धानको मूल्य पुन:निर्धारण

धनगढी : नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले गत असोजमा निर्धारण भएको धानको मूल्यमा संशोधन गरी शुक्रबार पुन: मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समितिका अध्यक्ष एवं कैलालीका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा धानको मूल्य निर्धारण भएको संस्थानका कार्यालय प्रमुख सुरेन्द्रराज विष्टले बताए । बैठकले प्रतिक्विन्टल मोटो धान एक हजार सात सय ५० मध्यम धान एक हजार सात सय ७५ र मसिनो धान एक हजार आठ सय ५० मूल्य निर्धारण गरेको छ ।
जिल्लामा हाल खरिद बिक्री भइरहेको धानको मूल्यलाई दृष्टिगत गरी धानको नयाँँ मूल्य निर्धारण गरिएको विष्टले बताए । धानको नयाँ मूल्य निर्धारणसँगै कैलालीको मोहनपुर, सुख्खड र टीकापुरमा शुक्रबारबाट काँटा सञ्चालनमा ल्याई किसानको धान खरिदको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ । गत १२ असोज संस्थानले प्रतिक्विन्टल मोटो धान एक हजार रुपियाँ छ सय २५ मध्यम धान एक हजार छ सय ५० र मसिनो धान एक हजार सात २५ मूल्य निर्धारण गरेको भए पनि संस्थानले तोकेको यो मूल्यभन्दा बजारमा व्यापारीले बढी मूल्यमा किसानको धान खरिद गर्न थालेपछि संस्थानलाई मूल्य संशोधन गरी पुन: मूल्य निर्धारण गर्नुपर्ने अवस्था आएको हो । असोजमा तोकिएको मूल्यमा संस्थानका काँटामा एक क्विन्टल पनि धान खरिद हुन सकेको थिएन ।
त्यसैगरी समयमा वर्षा भएको र कीराको प्रकोपमा कमी भएकाले गत वर्षको तुलनामा सप्तारीमा करिब एक सय ८० प्रतिशतले धान उत्पादनमा वृद्धि भएको छ । यस वर्ष ६० हजार दुई सय हेक्टर जग्गामा लगाइएको धानबालीबाट प्रतिहेक्टर २.५७ प्रतिशतका दरले धान उत्पादन भएको छ । यस वर्ष एक लाख ५४ हजार सात सय १४ टन धान उत्पादन भएका जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
यस वर्ष सिञ्चित जग्गामा करिब चार टन र असिञ्चित जग्गामा दुई टनका दरले धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रामचन्द्र यादवले जानकारी दिए । गत वर्ष ५५ हजार टन धान उत्पादन भएको थियो । जिल्लाको कुल ७५ हजार हेक्टर खेतीयोग्य जग्गामध्ये यस वर्ष समयमा वर्षा भएको र रोग कीराको प्रकोपमा कमी आएका कारण धान उत्पादन वृद्धि भएको प्रमुख यादवको भनाइ छ । (सौस)

प्रतिक्रिया