अस्पतालले फेरि ज्यान लियो

11
काठमाडौं, १७ माघ । ओम अस्पतालका चिकित्सकको लापरवाहीले विरामीको ज्यान गएको भन्दै आफन्त विरोध प्रर्दशनमा उत्रे । उनीहरूले लापरवाही गर्ने डाक्टरलाई कारवाहीको मागसमेत गरेका थिए । बिहीबार राति सुत्केरी महिलाको मृत्यु भएपछि राजधानीको ओम अस्पतालमा तनाव भएको हो ।
ताप्लेजुङ सिनाम गाविसकी २८ वर्षीया शोभा थेबे लिम्बूको प्रसूति गराउने क्रममा मृत्यु भएको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई चार दिनअगाडि ओममा भर्ना गरिएको थियो । शल्यक्रियामार्फत प्रसूति गराइएकी लिम्बूको मृत्यु भए पनि उनको बच्चा बाँच्न सफल भएका छन् । चिकित्सकले लापरबाही गर्दा सुत्केरीले ज्यान गुमाउनु परेको दाबी पीडित पक्षको छ । उनीहरूले क्षतिपूति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग पनि गरे । यता अस्पतालले भने चिकित्सकको लापरवाहीले विरामीको मृत्यु नभएको दाबी गरेको छ ।
अस्पतालले पीडितको गुनासा सुन्न र समस्या सामधान गर्न तयार रहेको बताउँदै उनीहरूसँग छलफल गरेको थियो । पीडित पक्षसँग भएको छलफलपछि गल्ती स्वीकार गर्दै अस्पतालले बाँच्न सफल शिशुको १० लाखको जीवन बिमा गरिदिने, नि:शुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउने र शल्यक्रिया कक्षको नाम मृतक शोभा थेवेको नाममा राख्ने सहमति भएको थियो । यसअघि अस्पतालका अध्यक्ष डा. भोला रिजालले रक्तनलीमा रगत जमेको र उपचारको क्रममा मृत्यु भएको भन्दै दु:ख व्यक्त गरेका थिए ।
तर, मृतकका आफन्तका अनुसार नियमित रूपमा लिम्बूको स्वास्थ्य परीक्षण डा. भोला रिजाल र डा. सुफात्रा कोइरालाले गर्ने गरेका थिए । अस्पतालले शल्यक्रियाजस्तो संवेदनशील काममा सिकारु चिकित्सकको प्रयोग गरेको आरोपसमेत पीडित पक्षले लगाएका छन् । मृतक लिम्बूका आफन्तले धर्ना र विरोध सुरु गरेपछि अस्पताल परिसरमा खटिएका सुरक्षाकर्मीले लाठी चार्जसमेत गरेका थिए । मृतकका आफन्तले अस्पतालको मुल गेटमा ताला लगाउने प्रयास गरेका थिए । मृतक लिम्बूका आफन्तले पीडितलाई राहत दिलाउनका लागि भनेर पीडित राहत संघर्ष समितिसमेत गठन गरेका थिए । मृतक लिम्बूका २ वर्षीया छोरी छन् ।

प्रतिक्रिया