काठमाडौं । एकीकृत नेकपा माओवादीले अब बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।
संविधानसभाको दोस्रो निर्वाचनपछि तेस्रो दलमा सीमित हुन पुगेको एमाओवादीमा संगठनमा ध्यान दिन नेता कार्यकर्ताबाट तिब्र दबाब आएपछि सरकारमा सहभागी नहुने निर्णय सो पार्टीले गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा मंगलबार बसेको केन्द्रीय कार्यालयको बैठकले विपक्षमा बस्ने निर्णय गरेको छ । सो बैठकले आगामी सरकार नेपाली कांग्रेस र एमालेले मिलेर बनाउन आग्रहसमेत गरेको छ । निर्वाचनको बेला जनतासामु गरेको प्रतिबद्धताअनुसार संविधान निर्माणमा प्रतिबद्ध भएर लाग्ने निष्कर्षसमेत बैठकले निकालेको छ । कार्यालयले सरकारमा नजाने निर्णय गरे पनि केन्द्रीय समितिले सो निर्णय अनुमोदन गर्न भने बाँकी छ ।
बैठकपछि एमाओवादी नेता पोष्ट बहादुर बोगटीले आफूहरू प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने भन्दै कांग्रेस एमालेले सरकार निर्माण गरे हुने बताए । ‘सरकार हाम्रो प्राथमिकताको विषय होइन,’ नेता बोगटीले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए हुन्छ ।’
अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, अर्का नेता नारायणकाजी श्रेष्ठ र बोगटी सदस्य रहेको एमाओवादी कार्यालय बैठकमा संसदीय दलको नेता चयनका विषयमा पनि छलफल भएको छ ।
व्यवस्थापिका–संसद्को बैठक सुरु भइसकेकाले संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक छनोट गर्ने विषयमा शीर्ष चार नेताबीच छलफल भएको हो । यता, दुई सातादेखिको केन्द्रीय समिति बैठक अझै पनि जारी छ । मंगलबार बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले पार्टी नेतृत्वको आचरणलगायत विषयमा कुरा उठाएका छन् ।
प्रतिक्रिया