चिल्ला कार चढेर चिल्ला कुरा गर्ने होसियार

एकसय रुपियाँ ऋण दिने र असुल गर्दा तीनवटा सुन्ना थपेर असुल गर्नेलाई ठगीको बिम्व मानिन्छ । शिक्षाको अभावमा यसरी ठगिनेहरू कुनै समयमा धेरै थिए । शिक्षाका अभाव भनिए पनि यस खालको ठगीको कारण प्रशासनिक र राजनीतिक शक्तिको लापरवाही र बदनीयतका कारण मात्र सम्भव थियो । यसरी ठग्ने र लुट्नेको पहुँच राज्यका निकायसँग हुन्थ्यो नै । यसकारण सबै खालको लुटको केन्द्र तत्कालीन समयमा नारायणहिटी दरबार नै थियो ।

कालान्तरमा नारायणहिटी कमजोर बन्यो । विराटनगर र बूढानीलकण्ठजस्ता थुप्रै ठाउँमा नयाँ दरबारीयाहरू भेला हुन थाले । त्यहाँका दरबारहरूमा शक्ति केन्द्रित हुन थाल्यो । त्यसैको प्रभाव हो, नयाँ बानेश्वरमा कानुनी बैधता प्रदान गरेर लुट्नका लागि प्रमाणपत्र दिने केन्द्र बन्यो । त्यो केन्द्र सरेर टेकु हुँदै सानेपा पुगेको छ ।
नारायणहिटीबाट पाएको लुटको प्रमाणपत्र कमजोर हुने र सानेपामा पालो कुर्नु पर्ने महसुस भएपछि कानुनी बैधतासहितको लुटको प्रमाणपत्रका लागि बल्खुसम्म धाउनेको पनि ताँती लाग्यो । यिनीहरू पनि कुनै बिहान बालकोट दरबार र कुनै बिहान डल्लु दरबारमा दर्शनका लागि आतुर नै हुन्छन् । ०६३ पछि कोटेश्वर हुँदै यसखाले बैधानिक लुटको प्रमाणपत्र अन्यत्र पनि पाउन थालियो । यसरी भिन्न दरबारको आरक्षणमा बैधानिकता पूरा गर्ने भ्रष्टहरू चिल्ला कारमा चढेर चिल्ला कुरा गर्ने र नेपालको खेलकुद परिसरलाई लुटेर खाने अखडा बनाउन तल्लीन भए ।
‘बुर्जुवा’ शब्दको अर्थ हो, अनुदार । यसको मतलब काम नगरी खाने । श्रम नगरी कुनै पनि ढंगले अरुलाई शोषण गरेर जीवनयापन गर्न पुग्नेहरू नै महान हुन् भन्ने सोच बुर्जुवावादीहरूको हो । श्रमजीवीको नजरमा यिनीहरू शोषक र सामन्ती भए । खेलकर्मीको नजरमा शारीरिक श्रम र अभ्यास नगर्ने पाटे अल्छी र लम्पट । यिनीहरू धनी होलान् तर, अर्थशास्त्रीय दृष्टकोणमा श्रम नगर्ने र समाजलाई गरिबीमा धकेल्ने गरिबीका कारक पनि यिनै हुन् । यही श्रम गर्ने र श्रमको शोषण गर्ने बीचको खाडलमा नेपाली खेलकुदले ६ दशक बितायो ।
लुटिने र यिनका सन्तान बिहानै ट्रयाकमा, रिङमा, एरेनामा, गेमबोर्डमा र कभर्डहलमा व्यस्त हुन्छन् । लुट्ने र यिनका सन्तानहरू बिहानै भिन्न दरबार धाउँछन् र, तीनै दरबारको आडमा हैकम चलाउँछन् । अझ कोही त सानेपाबाट यसखाले प्रमाणपत्र लिएर बल्खु र कोटेश्वरका प्रमाणपात्रधारीसँग सम्झौता गर्ने पनि छन् ।
