काठमाडौं, एकीकृत नेकपा माओवादी र मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबीच एकीकरणको बहस औपचारिक रूपमै शुरु भएको छ । एनेकपा माओवादीले हेटौंडा महाधिवेशनबाटै एकीकरणको बहस थालेर वैद्यसमक्ष प्रस्ताव नै राखेको थियो । तर, वैद्य समूहले एमाओवादीको सो प्रस्तावलाई अस्वीकार गर्दै आएको थियो ।
नेकपा–माओवादीको बिहीबारबाट सुरु भएको पोलिटब्युरो बैठकमा दुई दलको एकीकरण एजेन्डा नै बनेको छ । यसअघि दुवै दलका केही नेताले अनौपचारिक रूपमा एकीकरण हुनु पर्ने प्रस्ताव अगाडि सार्दै आएका थिए । नेकपा–माओवादी प्रवक्ता पम्फा भुषालले एकीकरणको विषय एजेण्डा बनेको र सो विषयमा पार्टीमा छलफल हुने जानकारी दिइन् । एमाओवादीले बोकेको शान्ति प्रक्रियाको कार्यदिशामा विमति राख्दै मोहन वैद्य नेतृत्वमा नेकपा–माओवादी गठन भएको थियो । वैद्य नेतृत्वको नेकपा माओवादीले ‘जनयुद्धको जगमा जनविद्रोह’ लाई नै कार्यदिशा बनाएको थियो ।
बुधवार मात्रै एक सार्वजनिक कार्यक्रममा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई पार्टी मिलेपछि मात्र क्रान्ति सफल हुने भन्दै वैद्यलाई एकीकरणका लागि आग्रह गरेका थिए । जवाफमा वैद्यले एमाओवादीका सिद्धान्त र कार्यदिशा त्रुटीपूर्ण भएको भन्दै सच्याएर अघि बढे आफू मिल्न तयार भएको जवाफ दिएका थिए । बुधबारै दाहालले केन्द्रीय समिति बैठकमा फुटका कारण पार्टी हारेको भन्दै एकीकरण हुनुपर्ने बताका थिए । संविधानसभा निर्वाचनमा पार्टी तेश्रो स्थानमा झरेपछि अध्यक्ष दाहालले हारको एउटा मुख्य कारण पार्टी विभाजन भएको भन्दै मिलेर अघि बढ्नु पर्ने धारणा राख्दै आएका छन् ।
प्रतिक्रिया