काठमाडौं । नयाँ सरकार गठन गर्ने विषयमा नेपाली कांग्रेसले ठोस प्रस्ताव ल्याए राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विकल्प खोज्न तयार हुने संकेत एमालेले गरेको छ । सरकार गठनका लागि सहयोगको प्रस्तावसहित सोमबार कांग्रेसले गरेको औपचारिक छलफलमा एमालेले यस्तो संकेत गरेको हो । कांग्रेस सभापति तथा संसदीय दलका नेता सुशील कोइरालासहितको टोलीसँग एमालेका शीर्ष नेताहरूले राजधानीमा गरेको छलफलमा सहकार्य र सहमतिका साथ सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको थियो ।
दुई दलबीच राजनीतिक स्थायित्त्व कायम गर्ने विषयमा समेत छलफल भएको एमाले नेता भीम रावलले जानकारी दिए । ‘राष्ट्रपति, उपराष्ट्रपति, संविधानसभा अध्यक्षलगायत निर्वाचन, सहकार्य र सहमतिको राजनीतिलाई अघि बढाउनेबारेमा छलफल सकारात्मक भयो,’ रावलले भने, ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा बैकल्पिक उपाय खोजेर भए पनि त्यसको समाधान गर्ने बारेमा पनि छलफल भयो ।’ सरकार सञ्चालनको ठोस प्रस्ताव ल्याएमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका सम्बन्धमा एमाले लचिलो हुने जानकारी कांग्रेस नेतृत्त्वलाई गराएको पनि रावलले जानकारी दिए । ‘हामीबीच थुप्रै कुरामा सैद्धान्तिक सहमति भएको छ,’ रावलले भने, ‘आगामी दिनमा यसलाई कार्यान्वयन तहमा लैजाने गरी छलफल हुन्छ ।’ उनले कांग्रेसको प्रस्तावप्रति आफ्नो दल सकारात्मक रहेको पनि बताए ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले पनि कांग्रेस नेतृत्त्वको सरकारलाई सहयोग गर्न एमाले सकारात्मक रहेको जानकारी दिए । सोमबारको व्यवस्थापिका संसद्को बैठकलगत्तै दुई दलका नेताबीच छलफल भएको थियो । छलफलमा ६ महिनाभित्र स्थानीय निकायको निर्वाचन र एक वर्षभित्र संविधान जारी गर्नेगरी अघि बढ्ने विषयमा समेत छलफल भएको नेताहरूले जानकारी दिए ।
आइतबार राष्ट्रपति डा. रामवरण यादवले दलहरूलाई एक साताभित्र सहमतीय सरकार गठनका लागि आह्वान गरेलगत्तै संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार गठनको पहललाई तीव्रता दिएको हो । राष्ट्रपति डा. यादवले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई १९ माघसम्ममा सहमतीय सरकार गठन गरिसक्न आह्वान गरेका छन् । आइतबार मात्रै सभापति कोइराला नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । दलको नेता चुनिएलगत्तै कोइरालाले सरकार गठनका लागि वार्ता र छलफल सुरु गरेका छन् ।
एमाले स्थायी समिति बैठक मंगलबार
नेकपा एमालेले संसदीय दलको नेता छनोटलगायतका विषयमा छलफल गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ । नेता छनोटमा सहमति नभए निर्वाचनको प्रक्रियाबाटै भए पनि दलको नेता छान्ने तयारी एमालेले गरेको छ । विगतमा पार्टी महासचिव वा अध्यक्ष नै सर्वसम्मत संसदीय दलको नेता बन्ने परम्परा थियो । यसपटक भने दलको नेता बन्ने आकांक्षी धेरै भएकाले छनोट प्रक्रियामा एमालेभित्र विवाद छ । संसदीय दलको नेता चयनलगाएत विषयलाई समेत एमालेका शीर्ष नेताहरूले आगामी नवौँ महाधिवेशनको समीकरणसँग जोडेर लबिङ सुरु गरेपछि यसअघि बस्ने भनिएको स्थायी र केन्द्रीय कमिटीको बैठक पटक–पटक प्रभावित भइसकेको छ ।
प्रतिक्रिया