‘तालमेल नगरेका कारण पराजय’

काठमाडौं, २४ मंसिर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अधिकांश केन्द्रिय सदस्यले मधेसी दलहरुबीच चुनावी तालमेल नहुँदा दोस्रो संविधानसभा चुनावमा पराजयको सामना गर्नुपरेको बताएका छन् । पार्टीको जारी केन्द्रिय समिति बैठकमा आइतबार बोल्ने अधिकांश केन्द्रिय सदस्यले यस्तो धारणा राखेका हुन् ।
ललितपुरको धोबीघाटमा शनिबार सुरु बैठकमा चुनावी समीक्षाको क्रममा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् । संविधानसभा चुनावमा उम्मेदवार छनोट र प्रचार रणनीतिमा चुक्नाका साथै मुद्दा मिल्ने दलसँग तालमेल गर्न नसक्दा पार्टीले प्रत्यक्षतर्फ झन्डै सात गुणा कम सिट जितेको धारणा केन्द्रीय सदस्यहरुले राखेका थिए ।
सोमबारसम्म चल्ने बैठकले चुनावी समीक्षा, सहमतिको सरकारका लागि पार्टीको एजेन्डा तर्जुमा र १० समानुपातिक सभासद्को सिफारिस बैठकले गर्ने पार्टी अध्यक्ष विजयकुमार गच्छदारले जानकारी दिए ।
फोरम (लोकतान्त्रिक)ले प्रत्यक्षतर्फ चार क्षेत्रमा मात्र जित हासिल गर्नसक्नुमा पार्टीको कमजोर रणनीति भएको भनी केन्द्रीय सदस्यहरुबाट भएको टिप्पणीबारे प्रतिक्रिया दिदै केन्द्रीय कोषाध्यक्ष आशा चतुर्वेदीले अदृश्य शक्तिको चलखेल कारक रहेको बताए ‘चोटै नदेखिने गरी पिटेको जस्तो भएको छ ।’ चुनाबी पराजयका बारे
उनले भने ।
पार्टी अध्यक्ष गच्छदारको अध्यक्षतामा चलिरहेको बैठकमा केन्द्रीय समितिका १०२ सदस्यमध्ये आइतबार ८३ जनाले आफ्नो धारणा राखे । बाकी सदस्यले सोमबारको बैठकमा आ–आफ्नो धारणा राख्नेछन् ।

प्रतिक्रिया