कञ्चनपुर । महेन्द्रनगरको खुल्लामञ्चमा सञ्चालन भएको सुदूरपश्चिम औद्योगिक व्यापार मेलाको अवधि तीन दिन थप भएको छ । नेपाल उद्योग परिसंघ कैलाली–कञ्चनपुर च्याप्टरको आयोजनामा सञ्चालन भएको व्यापार मेलाको अवधि तीन दिन थप भएको हो ।
यसअघि माघ ५ गते समापन हुने भनिए तापनि मेला अवधिमा दुई दिन पानी परेका कारण मेलाको अवधि थप भएको आयोजकले जनाएको छ । नेपाल उद्योग परिसंघ कैलाली–कञ्चनपुर च्याप्टरका अध्यक्ष तथा मेला मूल आयोजक समितिका अध्यक्ष हेमविक्रम थापाले स्थानीय स्टल व्यापारीको आग्रह र बीचमा पानी परेका कारण मेलाको अवधि बढाएको जानकारी दिए ।
स्थानीय वस्तुको प्रदर्शन तथा सुदूरपश्चिमको आर्थिक विकासका लागि मेलाको महत्वपूर्ण भूमिका रहेको संयोजक थापाले बताए । माघ ५ गतेसम्म नौ लाखभन्दा बढीको टिकट बिक्री भएको आयोजकले जनाएको छ ।
मेला अवलोकनका लागि सर्वसाधारणलाई ३० र विद्यार्थीलाई १० को टिकटको व्यवस्था गरिएको छ । एउटा टिकट बिक्रीबापत परिसंघले सञ्चालन गरेको नागरिक लगानी कोषमा एक रुपैयाँ जम्मा गरिने अध्यक्ष थापाले बताए । मेलाभित्र १ सय ५० स्टलमा स्थानीय तथा राष्ट्रिय उत्पादनका सामग्री प्रदर्शन गरिएका छन् ।
प्रतिक्रिया