नेपालको प्राय: सबै खेलमा यस्तै नियति छ । यसै नियतिका बीच एथलेटिक्स संघको निर्वाचन हुँदै छ । यी माझमा धनबीर चौधरीको पनि नेतृत्व गर्ने चर्चा चलेको छ । धनबीरको उम्मेदवारीको सम्बन्धमा केही कुरा उल्लेख गर्नैपर्ने हुन्छ । उल्लेखित लुटेर खाने संस्कारले खेलकुदमाथिको पहिलो आक्रमण यसको अपव्याख्याबाट सुरु गरे । शक्तिको दुवै स्रोत कला र विज्ञानको प्रतिफल हो, खेलकुद । प्रकृतिले मानिसलाई कलासहित जन्म दिन्छ । ‘गड गिफ्टेड’ को अर्थ पनि यही हो । प्रशिक्षकले विज्ञान सिकाउँछ, व्यक्ति आफैँले अभ्यास गर्छ । त्यसपछि उ स्टार बन्छ । प्राविधिक विज्ञहरूले स्किलफुल र मिहेनती व्यक्ति स्टारका रूपमा स्थापित होस् भन्ने ध्ययले ‘रेगुलेसन’ बनाउन जीवन बिताउँछन् । तर, सामन्ती जगमा अडिएको नेपाली समाजले खेलकुदलाई मनोरन्जनको माध्यमको रूपमा मात्र व्याख्या गर्‍यो । राज्यका तीनवटै अंग र चौँथो अंगका रूपमा चिनिने सञ्चार क्षेत्रले पनि यसै सामन्ती व्याख्यालाई प्राथमिकता दियो ।
यो सिन्डिकेटले खेलकुद र साँचो खेलकर्मीलाई सधैँ थिचोमिचो गर्‍यो । यो स्तम्भकारले ज्यादै सम्मान गर्ने एकजना एथलेटिक्स प्रशिक्षक छन् । जोसँगको हरेकभेटमा केही नयाँ कुरा सिक्ने र जान्ने प्रयास यो स्तम्भकारले गर्ने गरेको छ । एकपटक राष्ट्रिय खेलकुद परिषद्को प्राविधिक प्रशिक्षण कार्यक्रममा ती प्रशिक्षकले पढाउँदै जाँदा विद्यार्थी प्रभावित त भए । तर, एकजना उनकै विद्यार्थीले सोधेको प्रश्नको जवाफ उनीसँग थिएन । विद्यार्थीले साधेका थिए, ‘गुरु तपाईंलाई यत्ति धेरै थाहा छ तर, त्यसअनुसारको परिणाम किन नआएको ?’ यो गम्भीर प्रश्नको जवाफ अब खोज्नै पर्ने समय भएको छ । अबको प्रसंग त्यो प्रश्नको जवाफको विषयमा ।
जमैकाका एथलेटिक्स संघका अध्यक्षको व्यक्तित्व युसेन बोल्टको नजरमा फिक्का रह्यो । बोल्टले बेइजिङ ओलम्पिकको सफलतापछि दुई औँला डठ्याएर अभिवादन गरे । पछि बोल्टले त्यो औँलाको व्याख्या गरे । ‘तिमीहरूले हाम्रा पुर्खामाथि दुई सय वर्ष लादेको दास प्रथाको जवाफ मैले दिएँ ।’ अमेरिकामा अब्राहम लिंकन र मार्टिन लुुथर किंगले रंगभेदविरोधी आन्दोलनको अगुवाइ गरे । २०औँ शताब्दीको अन्त्यतिर कार्ल लुइसले आफ्नो खेलमा सनसनी फैलाउँदै यसलाई माथिल्लो उचाइँमा पुर्‍याए । उनको पुस्तक ‘सुपेरियटी अफ ब्ल्याक एथलेट’ र उनको बायोग्राफीले लिंकन र किंगको अभियानलाई सार्थकता दिलायो । २१औँ शताब्दीमा सान्या रिचर्डस् र एलिसन फेलिक्सले भेदभावरहित अमेरिकी समाजको अभियानलाई अझ माथिल्लो उचाइँमा पुर्‍याए ।
