एमालेले २१ गते दलको नेता छान्ने

काठमाडौं । बिहीबार बसेको नेकपा एमाले स्थायी समितिको बैठकले २० माघमा केन्द्रीय कमिटीको बैठक गर्ने निर्णय गर्दै सो बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरेको छ ।
केन्द्रीय कमिटीको बैठकमा संसदीय दलको नेता चयन र महाधिवेशनको तयारी सहित दुई वटा एजेण्डा प्रस्तुत गर्ने निर्णय स्थायी समितिले गरेको छ ।
स्रोतका अनुसार बिहीबारको स्थायी समिति बैठकमा संसदीय दलको नेता चयन गर्ने विषयमा कुनै छलफल नै भएन । २० माघमा हुने केन्द्रीय कमिटीको बैठकले संसदीय दलको नेताको विषयमा टुंगो लगाउने बताइएको छ । १९ माघमा संसदीय दलको बैठक बस्ने र सो बैठकमा पार्टीका शीर्ष नेताहरूले सभासद्हरूलाई ओरियन्टेसन दिने नेकपा एमाले स्रोतले जनाएको छ । ओरियन्टेशनको व्यवस्थापन गर्ने जिम्मा संसदीय विभागका प्रमुख पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएको छ । २१ माघमा संसदीय दलको बैठक बस्ने र सो बैठकले दलको नेता चयन गर्नेछ ।
एमालेको इतिहासमा संसदीय दलमा चुनाव भएको र पार्टी प्रमुखबाहेक अन्य व्यक्ति दलको नेता चुनिएको छैन । ०४८ र ०५१ सालमा मनमोहन अधिकारी, ०५६ सालमा माधवकुमार नेपाल र ०६४ सालमा झलनाथ खनाल संसदीय दलका नेता बनेका थिए ।
नेकपा एमालेको परम्पराअनुसार अध्यक्ष खनाल नै संसदीय दलको नेता बन्नेछन् । बिहीबारकै स्थायी समितिको बैठकले सरकार गठनको सन्दर्भमा नेपाली कांग्रेससहितका दलहरूसाग वार्ता गर्ने जिम्मा उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेललाई दिएको छ ।
ओलीले बोलेकै छैनन्
नेकपा एमालेमा संसदीय दलको नेता चयन गर्ने विषयमा विभिन्न टिका–टप्पणीहरू बाहिर आइरहेका बेला पार्टी स्रोतले भने त्यस्तो कुनै पनि विवाद नरहेको दाबी गरेको छ ।
स्रोतका अनुसार दलको नेतामा चुनाव लड्ने भनेर प्रचार गरिएका नेता केपी ओलीले अहिलेसम्म पार्टीको कुनै पनि औपचारिक बैठकमा आफू संसदीय दलको नेता हुनु पर्ने इच्छा व्यक्त गरेका छैनन् ।
एमालेका एक शीर्ष नेताले पार्टीको कुनै पनि औपचारिक फोरममा ओलीले संसदीय दलको नेता बन्ने इच्छा व्यक्त नगरेको र ओलीको नाममा हल्ला मात्र चलाइएको दाबी गरे । उनले यो पटकको संविधानसभाको निर्वाचनमा अध्यक्ष खनालको नेतृत्वकै कारण पार्टीले सफलता प्राप्त गरेकाले उनको विरुद्धमा अरु कसैले दलको नेता बन्छु भन्नु हास्यास्पद भएको तर्क गरे ।

प्रतिक्रिया