गगनलाई अदालतले बोलायो

काठमाडौं, २४ मंसिर । संविधानसभा अदालतले काठमाडौं क्षेत्र नम्बर ४ बाट निर्वाचित कांग्रेस युवा नेता गगन थापालाई १० दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।
अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले आइतबार थापा, निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतलगायतलाई आवश्यक कागजातसहित उपस्थित हुन आदेश दिएको हो । थापाविरुद्ध एमाओवादीका पराजित उम्मेदवार नन्दकिशोर पुनले संविधानसभा अदालतले बिहीबार उजुरी दिएका थिए । थापाले धाँधली गरी चुनाव जितेका कारण उनलाई सभासद् पदमा शपथ नगराउन माग गर्दै पुनले अदालतमा उजुरी दर्ता गराएका थिए । ‘थापाले धाँधली गरेर चुनाव आºनो पक्षमा पारेका छन्, उनलाई सभासद् पदमा शपथ नगराउन अन्तरिम आदेशको माग गर्दछु,’ उजुरीमा भनिएको थियो ।
अदालतले दोलखा–१ का पार्वत गुरुङलाई पनि आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन भनेको छ । दोलखा–१ का एमाओवादीका पराजित उम्मेदवार विशाल खड्काले आइतबार नै उजुरी दर्ता गराएकोमा अदालतले यस्तो आदेश दिएको हो । यसअघि कांग्रेस उम्मेदवार जीपछिरिङ लामाले पनि गुरुङविरुद्ध चुनावमा धाकधम्कीसहित गुण्डागर्दी गरेर मतदान केन्द्र कब्जामा लिने काम भएको आरोप लगाउदै पुन:चुनाव गराउनुपर्ने मागसहित उजुरी दिएका थिए ।

प्रतिक्रिया