो । तर, पछि त्यसमा पुनर बिचार गरियो । त्यति बेलाको निरंकुश पञ्चायती ब्यवस्थाले हाम्रा धेरै साथीहरूको हत्या गर्यो । दर्जनौ साथीहरूलाई पञ्चायती ब्यवस्थाले शहिद बनायो त्यस क्रममा हाम्रो तर्फबाट पनि केहि ठाउँमा प्रतिकार भएको हो । क्रान्तिमा लागेका क्रान्तिकारीका लागि आफूहरू माथि हुने प्रहार चुपचाप सहने कुरा हुदैन । आइलागने माथि जाइ लाग्दा हाम्रो तर्फबाट पनि केहि मान्छे मारिए । त्यति बेलाको आन्दोलनका लागि त्यो स्वभावीकै हो । त्यति बेला झापा आन्दोलनको सुरुवात नभएको भए आज यो मुलुकमा जनता स्वतन्त्रतापूर्वक बाच्ने अवस्था आउदैन थियो । यो देशलाई यहाँसम्म ल्याउने काम झपा आन्दोलनले गरेको हो । आन्दोलनबाट धेरै सकारात्मक थोरै नकारात्मक सन्देश गयो होला । आन्दोलनमा लाग्दा यस्ता कुरा सामान्य हुन्छन् । विश्वमा भएका सबै प्रकारका परिवर्तनमा सबै सकारात्मक पक्ष छैनन । यो सामान्य कुरा हो । झापा बिद्रोहलाई पनि यहि रूपमा बुझ्नु पर्छ ।
हिजो झपा आन्दोलनको मार्गचित्र कोर्ने अगुवा धेरै नेताहरू आज यो आन्दोनमा छैनन । नाम उल्लेख नगरीकन सम्बोधन गर्ने हो भने कयौं हस्तिहरू आज नेपालको परिर्वतनको आन्दोलन बाहिर हुनुहुन्छ । उहाँहरू मध्ये केहि आन्दोलन बाहिर गएर गल्ती गर्नु भएको छ । केहि आफ्नै ढंगले राजनीतिक यात्रामा सक्रिय हुनु हुन्छ । फेरि पनि उहारुलाई मुलधारको आन्दोलनमा समेटेर लान सक्ने हो भने ब्यक्तिगतरूपमा उहाहरू र आन्दोलन दुबैको हित हुने छ । सिपी मैनालीको कुरा गर्ने हो भने उहाँलाई नेपालको कम्युनिष्ट आन्दोलनमा माइनस गरेर कोहि अगाडि बढ्न सक्दैन । नेपालको कम्युनिष्ट आन्दोलनमा सिपीको भूमिकाको उच्च सम्मान गर्नु पर्छ । कम्युनिष्ट नेताहरूको समस्या भनेको आफू बाहेक अरूको बिचार र भूमिकाको सम्मान गर्न न सक्नु हो । मलाई लाग्छ यति बेला सिपी एमालेमा आउने हो भने दोस्रो तेस्रो स्थानमा सम्मानका साथ राख्दा कसैले आपत्ति मान्नु पर्दैन । एमाले निर्माणमा सिपिको भूमिका अहिलेका पहिलो, दोस्रो नेता भन्दा कम छैन । तर, भावना छ भने पार्टीको जिम्मेवारीमा जो जहाँ जुन कमिटीमा बस्दा पनि केहि फरक पर्दैन । संकटको बेला पार्टी छोडेर हिड्नेहरूले अनुकुलता हुदा यो वा त्यो भनेर उच्च पद खोज्नु उचित हुदैन । बिचार फराकिलो हुन जरुरी छ ।
नेपालमा कुनै ब्यक्ति मात्र होएन सबै कम्युनिष्ट एक हुन पर्छ भन्ने लाग्छ । तर ब्यवहारमा त्यो सजिलो छैन । ०४८ सालको निर्वाचनमा एमालेले सबै वाम एक ठामको नारा सहित अभियान सुरु गर्यो । सबै भन्दा ठूलो पार्टी एमालेले अरूलाई समेटन निर्वाचन क्षेत्र दिदा दिदा आफ्ना भागमा एक सिट पनि बाकि रहेन नेपालको राजनीति यस्तो छ । पार्टी एकताको कुुरा गर्ने हो भने कुनै सानो पार्टीको नेता ठूलो पदमा रहेका ब्यक्ति ल्याउदा एमालेको पहिलो दोस्रो दर्जाको पद खोज्छन् । त्यो कत्तिको ब्यवहारिक हुन्छ । तथापि, एमाले नेपालको वामपन्थी एकताका लागि सबै प्रकारको भूमिका निर्वाह गर्न अगुवाही गर्न तयार छ । तर, भन्न जति सजिलो छ काम गर्न त्यति नै गाह्रो छ ।
