युक्रेनमा हिंसात्मक प्रर्दशन, २२ को मृत्यु

ucrainकाठमाडौं, ८ फागुन । युक्रेनको केइभमा फेरि सुरु भएको हिंसात्मक विरोध प्रर्दशनमा मारिनेको संख्या दुई दर्जन पुगेको छ । अहिलेसम्म कम्तिमा २२ जनाको मृत्यु भएको छ । बुधबार मात्रै सरकार र विपक्षी समूहबीच शान्ति सम्झौता भएको थियो ।
तर, सम्झौतापश्चात पनि विपक्षीले आफ्नो प्रर्दशन जारी राखेको बताइएको छ । केइभको इन्डिपेन्डेन्स स्क्वायरमा जारी प्रर्दशन थप हिंसात्मक बन्दै गएको प्रत्यक्षदर्शीले जनाएका छन् । पेट्रोल बम प्रहार गरिएका छन् । गोलीका आवाजहरू पनि सुनिएका छन् । प्रहरीले प्रर्दशनकारीविरुद्ध पानीको फोहोरासमेत प्रयोग गरेको बताइएको छ ।
प्रत्यक्षदर्शीले सडकमा दर्जनौँ प्रर्दशनकारी मृत अवस्थामा भेटिएको बताएका छन् । युरोपियन युनियनको सहयोग नलिई रसियाबाट सहयोग लिने युक्रेन सरकारको निर्णयपछि त्यहाँ हिंसात्मक प्रर्दशन सुरु भएको हो । युरोपियन युनियनका विदेशमन्त्रीहरू र युक्रेनी राष्ट्रपति भिक्टोर यान्कोबीच बिहीबार राति अवेरसम्म वार्ता भएको थियो । प्रत्यक्षदर्शीहरूका अनुसार २१ देखि २७ जनासम्मको शव सडकमा भेटिएको थियो ।
अधिकारीहरूका अनुसार सो घटनामा एक प्रहरीको पनि मृत्यु भएको छ । १२ जनाको शव होटल युक्रेनको लविमा भेटिएको बताइएको छ । विपक्षी प्रर्दशनकारीले युक्रेनी राष्ट्रपतिको रसियासँग सम्बन्ध मजबुत बनाउने निर्णयविरुद्ध विरोध सुरु गरेका हुन् । जारी हिंसात्मक प्रर्दशनपछि युरोपियन युनियनले युक्रेनमाथि प्रतिबन्ध लगाउन सक्ने अनुमान गरिएको छ । सो विषयमा पनि युरोपियन युनियनले निर्णय गर्न सक्ने बताइएको छ । प्रर्दशन थप हिंसात्मक बन्दै गएपछि सरकारी भवनहरूबाट उच्च अधिकारीहरूलाई अन्यत्र पठाइएको छ ।
गत सातादेखि नै युक्रेनमा हिंसात्मक प्रर्दशन जारी थियो । बुधवार मात्रै युक्रेनी राष्ट्रपति र विपक्षी पार्टीबीच शान्तिसम्झौता भएको थियो । तर, शान्तिसम्झौतापछि पनि राजधानी केइभ शान्त हुन सकेको छैन । गत मंगलबार मारिएकाहरूको सम्झनामा बिहीबार शोक दिवस घोषणा गरिएको थियो ।

प्रतिक्रिया