काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सूर्यबहादुर थापा कुनै एक समय संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी थिए । तर, संयोग नै भन्नु पर्छ, थापालाई संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने उद्देश्यका साथ बनेको दोस्रो संविधानसभाको अध्यक्षता गर्ने अवसर प्राप्त भयो । तत्कालीन पञ्चायती व्यवस्थामा लामो समय सत्ताको वागडोर सम्हालेका थापाले ०४६ सालको जनआन्दोलनपछि पनि मुलुकमा प्रधानमन्त्री बन्ने अवसर प्राप्त गरे । अहिले थापाले संविधानसभाको अध्यक्षता गर्ने अवसरसमेत पाएका छन् । ज्येष्ठ सभासद् भएका कारण ८६ वर्षीय थापाले सो अवसर प्राप्त गरे ।
अध्यक्षको कुर्सीबाट थापाले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान बनाउने दाबीका साथ तयारीमा जुटेका नेताहरूलाई कालो इतिहास दोहोरिन सक्ने चेतावनी दिँदै त्यसतर्फ सजक हुन आग्रहसमेत गरे । उनले ००७ देखि ०१४ सालसम्मको राजनीतिक अस्थिरतालाई स्मरण गर्न सबैलाई आह्वान गरे ।
थापाले ००७ सालको परिवर्तनपछि अन्तरिम संविधानमा संविधानसभा निर्वाचनको व्यवस्था गरिएको स्मरण गरे । ००८ सालदेखि ०१४ सालसम्मको तत्कालीन नेतृत्ववर्गको अवस्था भ्रमपूर्ण रहेको, अर्काको हैसियत र अस्तित्त्व कोही पनि स्वीकार्न तयार नरहेको, आत्मकेन्द्रित जस्ता विषयले त्यतिबेला पनि जनताले अवसर गुमाउनु परेको दाबी थापाको छ ।
राजनीतिक क्षेत्रमा कत्ति पनि गम्भीर नहुने स्थिति, नेतृत्त्वको अदूरदर्शिताजस्ता कारणले पनि संविधान बन्न नसकेको जीकिर थापाले गरे । त्यसबेला गुमेको अवसर प्राप्त गर्न झन्डै ५० वर्ष कुर्नु परेको बताउँदै थापाले अब त्यसतर्फ सावधान हुन सबैलाई आग्रह गरे । संविधान नै जारी नगरी पहिलो संविधानसभा विघटन हुनुमा पनि त्यही अवस्था प्रमुख रहेको थापाले बताए ।
थापाले यस्तो भनिरहँदा अधिकांश सभासद् भावुक बनेका थिए । थापाले ००८ सालमा तत्कालीन नेतृत्व वर्गको अन्योल, इष्र्या, द्वेष, गम्भीर नहुने प्रवृत्ति र गैरजिम्मेवार प्रवृत्तिले गर्दा तत्कालीन राजाले अन्तरिम संविधान संशोधन गरेकोसमेत स्मरण गराए । अहिलेका राजनीतिक दलमा पनि त्यो प्रवृत्ति रहिरहने हो भने त्यतिबेलाको जस्तै यो संविधान पनि राजाले दिने अवस्था आउन सक्ने भन्दै उनले ‘इतिहास आफैँ दोहोरिन्छ’ भन्ने शब्दलाई निक्कै जोडका साथ वाचन गरेका थिए । ‘दलहरू मिलेर अघि बढ्नुपर्छ अन्यथा इतिहास दोहोरिन सक्छ’ अन्तिममा उनले भने, ‘आशा राखौँ त्यस्तो नहोस् ।’
प्रतिक्रिया