फेरि विमान दुर्घटना

planeकाठमाडौं, ४ फागुन । आइतबार दिउँसो कास्कीको पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको ट्वीनअटर विमान अझै हराइरहेको छ । सो विमान अर्घाखाँचीको खिदिम–८ स्थित जंगलमा खसेको हुन सक्ने अनुमान गरिएको छ । विमान खोज्नका लागि सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिए पनि मौसमको खराबीले विमानको खोजी कार्यमा अवरोध उत्पन्न भएको छ । विमानमा चालक दलका सदस्यसहित १८ यात्रु छन् ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगमको ४३ वर्ष पुरानो ९ एन एबिबी कल साइन भएको विमान अर्घाखाँची, गुल्मी र पाल्पाको सीमामा पर्ने खिदिम जंगलमा दुर्घटना भएको अनुमान गरिएको छ । विमानमा चालक शंकर श्रेष्ठ, सहायक चालक रवीन्द्र बन्जारा र परिचारिका मुना महर्जनसहित १८ यात्रु रहेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । विमानमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य गौरी कठायत पनि छिन् ।
पोखराबाट उडेको सो विमानको दिउँसो १ बजेर १३ मिनेटमा भैरहवा टावरसँग अन्तिम सम्पर्क भएको थियो । नेपाल वायु सेवा निगमका महानिर्देशक ऋषिकेश शर्माले विमान दुर्घटनाको पुष्टि गरेका छन् । उनले दुर्घटनाको कारणबारे अध्ययन भइरहेको जानकारी दिए । मौसमको खराबीले विमान जुम्लामा अवतरण गर्न नसक्ने जनाउँदै चालकले फर्कन लागको जानकारी भैरहवा टावरलाई दिएलगत्तै विमान सम्पर्कविहीन भएको थियो ।
उद्धारका लागि नेपाली सेनाको विमान र फिस्टेल ऐयरको हेलिकोप्टर परिचालन गरिए पनि मौसमको खराबीले घटनास्थलसम्म पुग्न कठिनाइ भएको सेनाले जनाएको छ । तर, विमान दुर्घटना भएको भनिएको क्षेत्र अझै पत्ता लाग्न नसकेको बताइएको छ । विमानको खोजी गर्न नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टा–छुट्टै टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीको पश्चिमाञ्चल क्षेत्रीय प्रमुख डिआइजी नारायणबाबु थापाले तीनवटै सुरक्षा निकायको टोली परिचालन गरिए पनि राति अबेरसम्म विमान फेला पर्न नसकेको जानकारी दिए ।
विमान खसेको आशंका गरिएको उक्त जंगलबाट स्थानीय बासिन्दाले धुवाँको मुस्लो देखेका छन् । भारी वर्षाका कारण खोजी कार्यमा अवरोध उत्पन्न भएको बताइएको छ । पाल्पा सदरमुकामबाट सो क्षेत्रमा पुग्न झन्डै दुई घन्टा लाग्छ । विमानका चालक श्रेष्ठको स्थायी घर हेटौँडा भए पनि उनी ललितपुरको सानेपामा बस्दै आएका थिए । ४५ वर्षीय श्रेष्ठ निगमका अनुभवी पाइलट मानिन्छन् । सह–चालक बन्जाराले मलेसियाबाट पाइलट तालिम गरेका हुन् ।
को–को थिए विमानमा
पोखराबाट जुम्ला जाँदै गरेको नेपाल वायुसेवा निगमको जहाजमा कांग्रेस जुम्ला सभापति मानव सेजवाल, नारी आवाजकी अध्यक्ष तथा पत्रकार गौरी कठायत, जुम्ला कृषि विकास बैँकका म्यानेजर राजेन्द्र देवकोटा, शिक्षक टेकबहादुर महतारा, जुम्ला बाहिनीका मेजर दीपक श्रेष्ठ, जुम्ला अस्पतालका प्रमुख विकल्प पोखरेल, एकजना डेनिस पर्यटकलगायत थिए । दुर्घटनामा चालक दलका तीनसहित १८ परेका छन् ।
कोइरालाले अपहरण गरेको विमान
आइतबार दुर्घटना भएको सो विमान नेपाली कांग्रेसले सशस्त्र संघर्षका क्रममा विराटनगरबाट उड्दा अपहरण गरेको विमान हो । संयोग नै भन्नुपर्छ वर्तमान प्रधानमन्त्री सुशील कोइरालासमेत सो विमान अपहरण काण्डमा संलग्न थिए । सो विमान उनकै कार्यकालमा दुर्घटनाग्रस्त भएको छ ।
२०३० साल २८ जेठको सो विमान अपहरण गर्ने योजनामा प्रधानमन्त्री कोइरालासमेत संलग्न थिए । क्यानडेली विमान कम्पनीले यो विमान २०२८ साल असार ३ गते काठमाडौंमा अवतरण गराएको थियो । त्यसबेलादेखि यसले निरन्तर सेवा प्रदान गर्दै आएको थियो । २०४९ साल २१ असारमा सो विमान जुम्लामै धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो ।
उक्त जहाज दुर्घटनामा परेको त्यो दिन पनि आइतबारै थियो । त्यतिबेला विमानमा सवार सबै सकुशल बाँच्न सफल भएका थिए । विमानमा त्यतिबेला तीन जना मात्रै थिए । निगमले उक्त जहाज मर्मत गरेर पुन: उडान सुचारु गरेको थियो ।

प्रतिक्रिया