नेपालका कम्युनिस्टहरूका लागि टंक राई परिचत नाम हो । सानैदेखि वाम आन्दोलनमा लागेका राई एमालेमा हुँदा प्रतिनिधिसभा सदस्य भएका थिए । उनलाई बुझ्नेहरूका लागि यतिबेला उनी राजनीतिमा निस्क्रियजस्तै लाग्छन् । तर, राई आफूले पढेको र बुझेको माक्र्सवादलाई जनताको पक्षमा व्यावहारिक रूपले लागू गर्दै छन् । राजनीति गर्दै जाँदा राईलाई लाग्यो राजनीति दर्शनको कुरा गर्ने वा भाषण गर्ने मात्र होइन । यो त जनताको हितमा गरिने समाज परिवर्तनको काम हो । त्यसैले उनी यतिबेला आफ्नै जिल्लामा जनताको आधारभूत आवश्यकता पूरा गर्ने अभियानमा सक्रिय छन् । र, राजनीतिमा पुष्पलालको विचारको अनुसरण गर्दै नेपाल कम्युनिस्ट पार्टीमा छन् ।
लामो समय सक्रिय राजनीति गरेँ । कयौं वर्ष भूमिगत र पूर्णकालीन भएर वित्यो मेरो युवा अवस्था । तर, अहिले म राजनीतिका साथै अन्य सामाजिक एवं व्यावसायिक काममा व्यस्त छु । विस्तारै सोच्न थालेँ राष्ट्रका लागि सोच्दा–सोच्दै कतै आफ्नै जिल्ला र गाउँका लागि कम गरियो कि भन्ने लाग्यो । त्यसैले अहिले जिल्लाका विभिन्न ठाउँलाई विद्युतीकरण गर्ने अभियानमा लागेको छु । पहिला आफ्नो ठाउँ बनाउनुपर्छ भनेर सेवामूलक काममा लागेको छु । मेरो जिल्लामा सामुदायिक अस्पताल सञ्चालन भएको छ । यतिबेला जिल्लाको धेरै गाउँमा विद्युतीकरण भएको छ । गाउँमा मेरो प्राथमिकता सामुदायिक विद्यालय, अस्पताल, विद्युत्, पुस्तकालय र सडक निर्माणजस्ता कुरामा छन् ।
राजनीतिमा लाग्दा सिंगो मुलुक परिवर्तन गर्न भनेर लागेको थिएँ । तर, विस्तारै सोचेँ आफ्नो गाउँ–ठाउँ परिवर्तन गर्न नसक्नेले कसरी समाज परिवर्तन गर्न सक्छ भनेर । समाज रूपान्तरण गर्ने भनेर ठूला कुरा धेरै गरियो । तर, आफ्नो गाउँ समाजतिर हेर्न बिर्सिएजस्तै भयो । पहिला आफू र आफ्नो समुदायलाई रूपान्तरण गर्नुपर्छ भनेर यतिबेला जोडले लागेको छु । अहिले धेरैजसो काम आफ्नो जिल्लामा गर्दा चिन्ने जान्नेहरूलाई लाग्दो रहेछ– किन आफ्नो गाउँमा खुिम्चएको होला भन्ने । तर, मैले आफूलाई गाउँमा खुम्चाउन खोजेको होइन । पहिला आफू बसेको गाउँ समाज बनाएर राष्ट्र बनाउनु पर्छ भन्ने अभियानमा लागेको हो ।
समाज र राष्ट्रको परिवर्तनमा राज्यको भूभिका प्रमुख हुन्छ । हामीले मात्र चाहेर सिंगो समाज रूपान्तरण गर्न सकिदैन । तर, राज्यले समाजका लागि काम गर्छ भनेर हामी चुप लागेर बस्नु हुँदैन । कहिलेकाही समाजका लागि काम गर्न राज्य पछाडि पर्न सक्छ । समाजलाई रूपान्तरण गर्ने काममा राज्यको मुख ताकेर बस्नु पाखण्ड हुने छ । कुरा मात्र गरेर समाज र राज्यको रूपानतरण हुँदैन । जसले जहाँ सक्छ उसले आफ्नो ठाउँबाट पहल गर्नुपर्छ । आफू बसेको समाजका लागि जसले जे गर्न सक्छ, त्यहीअनुसार लाग्नुपर्छ । राज्यले गर्ने काममा सहयोग र दवाव दिने काम सबैले गर्ने हो भने समाज समृद्ध हुने छ । सबैले यसैगरी लाग्ने हो भने हाम्रो समाज अहिलेकोभन्दा अगाडि बढ्ने छ ।
