चितवन, २४ मंसिर । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको आरोपमा पक्राउ परेका परशुराम पौडेलमाथि थप अनुसन्धानका लागि जिल्ला अदालतले १२ दिनको म्याद दिएको छ ।
भरतपुर–९ शरदपुरस्थित निवासबाटै शुक्रबार राति प्रहरीले पक्राउ गरेका पौडेललाई १२ दिन थप अनुसन्धान गर्न अदालतले आइतबार म्याद दिएको हो । किटानीजाहेरी परे पनि पौडेल फरार रहेको भन्दै प्रहरीले यसअघि पक्राउ गर्न सकेको थिएन । छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको वीर अस्पतालमा अनशनमा रहेका अधिकारीका बाबु नन्दप्रसाद र आमा गङ्गामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पौडेलसहित अन्यको खोजीलाई प्रहरीले तीव्रता दिएको थियो ।
पक्राउलगत्तै पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । २६ मंसिर २०६२ मा अधिकारीका दाजु नुरप्रसादले ११ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । तीन महिनाअघि अधिकारीका बाबुआमा दोषीलाई कारबाही नभएको भन्दै अनशनमा बसेपछि प्रहरीले आरोपितमध्ये रामप्रसाद अधिकारीलाई पक्राउ गरी अनशन तोडाएको थियो ।२५ दिनसम्म हिरासतमा राखिएका अधिकारीलाई प्रमाण पर्याप्त नभएको भन्दै छाडिएको थियो ।
एसएलसी परीक्षा दिएर हजुरबुबा र हजुरआमालाई भेट्न चितवनको जयमंगला आएका १८ वर्षीय कृष्णप्रसादको २४ जेठ २०६१ मा हत्या भएको थियो । नुरप्रसादले पौडेल र अधिकारीसगै गोरखा फुजेल–६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल–७ का विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, रामप्रसाद अधिकारी र भीमसेन पौडेलविरुद्ध जाहेरी दर्ता गराएका थिए ।
पौडेल कुन पार्टीको ?
चितवन जिल्ला प्रहरीले पक्राउ गरेका पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको दाबी गरेका छन् । एमाओवादी र नेकपा–माओवादीले पक्राउ लगतै छुट्टाछुट्टै विज्ञप्ति निकाली पौडेल निर्दाेष रहेको भन्दै तत्काल रिहाइको माग गरेका हुन् ।
एमाओवादीले पौडेल पक्राउको विरोधमा आइतबार दिउसो ३ बजेदेखि एक घन्टा जिल्लाका प्रमुख ६ स्थानमा चक्काजाम गरेको थियो । नेकपा–माओवादीका जिल्ला नेतृत्वले पौडेललाई अदालत लगेसँगै दिनभर रिहाइको माग गर्दै जिल्ला अदालत छाडेनन् ।
‘मलाई पक्रेर मुद्दा चलाऊ’
काठमाडौं : एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा प्रहरीले आफ्ना कार्यकर्ता पक्राउ गरेकोमा आक्रोश व्यक्त गरेका छन् । नेता भट्टराईले तत्कालीन संयुक्त क्रान्तिकारी जनपरिषद अर्थात समानान्तर सरकार प्रमुखको हैसियतले आफूलाई गिरफ्तार गरेर मुद्दा चलाउन सरकारलाई चुनौती दिएका छन् ।
उनले १ फागुन २०५२ देखि ५ मंसिर २०६३ को अवधिमा भएका कुनै पनि घटनाको सत्यतथ्य छानबिन नगरि आफ्ना कार्यकर्ता पक्राउ गरेको भन्दै सरकारप्रति रोष प्रकट गरेका हुन् । ‘जनयुद्धकालिन मुद्दामा गोरखा फुजेलका परशुराम पौडेललाई गिरफतार गर्नु बृहत शान्ति सम्झौताको ठाडो उल्लंघन हो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संयुक्त क्रान्तिकारी जनपरिषद अर्थात समानान्तर सरकारको प्रमुखको हैसियतले मलाई गिरफ्तार गरेर मुद्दा चलाउन चुनौती दिन्छु ।’
प्रहरीले कृष्णप्रसादको हत्या अभियोगमा पौडेललाई शुक्रबार पक्राउ गरेको थियो । सरकारले एमाओबादी कार्यकर्तालाई पक्रउ गरी अनुसन्धान थालेपछि भट्टराईले यस्तो प्रतिक्रया दिएका हुन । उनले सरकारले शान्ति विरोधीहरूको आग्रहमा आफना कार्यकर्तालाई पक्रउ गरेका आरोप लगाएका छन् ।
सशस्त्र युद्धका समयमा भएका घटनाको सत्यनिरूपण तथा मेलमिलाप आयोगबाट टुंगो लगाउनुपर्ने उल्लेख गर्दै उनले तत्काल आयोग गठनको मागसमेत गरेका छन् । उनले द्वन्द्वका क्रममा मारिएका १७ हजार व्यक्तिका परिवारले एकसाथ भोक हड्तालमा उत्रिएपछि शान्ति प्रक्रिया धरापमा पर्ने जिकिर गर्दै यस्ता कार्यमा नलाग्न सरकारलाई चेतावनी पनि दिएका छन् ।
उनले आफ्नो छोराको हत्यामा संलग्न दोषीमाथि कारबाहीको माग गरी आमरण अनशनमा बसेका अधिकारी दम्पतीलाई ‘जंगली’को संज्ञा दिएका छन् । सशस्त्र युद्धकालमा अपहरण गरि छोराका हत्या गर्नेलाई पक्राउ गरि कारबाही गर्न माग गर्दै अनशन बसेका फुुजेलका नन्दप्रसाद र गंगामाया अधिकारीले न्याय माग्न जंगली सिद्धान्त अपनाएको भट्टराईको जिकिर छ । सामाजिक सन्जाल फेसबुकमार्फत उनले ‘अधिकारी दम्पतीले प्राचीन कालको आखाका बदला आखा, दाातको बदला दात’ भन्ने सिद्धान्तबाट न्याय मागेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया