सरकार गठनको विवाद चाँडै सुल्झिन्छ : देउवा

deuba copy

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सरकार गठनमा देखिएको विवाद एक दुई दिनमा समाधान हुने दाबी गरेका छन् ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघको नवौँ वार्षिकोत्सवलाई बिहीबार सम्बोधन गर्दै नेता देउवाले एक दुई दिनमा नेकपा एमाले सरकारमा सहभागी हुने पनि बताए । वरिष्ठ नेता देउवाले कोइरालाको सरकार चलाउने कमअनुभवका कारण पनि गठबन्धनमा समस्या उत्पन्न भएको तर्क गरे । मन्त्रालय विभाजनमा देखिएको विवाद पनि चाँडै समाधान हुने उनको दाबी थियो ।
नेता देउवाले नयाँ संविधान निर्माणमा स्वास्थ्य, शिक्षालाई आधारभूत आवश्यकताका रूपमा व्याख्या गरी राज्यले नै ती सुविधा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । गृह मन्त्रालय कसले लिने भन्ने विषयमा सुरु भएको विवादका कारण एमाले वर्तमान सरकारमा सहभागी भएको छैन । विवाद समाधान गर्नका लागि दुवै दलका शीर्ष नेताहरू छलफलमा व्यस्त छन् । यसै साताभित्र सरकारलाई पूर्णता दिने तयारीमा दुवै दलका नेताहरू जुटेको बुझिएको छ । तर, अझै पनि उनीहरू टुंगोमा भने पुग्न सकेका छैनन् ।
सरकारले छिट्टै पूर्णता पाउने : मन्त्री महत
काठमाडौं : विनाविभागीय मन्त्री डा. रामशरण महतले पनि वर्तमान सरकाले चाँडै पूर्णता पाउने बताएका छन् । मन्त्री महतले एमालेसहितको पूर्णसरकार केही दिनमा नै बन्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनले बिहीवार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री डा. महतले गृहमन्त्रालय एमालेलाई दिने विषयमा भने कुनै सहमति नभएको दाबी गरे ।
‘सहमति भएको छैन, त्यही अडानमा नेपाली कांग्रेस छ,’ महतले भने, ‘एमालेको पनि सोही अडान छ, पार्टीले अडान लिन्छन् र पुनर्विचार पनि गर्छन् । त्यसैले एउटा टुंगोमा छिट्टै दलहरू पुग्छन् ।’ दुई दलबीचको वार्ता कमिटीका सदस्यसमेत रहेका मन्त्री डा. महतले कांग्रेस र एमालेबीच सात बुँदेबाहेक अन्य कुनै गोप्य सहमति नभएको पनि प्रष्ट पारे । उनले गृहमन्त्रालयको विषयलाई लिएर विवाद चर्काउनु अनावश्यक भएको तर्क पनि गरे ।
मन्त्री डा. महतले दलहरूले प्रतिबद्धता जनाएको अवधिमा नयाँ संविधान बन्ने दाबी गरे । उनले ६ महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गर्नका लागि सरकारले आवश्यक तयारी सुरु गरेको पनि बताए ।

प्रतिक्रिया