यतिबेला मान्छेहरूको नजरमा म सक्रिय राजनीतिकर्मी देखिन्नँ । तर, म आफ्नो काम र भूमिकाबाट पूर्ण रूपमा सन्तुष्ट छु । मलाई बुझनेहरूलाई लाग्छ लामो समय सक्रिय राजनीति गरेको र मूलभागमा रहेर राजनीति गरेको मान्छे गाउँमा बत्ति बाल्ने, स्कुल, पुस्तकालय, अस्पताल खोल्ने काममा किन लागेको होला भन्ने । तर, हामीले गरेको राजनीति यही समाज र राष्ट्रका लागि हो । जे गर्दा समाज विकसित हुन्छ, जनताले सेवा र सुविधा पाउछन् त्यो पनि राजनीति हो । दर्शन र सिद्धान्तको भाषण गर्नु मात्र राजनीति हो भनेर बुझ्नु गलत हुने छ । त्यसैले म यो समाजको रूपान्तरणका लागि आफ्नो ठाउँबाट केही गर्न सकेकोमा सन्तुष्ट छु ।
राजनीतिक यात्रामा धेरै मित्रबाट सिक्ने र सिकाउने अवसर पाएँ । सँगै काम गरेका साथीहरू धेरै मन्त्री भए । मैले माक्र्सवाद सिकाएको र जानीतिमा डोर्याएका धेरै साथीहरू सांसद्, मन्त्री भए कयौं माले, एमाले, एमाओवादीजस्ता कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण ठाउँमा बसेर राजनीति गर्नु हुन्छ । यसले मलाई गर्वको अनुभूति हुन्छ मैले सिकाएको विचार र कयौं व्यावहारले उहाँहरू सफलतापूर्वक राजनीति गर्नु हुन्छ भनेर । तर, आफूले सिकाएको आदर्श र नैतिकतालाई सबैले नीति निर्माणको तहमा सही रूपमा पालना नगर्दा दु:ख लाग्छ । राजनीतिमा कयौं ठाउँमा विचलन आएको छ । नीति निर्माणको तहमा पुगेपछि आफ्नो नैतिकता, स्वच्छता, इमान्दारिता देखाउनु सबैभन्दा ठूलो कुरा हो । राजनीतिमा लागेको र पदीय जिम्मेवारीमा पुगेका नेताहरूको विषयमा बेला–बेला आलोचना आउने गर्छ । नेपाली उखानमा भनिन्छ, ‘हावा नचलिकन पात पक्कै हल्लिदैन’ कहिकतै केहि नभए त्यस्तो टिप्पणी नहुनु पर्ने हो । त्यसमा कत्तिको सत्यता छ म जान्दिनँ । उहाँहरू आफैले बुट्टने कुरा हो ।
जतिबेला समाज र आफूलाई बुझन थालेँ त्यसै बेलादेखि राजनीतिमा होमिएँ । युवा हुँदा लाग्थ्यो समाज परिवर्तन गर्न जस्तोसुकै योग्दान दिन परे पनि दिने छु । अहिले पनि म राजनीतिबाट पूर्ण रूपमा निस्कृय छैन । समाजमा हुने राजनीतिक उतार–चडावको अध्ययन र मूल्यांकन गर्ने गर्छु । देशमा दोस्रो संविधानसभाको निर्वाचन हुनु अगाडिदेखि नेपालको राजनीतिले लिक अर्थात मूल बाटो छोडेको छ । मुलुक संवैधानिक रूपमा अगाडि बढ्नु पर्नेमा पछाडि मोडियो । निर्वाचनमा जाने नाममा मुलुक असंवैधानिक रूपमा अगाडितिर गयो । समाज र