नेपालमा अधिकांश संघका निर्वाचनमा पैसावालको चर्चा चल्छ । एकपटक टेबल टेनिस संघको निर्वाचन हुँदा अर्कै खेलका जिल्ला अध्यक्ष तथा पूर्वखेलाडीले भनेको कुराले उदेक तुल्याएको थियो । उनी भन्दै थिए, ‘संघको अध्यक्ष हुन त पैसा भएकै मान्छे चाहिन्छ ।’ उनीजस्तालाई यत्ति मात्र भन्न सकिन्छ, संघ पैसाले होइन, समर्पण र समर्पणसहितको योजनाले चल्ने हो । उनी जस्तालाई भन्नै पर्ने अर्को कुरा पनि छ, ‘पैसावाल हुनु आफैँमा अपराध नहोला । तर, पैसावाल सबभन्दा योग्य हुन्छ र पैसा नहुने अयोग्य हुन् भन्ने मानसिकता चाहिँ आपराधिक मानसिकता नै हो ।’
नेपालमा जब कुनै संघको निर्वाचन नजिकिन्छ, यस्ता मानसिकता भएकाहरू एकजुट हुन्छन् । यिनीहरूको वर्गीय स्वार्थले काम गर्छ । यिनीहरूको ‘अन्कन्सियस माइन्ड’ले भन्छ, ‘खेलकुदको एरेनामा हुने पैसा नभएकाहरू हुन् । तिनीहरूको व्यक्तित्व होचो हो । सधैँ होचो रहनुपर्छ । राम्रो नीति र कार्यक्रम बनेमा हामीले हेपेका र होच्याएकाहरू स्टार हुन्छन् र हामीले कसरी सहनू ?’ उनीहरूको यो मानसिकताले राम्रो प्रशिक्षणको वातावरण दिँदैन । प्रतिकूल वातावरणका माझ कुनै प्रशिक्षकले धेरै मिहेनत गरेर राम्रो प्रशिक्षण दिएमा स्टार जन्मने र आफूलाई नटेर्ने कुराले अत्तालिन्छन् र पुरस्कार होइन, दण्ड बर्साउन आतुर हुन्छन् ।
एथलेटिक्स प्रशिक्षक र खेलाडीलाई केही कुरा भन्नै पर्ने हुन्छ । ‘रंगशालाको ट्रयाकको कुनै पनि ठाउँमा उभिँदा तपाईंहरूको पसिनाकै गन्ध आउँछ । त्यसमा धनबीर चौधरीको पसिना पनि छ । त्यो पसिनाको माया उनलाई पक्कै छ ।’ धनबीर नामअनुसारका धनी नहोलान् । तर, बीर छन् । जो आफूमा केही नभएको र उल्लेखित कुनै दरबारको नाममा बैधानिकता पूरा गरेर लुटेर खान पल्केकासँग झुक्दैनन् । त्यो दरबारको झन्डा होइन, आइएएएफकै झन्डालाई माया गर्छन् । पैसा नहुनेहरू सबै निकम्मा हुन् भन्ने सोच्दैनन् । देशको नाममा विदेश गएर भाग्ने र फेरि नेपालमा फर्केर राज गर्न खोज्दैनन् । कोठामा बसेर संघ चलाउँदैनन् । श्रीमतीलाई ओलम्पिक पठाउन नसकेको कारण आफ्नो अपमान भन्दै विज्ञप्ति निकालेर जग हँसाउदैनन् ।
एथलेटिक्स प्रशिक्षकमा केही मनमुटाव पक्कै छ । यसको भिन्न कारण होला । तर, मुल कारण ठगेर खान पल्केकाहरूले चिल्ला कार चढेर गरिने चिल्ला कुराको प्रभावमा पर्नु र उनीहरूको स्वार्थ अनुकूल चल्नु नै हो । अब ती सबै कुरा छाड्ने पालो आएको हो कि † तपाईंहरूले भनेजस्तै ‘तपाईंहरूले जानेको एउटै काम र तपाईंहरूले बिताएको एउटै ठाउँमा आफ्नो स्वामित्व खोज्ने बेला आएको हो कि । यसको प्रतिनिधि पात्र धनबीर हुन् । सके उनकै नेतृत्वमा एथलेटिक्स चलोस् । सकिँदैन भने सबै एथलेटिक्सकर्मी एकजुट भएर धनबीर समूहको हात माथि पर्नेगरी मात्र अल्पकालीन सम्झौता गर्ने
हो कि ।

प्रतिक्रिया