‘सरकारको नेतृत्त्व लिन एमाले तयार’

काठमाडौं, २२ माघ । संसदीय दलको नेतामा निर्वाचित भएकै भोलिपल्ट एमाले नेता केपी शर्मा ओलीले कांग्रेसले सरकारको नेतृत्व गर्न नसके आफू सरकारको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

प्रेस चौतारी नेपालले १६ औँ स्थापना दिवसको अवसरमा बुधबार राजधानीमा आयोजना गरेका कार्यक्रममा नेता ओलीले भने, ‘कांग्रेसले सकेनौँ भन्यो भने एमाले सरकारको नेतृत्त्व गर्न तयार छ,’ उनले भने । ‘हामी राम्रोसँग सरकार चलाएर देखाउँछौँ ।’ केही सिटको अन्तरले मात्र कांग्रेस एक नम्बर पार्टी भएको उनको तर्क थियो ।

नेता ओलीले कांग्रेसबाट उचित प्रस्ताव आएमा एमाले सरकारमा जान तयार रहेको पनि दोहोर्‍याए । तर, कांग्रेसले सरकार निर्माणका लागि प्रस्ताव ल्याउन ढिलाइ गरेको उनको आरोप थियो । आफ्नो दल कांग्रेसको उपयुक्त प्रस्तावको पर्खाइमा रहेको पनि उनले बताए । एमालेलाई बाइपास गरेर कांग्रेसले एमाओवादीसहितका अन्य शक्तिसँग सरकार बनाए एमाले प्रतिपक्षमा बस्ने उनको चेतावनी थियो ।
एमाओवादीसहितको शक्तिसँग मिलेर कृत्रिम ढंगले कांग्रेसले सरकार बनाए त्यसले देशलाई संकटतर्फ लैजाने उनको तर्क थियो ।

ओलीले राष्ट्रपति र उपराष्टराष्ट्रपतिको निर्वाचन राजनैतिक, संवैधानिक र नैतिक हिसाबले गर्नु जरुरी रहेको दाबी गरे । संवैधानिक प्रावधानलाई कुल्चेर कांग्रेसले राष्ट्रपति, उपराष्टराष्ट्रपतिलगायतको निर्वाचनलाई अपव्याख्या गरेको भन्दै ओलीले त्यो लोकतन्त्रविपरीत भएको तर्क गरे । पहिलो संविधानसभा संविधान नै नबनाई विघटन भएपछि त्यसको आधारमा चुनिएका राष्ट्रपति, उपराष्टपतिलगायतको कार्यकाल पनि स्वत: सकिने उनको जिकिर थियो । वर्तमान राष्ट्रपतिले राम्रो काम गरेका छन् भन्दैमा संविधान नबनेसम्म राख्ने प्रस्ताव कुनै हालतमा स्वीकार्य नहुने उनको तर्क थियो ।

कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पनि राष्ट्रपति, उपराष्टपतिलगायतको निर्वाचन हुनुपर्ने धारणा राखे । उनले निर्धारित समयमा लोकतान्त्रिक संविधान जारी गर्न कांग्रेस–एमालेको संयुक्त सरकार बन्नु पर्नेमा पनि जोड दिए । दुई दलबीच एजेन्डा मिल्ने उनको तर्क थियो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल, प्रेस युनियनका अध्यक्ष किरण पोख्रेल, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा हरेकवर्ष प्रदान गरिँदै आएको विभिन्न विधाको पुरस्कारको पनि घोषणा गरेको थियो । प्रेस चौतारी नेपालले हरेकवर्ष प्रदान गर्दै आएको हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार पोखराका माधव शर्मा, अग्निशिखा स्मृति पत्रकारिता पुरस्कार मोरङका यज्ञ शर्मा तथा वीरेन्द्र शाह स्मृति युवा क्रियाशील पत्रकारिता पुरस्कारका लागि सोलुकी सुजता तामाङ छनोट भएका छन् । साथै यस वर्षबाट स्थापना भएको डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार दैलेखका विष्णु शर्मालाई प्रदान गरिने भएको छ ।

प्रतिक्रिया