जनताबीच कहिल्यै नचिनिएका अनुहारलाई मुलुकको कार्यकारी पद दिने काम भयो । त्यसको परिणामले निर्वाचनमा सबै पार्टीहरूको सहभागिता हुन सकेन । निर्वाचन सम्पन्न गर्ने काममा पूर्वनियोजित योजनाको आधारमा निर्वाचनको परिणाम आयो । यथार्थ भन्ने हो भने निर्वाचन सेटिङ मिलाएर भएको थियो । जित्ने वा निर्वाचन गराउनेले निर्वाचन सफल भएको मान्नु स्वाभाविकै हो । तर, निर्वाचनमा भएका कयौं कुरा उक्त कार्यमा खटिने जिम्मेवार व्यक्तिलाईसमेत जानकारी थिएन । यतिबेला मुलुक मानसिक र राजनीतिक रूपमा विभाजन भएको छ । वर्तमान संविधानसभाले मुलुकलाई अगाडि बढाउनेभन्दा यथास्थितिमा फर्काउने काम गर्छ निर्वाचन अघि र पछिको गतिविधिलाई हेर्दा लाग्छ– मुलक अगाडि बढनेभन्दा पछाडितिर जाने संकेतहरू देखिदै छ ।
निर्वाचनको मिति सार्ने विषयमा चार दल र अन्य दलबीच छलफल हुँदै गर्दाका केही घटनाहरूले अहिले पनि सोच्न बाध्य बनाउँछन् । निर्वाचनको विषयमा राष्ट्रिय सहमतिको नजिक पुगेको अवस्थाबाट सरकार र पार्टीहरू फर्कनुले दोस्रो संविधानसभाको निर्वाचन कसरी भयो भन्ने सहजै अनुमान लगाउन सकिन्छ । सरकार बनाउनेदेखि निर्वाचन गराउनेसम्मको अवस्थामा लागेका पार्टीहरू पनि यो सवालमा फेल भएका हुन सक्छन् । सबै अवस्था हेर्दा पार्टीहरू आफैले चाहेर सरकार बनाएको र आफ्नो अनुकुलतामा निर्वाचन गराएका थिए भनेर ढुक्कले भन्न सकिदैन । निर्वाचनमा जुन परिणाम आएको छ त्यो हेर्दा लाग्छ पार्टीहरूले चाहेर राष्ट्रिय सहमतिको आधारमा निर्वाचन भएको भए परिणाम अर्कै आउन सक्ने थियो । जसरी निर्वाचन भएको भए पनि निर्वाचनले जनतालाई केहि आसा दिएको छ । पार्टीहरूले त्यसैलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्नु पर्छ । निर्वाचनमा जनताको एजेन्डा हारेको छैन । यसलाई जनताको एजेन्डाको जित मानेर नयाँ शिराबाट अगाडि बढ्नु पर्छ । जनताको पक्षमा, संघीयता र गणतन्त्रको पक्षमा रहेका पार्टी र शक्तिहरूबीच नयाँ धु्रवीकरण गरिनु पर्छ । यथास्थितिवादको विरुद्धमा प्रगतिशील पार्टी र शक्तिहरूबीच धु्रवीकरण अहिलेको माग हो । यसलाई सबैले ठीक ढंगले सम्बोधन गर्न सकियो भने आउने दिनमा देशले अग्रगमनको बाटो लिने छ ।
म यतिबेला नेपाल कम्युनिस्ट पार्टीका सस्थापक पुष्पलालले समाजको बारेमा गर्नुभएको सटिक व्याख्या सम्झने गर्छु । उहाँको व्याख्या थियो– नेपालको कुनै पनि परिवर्तन संयुक्त जनआन्दोलनबिना हुँदैन । यो नेपालको राजनीतिक चरित्र हो । परिर्वतनका लागि कुनै एउटा पार्टीको नेतृत्वमा वा कसैको एकल एजेन्डाले नेपाल परिवर्तन हुन सक्दैन भन्ने पुष्पलालको विचार थियो । नेपालको बारेमा पुष्पलालले ६५ वर्ष पहिला