कोइरालालाई प्रधानमन्त्री बन्न बाटो खुल्यो

काठमाडौं । सभापति सुशील कोइराला नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका छन् । चुनाव जितेसँगै उनलाई प्रधानमन्त्री बन्ने बाटो पनि खुलेको छ । पटक–पटक सहमति गर्ने प्रयास असफल भएपछि अन्तत: निर्वाचनबाटै कांग्रेसले संसदीय दलको नेता छान्नु परेको हो ।
आइतबार भएको निर्वाचनमा सभापति कोइरालाले १ सय ५ मत प्राप्त गरे । वरिष्ठ नेता शेरबहादुर देउवालाई १६ मतअन्तरले पराजित गर्दै सभापति कोइराला संसदीय दलको नेता बनेका हुन् । १ सय ९४ मतदाता रहेको संसदीय दलको निर्वाचनमा देउवाले ८९ मत प्राप्त गरे ।
उपसभापति रामचन्द्र पौडेललाई कोइरालाले कार्यवाहक सभापति बनाउने मौखिक सहमति गरेपछि पौडेलले संसदीय दलमा आफ्नो दाबी छाडेका थिए । उनले अन्तिममा सभापति कोइरालालाई नै समर्थन गरेका थिए । आइतबार विहान मतदान प्रक्रियामा केहीबेर विवाद उत्पन्न भएपछि दोस्रो पटक पुन मतदान भएको थियो ।
पहिलो चरणमा खसेको १६ मत बदर गरिएको थियो । विद्युतीय मेसिनबाट भएको मतदानमा १७ सभासद्ले मतदान गर्दा १६ मत मात्र देखिएपछि विवाद सुरु भएको थियो । १७ औं नम्बरमा सभासद् रामचन्द्र चौधरीले मतदान गरेका थिए । तर, मेसिनले १६ भोट मात्र देखाएपछि निर्वाचन समितिका सदस्यबीच विवाद हुँदा मतदान प्रक्रिया स्थगित भएको थियो । कोइराला र देउवासहितको सहभागितामा भएको छलफलले पहिलो चरणमा खसेका मत बदर गरेर पुन: मतदान गर्ने निर्णय भएको थियो ।
कोइरालाले भने सबैको जीत
संसदीय दलको नेतामा विजयी भएपछि कांग्रेस सभापति कोइरालाले आफ्नो जीत समग्र कांग्रेस पार्टीकै जीत भएको बताएका छन् । उनले भने, ‘यो कांग्रेसको जीत हो, र पार्टीका सबै साथीको जीत हो । साथीहरुको सहयोबिना यो सम्भव थिएन ।’
संसदीय दलको नेता चयन लोकतान्त्रिक विधिबाट हुनु राम्रो हो भन्दै सो निर्वाचनले पार्टी झन् एक ढिक्का र सबल भएको दाबी पनि उनले गरे । उनले भने, ‘पार्टी सबै साथीको सहयोगमा अगाडि बढाउने हो । साथीहरुको सहयोगबिना पार्टी अघि बढ्न सक्दैन ।’ कांग्रेसको १२ औं महाधिवेशनमा पनि देउवा सभापति कोइरालासँग सभापति पदमा पराजित भएका थिए ।

प्रतिक्रिया