झापा आन्दोलनले जन्माएको वर्तमान एमाले पार्टी आज नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहमा छ । एमाले बिचारको रूपमा, संख्याको रूपमा र मुलुक परिर्वतन गर्ने एजेण्डाको रूपमा सबै भन्दा अगाडि छ । यसले मलाई गर्व लाग्छ । झापामा बढेको वामपन्थिहरूको आन्दोलनमा म पनिसंगै सक्रिय थिए । नेपालको वर्तमान कम्युनिष्ट आन्दोलन अनेक अफ्ठ्यारो अवस्थाबाट गुज्रिदै अगाडि बडेको छ । कहिले सफलता कहिले असफलता, गुट र फुटबाटबाट अगाडि बडेको छ कम्युनिष्ट आन्दोलन । पछिल्लो समय सारा युरोपमा कम्युनिष्टले धक्का खादै थियो । बर्लिनको पर्खाल ढलदै थियो । पुँजिवादीहरू खुसी मनाउदै थिए । विश्वमा समाजवाद समाप्द भयो भनेर एक उन्माद थियो । त्यस्तो अवस्थामा नेपालमा स्थापित भएको जननेता मदन भण्डारीको जनताको बहुदलिय जनवादको विचारले विश्वका कम्युविष्टहरूमा संजिवनी ल्याउने काम गर्यो । नेपालका कम्युनिष्टहरूले यहि बिचारको आधारमा एक पछि अर्को सफलता प्राप्त गर्दै गए । नेपालमा कम्युनिष्टहरूको भविष्य राम्रो छ, उज्जवल छ कसैले चाहेर पनि कम्युनिष्ट समाप्त हुदैन । जनताको बिचमा सबै भन्दा प्रिय पार्टी कम्युनिष्ट पार्टी बनेको छ यति बेला । यसले विचारको हिसावले उचाइ प्राप्त गर्दै छ । त्यहि उचाइमा एमाले अगाडि बडेको छ भविष्यमा एमालेले सबै कम्युनिष्टलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ ।
वर्तमान राजनीतिको कुरा गर्ने हो भने राष्ट्रिय राजनीतिको निकासका लागि नेपाली कांग्रेसले लिखित वा अलिखित रूपमा गरेका सबै प्रकारका सहमतिलाई पालना गर्नु पर्छ । एमाले र नेपाली कांग्रेसले जनताको बिचमा गरेको घोषण पुरा गर्न सहमतिको आधारमा अगाडि बडनु पर्छ । जनताले पार्टीहरूसंग गरेको बिश्वास यी दुबै पार्टीले पुरा गर्नु पर्छ । जनता पार्टीलाई विश्वास गरी रहेने तर पार्टीहरूले जनतासंग गरेको वाचा पुरा नगर्ने परम्पराको अन्त्य हुनु पर्छ । एमाले जनताको बिचमा गरेको बाचा पुरा गर्न र गराउन सबै प्रकारको उपचार गर्न तयार छ । एमालेले नेपालमा गणतन्त्र ल्याउछौ भन्दा हाँस्ने हरू धेरै थिए । तर, गणतन्त्र आयो । त्यसै गरी मुलुकका लागि एमाले सबैलाई समेटेर लैजान तयार छ । नेपाली जनताको भविष्य सुन्दर छ । त्यो पुरा गर्न एमालेले अगुवाको भूमिका खेल्ने छ । यसमा सबैलाई विस्वस्त रहन आग्रह गर्छु ।
प्रतिक्रिया