चित्रण गरेको अवस्थामा अहिले पनि परिवर्तन भएको छैन । नेपालको हरेक परिवर्तनमा पुष्पलालको विचारले सफलता पाएको छ । तर, हाम्रो दुर्भाग्य होला । सफलतासँगै परिवर्तनकामी शक्तिहरू एकै ठाउँमा उभिन सक्दैनन् । यदि मुलुकको अवस्थालाई हेरेर सबै एकै ठाउँ उभिन सकेको भए नेपाल धैरै अगाडि बढ्ने थियो । अग्रगामी शक्तिहरू एक भएका भए पुँजिवादी शक्तिहरू हाम्राविरुद्ध उभिने अवस्था आउँदैन थियो । अझै समय गएको छैन । राष्ट्रलाई बचाउने हो भने प्रगतिशील शक्तिहरूले परिस्थितिलाई बुझेर मोर्चाबन्दी गर्नु आवश्यक छ । मलुकका लागि वामपन्थी शाक्तिहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । अब वामपन्थीको नेतृत्वमा गणतन्त्र, राष्ट्रियता, संघीयताका पक्षधर, प्रगतिशील शक्तिहरू अगाडि बढनु पर्छ । जनताको चाहनालाई सम्मान गर्ने शक्ति, व्यक्ति, समूह सबैलाई समेटेर बृहत मोर्चाबन्दीमा ल्याएर अगाडि बढ्नु अहिलेको प्रमुख आवश्यकता हो । यसो गर्न सकियो भने मुलुकले निकास पाउने छ । यो अनिवार्य आवश्यकता हो । त्यसो गर्न सकिएन भने नेपालको वामपन्थी आन्दोलन कमजोर हुनुको साथै मुलुक रूपान्तरण हुन सक्दैन । पार्टीहरूका आ–आफ्ना सिद्धान्तहरू होलान् दिर्धकालीन रूपमा अगाडि बढ्ने । तर, तत्कालीन रूपमा मिल्ने एजेन्डाहरूको आधारमा सबै प्रगातिशील अग्रगमनकारीहरूको बीचमा मोर्चा बनाउनु जरुरी छ ।
संविधानसभामा ठूला भएर आएका पार्टीहरूसँग जनतालाई बलियो बनाउने र परिवर्तित रूपमा देशलाई अगाडि बढाउने एजेन्डा छैन । राष्ट्रको हितमा एजेन्डा नभएका पार्टीहरू अगाडि देखिएका छन् । जनताका पक्षमा काम गर्ने र मुलुक रूपान्तरण गर्ने नयाँ एजेन्डा भएका पार्टीहरू पछाडि परेका छन् । यसले तत्कालका लागि मुलुक पश्चगमनतिर जाने र असफल हुने खतरा देखिन्छ । राजनीतिक परिवर्तनको इतिहासलाइ हेर्ने हो भने यो गलत छ । समाज सधै अगाडि बढ्न खोज्छ, अगाडि बढ्ने प्रक्रियालाई रोकेर जस्ताको तस्तै राख्न खोज्नु गलत हो । समाज समाजिक र आर्थिक रूपमा अगाडि बढेको छ । समयसँगै जनताको आकांक्षा र आवश्यकताहरू बढेका छन् । यो स्वाभाविक हो । यस्ता कुरालाई यथास्थितिवादले पूरा वा सम्बोधन गर्न सक्दैन । समाजको सामाजिक, आर्थिक रूपान्तरण र राजनीतिमा यथास्थितिवादको बीचमा हुने टकरावले मुलुकलाई नयाँ अवस्थामा लैजान्छ । यस्ता कुराहरूमा जिम्मेवार पार्टीहरू सचेत हुनु पर्छ ।
