मौलिक उत्पादन परिचित गराउनु मेलाको उद्देश्य हो

interview copy‘नेपाली वस्तुहरूको प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने नाराका साथ ‘१२ औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र नविकरणीय ऊर्जा सप्ताह–२०७०’ बिहिबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको आयोजनामा सुरु भएको मेला एक हप्तासम्म सञ्चालन हुनेछ । मेलामा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत १ सय २५, नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट १ सय ७५, दिगो अभ्यास निर्माण परियोजनाका १५, महिला उद्यमीको तर्फबाट २५ र लघुउद्यमीका २५ स्टल रहेका छन् । प्रस्तुत छ यसै विषयमा केन्द्रित भएर नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष शोभा गुरुङसँग सौर्यले गरेको कुराकानी ।
मेलाको मुख्य उद्देश्य के रहेको छ ?
विभिन्न जिल्लाहरूमा रहेको उद्यमीहरूको उत्पादनलाई प्रदर्शन तथा वस्तुहरूको बजारीकरण गर्ने मेलाको उद्देश्य रहेको छ । त्यस्तै उपभोक्ताहरूलाई भावनात्मक र व्यवहारिक रूपले मौलिक उत्पादनसँग परिचित गराउने मेलाको मुख्य उद्देश्य रहेको छ । मेलाले घरेलु तथा साना उद्योगहरूको प्रबद्र्धन, सम्वद्र्धन र विकासमा उल्लेख्य योगदान पुग्ने हामीले अपेक्षा गरेका छौँ ।
मेलाको मुख्य आर्कषण के–के छन् ?
नेपालका विभिन्न जिल्लाहरूमा उत्पादन हुने सबै वस्तुहरू मेलामा रहेका छन् । स–साना उत्पादनदेखि अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएको वस्तुहरू मेलामा छन् । घरेलु तथा साना उद्योगहरूमा आधारित धातुका विभिन्न सामग्री, जडिबुटी जन्य वस्तुहरू, वन तथा कृषिमा आधारित वस्तुहरू, बाँसका सामानहरू, अचार, अर्गानिक उत्पादनहरू, सेरामिक्स तथा भाँडाकुँडाहरू, महिला उद्यमीले बनाएका विभिन्न घरायसी सामानहरू रहेका छन् । त्यस्तै सौर्य ऊर्जा, बायोग्यास, लद्यु तथा साना जलविद्युत, जैविक ऊर्जाहरू मुख्य आर्कषण हुन् । यसका साथै विभिन्न संघ/संस्था तथा बैंक तथा वित्तीय संस्थाहरूको पनि मेलामा सहभागिता रहेको छ ।
मेलामा उद्यमीहरूलाई के–कस्तो सुविधा दिइएको छ ?
हामीले बाहिरी जिल्लाबाट आएका उद्यमीहरूलाई नि:शुल्क स्टलको व्यवस्था गरेका छौँ । उद्यमीहरूले आफूले उत्पादन गरेको सामग्रीको बिक्री गर्नेसमेत व्यवस्था मिलाएका छौँ । यसरी मेलाहरूमा जिल्लाका व्यवसायीहरूलाई दिइएको सुविधा सम्भवत: पहिलो हुनसक्छ ।
मेलामा कति स्टल रहेका छन् ?
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत १ सय २५, नेपाल घरेलु तथा साना उद्योग महासंघको तर्फबाट १ सय ७५, दिगो अभ्यास निर्माण परियोजनाका १५, महिला उद्यमीको तर्फबाट २५ र लघुउद्यमीका २५ स्टल रहेका छन् ।
अन्त्यमा… ?
बिहिबारदेखि सुरु भएको ‘१२औँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र नविकरणीय ऊर्जा सप्ताह–२०७०’ सबै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूलाई मेला अवलोकन गर्नुहुन अनुरोध गर्दछु । त्यस्तै विभिन्न व्यवसायी, सरकारी निकायका व्यक्तिहरूलाई पनि देशैभरीका उद्यमीहरूले उत्पादन गरेका वस्तुहरू अवलोकल गरीदिनुहुन अनुरोध गर्दछु । सबै महानुभावहरूलाई नेपाली वस्तुको प्रयोग गरौँ भन्न चाहन्छु ।

प्रतिक्रिया