नक्कली भारतीय नोटसहित अन्सारी फेरि प्रक्राउ

काठमाडौं, ११ माघ । नक्कली भारु कारोबार गरेको अभियोगमा प्रक्राउ परी जेल सजाय काटेर छुटेका युनुस अन्सारी फेरि पक्राउ परेका छन् । उनलाई ३५ लाख नक्कली भारतीय रुपियाँसहित प्रहरीले शनिबार प्रक्राउ गरेको छ । प्रहरीको विशेष ब्युरोले शनिबार दिउँसो ललितपुुरको नख्खुस्थित उनकै निवासबाट अन्सारीलाई प्रक्राउ गरेको हो । अन्सारीलाई पक्राउ गर्नुअघि पाकिस्तानी नागरिक मसुद आलम नेपाली नागरिक दिनेश आले र अन्सारीका आफन्त पर्ने सोयल खानलाई पनि प्रहरीले ठमेलको होटल पोतलाबाट ३५ लाख नक्कली भारतीय रुपियाँसहित प्रक्राउ गरेको थियो ।
आलम, आले र खानले अन्सारीकै निर्देशनमा नक्कली भारुको कारोबार गरेको बताएपछि अन्सारीलाई उनकै निवासबाट प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्सारीले यसअघि नक्कली भारु कारोबार गरेको अभियोगमा प्रक्राउ परी जेल सजाय भोगिसकेका छन् ।
प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अन्सारीलाई नक्कली भारुसहित प्रक्राउ गरिएको जानकारी दिँदै उनीमाथि मुलुकी ऐनको खोटा चलन ऐनअन्तर्गत कारवाही अघि बढाइने जानकारी दिए । पटक–पटक नक्कली भारतीय जाली नोटको कारोबारमा संलग्न रहँदै आएको अन्सारीलाई उनकै निवासबाट प्रक्राउ गरिएको केसीको दाबी छ ।
स्रोतका अनुसार ठमेलको होटल पोतलामा प्रक्राउ परेका खान, आले र आलमले अन्सारीको निर्देशनमा काम गरेको बताएका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुबोध घिमिरेले अनुसन्धान जारी रहेको बताए । घिमिरेले थप अनुसन्धानपछि आइतबार मात्र केही भन्न मिल्ने जानकारी दिए । ‘हामीले जाली नोटसहित प्रक्राउ परेका अन्सारीमाथि अनुसन्धान गरिरहेका छौँ, यसबारेमा आइतबार मात्र हामी केही भन्न सक्छौँ ।’ एसएसपी घिमिरेले सौर्यसँग भने ।
यसअघि अन्सारी तीन महिनाअघि मात्र सजाय भुक्तान गरी केन्द्रीय कारागारबाट रिहा भएका थिए । उनलाई प्रहरीले ०६५ पुसमा जाली भारतीय नोटसहित प्रक्राउ गरेको थियो । उनलाई ललितपुरको होटल ब्लुबर्डमा नक्कली नोट फेला परेपछि यसअघि गिरफ्तार गरिएको थियो । अन्सारीमाथि लागुऔषध कारोबारमा संलग्न भएकोसमेत आरोप लागेको थियो ।
सञ्चारउद्यमी अन्सारीको गिरफ्तारीपछि ०६६ माघमा लाजिम्पाटमा अर्का सञ्चारउद्यमी जमिम शाहको हत्या भएको थियो । सो हत्याको अनुसन्धानको क्रममा भारतीय अपराधि युनुस अन्सारीको हत्या योजनासहित नेपाल आएको तर उनी प्रहरी हिरासतमा रहेकाले जमिमको हत्या गरेको प्रहरीले अनुसन्धानमा खुलेको थियो । अन्सारीको केन्द्रिय कारागारभित्रै हत्या प्रयास समेत भएको थियो ।
२०६६ सालको २६ फागुनमा भारतीय सुटर विजय भनिने मनमीत सिंह भाटियाले कारागारको बन्दी भेटघाट कक्षमा पुगेर युनुसलाई गोली हानेका थिए । उनि हाल डिल्लीबजार हिरासतमा रहेका छन् । अन्सारीमाथी गोली प्रहार भएपछि छानबिनका लागि प्रहरीले तत्कालिन एआईजी रवीन्द्रप्रताप शाहको नेतृत्वमा समिती बनाएको थियो । शाहको टोलीले अन्सारीमाथीको गोली प्रहारमा विदेशी शक्तिको हात रहेको प्रतिवेदन वुझाएको थियो ।
पुर्वमन्त्री सलीमिया अन्सारीका छोरा युनुश यसअघि नेशनल टेलिभिजनका संचालक समेत थिए । उनकी बहिनी उषकिरण अन्सारी हाल एकिकृत माओवादीतर्फबाट समानुपातिक सभासद रहेकी छिन् ।

प्रतिक्रिया