नेपालको राजनीति र मौसम दुबै दक्षिणतिरबाट प्रभावित हुने गरेको छ । नेपालमा दक्षिणको विरुद्ध उभिने मान्छे निकै कम छन् । दक्षिणको मौसमलाई चुनौति दिने हिमाल मात्र हो । केहि समयदेखि नेपालको राजनीतिमा दक्षिण मात्र होइन, अरुको पनि चासो बढेको छ । दक्षिणतिरबाट अनावश्यक चासो बढेपछि अरुको पनि बढ्नु स्वाभाविकै हो । वैज्ञानिक दृष्टिले हेर्ने हो भने क्रियासँगै प्रतिक्रिया हुन्छ । यो अनौठो विषय होइन । संधिानसभा निर्वाचन अगाडिका केहि घटनाले नेपालमाथिको हस्तक्षेपको रूपहरू प्रष्ट पार्छ । निर्वाचनको मिति सार्ने विषयमा चारदल र तेत्तिस दलबीच धेरै कुरा सहमति नजिक पुगेको थियो । तर, एकाएक एउट विदेश सचिवको डिनर पार्टीले सबै भताभुंग पार्यो । आफैले गरेरको आन्तरिक सहमतीलाई कार्यान्वयन गर्न नसक्ने पार्टीहरूका कारण मुलुक सधै समस्यमा परेको छ । पार्टीहरू आफ्नो निर्णय आफै गर्न सक्दैनन् भन्ने कुरा त्यो घटनाले प्रष्ट पार्छ । विदेशीको विस्तारवादको मोहरा वनेर काम गर्ने पार्टी र नेताविरुद्ध जनताले संघर्ष गर्नु पर्छ । भारत र अमेरिकाको विरुद्ध नारा लगाएर मात्र हुँदैन । उनीहरूको इसारामा देशको हितविपरित काम गर्नेकाविरुद्ध नारा लाग्नु पर्छ । कसैको देशमा प्रभुत्व लाग्न खोज्नु उनीहरूका लागि जाहेज होला । तर, हाम्रो लागि त्यो स्विकार्य हुँदैन । वैदेशिक हस्तक्षेपको विरोध गर्ने, तर आफैभित्र रहेको विदेशीको एजेन्ड नेताको पक्षपोषण गर्ने संस्कार छ । पहिलो आफैभित्रको विदेशी भावना र मनलाई ठीक पारौँ । त्यसपछि अरुको हस्तक्षेप ठीक पार्न सकिन्छ ।
नेपालको परराष्ट्र नीति जंगबहादुरको पालामा जस्तो थियो अहिले पनि त्यस्तै छ । जंगबहादुर सत्ता टिकाउन विदेशीको चाकडी गर्थे, अहिलेका नेताहरू पनि त्यसै गर्दैछन् । यो नेपालको गम्भीर समस्या हो । विदेशीहरू आफ्ना हितमा नेपाललाई प्रयोग गर्दैछन् । उनीहरूको स्वार्थका लागि त्यो ठीक होला । तर, नेपालको नेताहरू विदेशीको हितमा प्रयोग हुँदै छन् । यो नेपालीको लागि बिडम्वना हो । नेपालका नेताहरूले प्रष्ट अडान राख्न सक्नु पर्छ । हामी आफ्नो देशको अहित हुने गरी काम गर्दैनौँ भनेर । आफ्नो देशको हित सबैले इमान्दारिताका साथ गर्नु पर्छ । नेपालीलाई नेपालको हितमा निर्णय गर्न नदिने खेल बढेको छ । त्यस्ता व्यक्ति र पार्टीलाइ जनताले निरुत्साहित पार्नु पर्छ । जनता र राष्ट्रको हितमा काम गर्ने नेता र पार्टीलाई प्रोत्साहित गर्नुपर्छ । जनताले चाहेअनुसार मुलुक अगाडि बढ्नु पर्छ । जनताका लागि भनेर सक्रिय पार्टीहरूले जनताको आश्यकता पूरा गर्न सक्रिय हुनु पर्छ । तर, कयौं पार्टीहरूले क्षणिक सहयोगको नाममा जनताका अभाव र गरीबीमाथि शोषण गरेका छन् । यस्तो अवस्था सधै रहँदैन जनता धेरै सचेत भएका छन् । जनताको मत राष्ट्रियताको पक्षमा छ यसको सबैले सम्मान गर्नु पर्छ । जनताको हितविपरित राजनीति गर्न खोज्नु क्षणिक हुने छ ।
: चमिना भट्टराई
प्रतिक्रिया