समय मसँगै ब्युँझन्छ बिहानको झिसमिसे भएर । समयसँग दौडन्छु म भान्सा, धारा र पसल सबैतिर ।
रोबोटजस्तो शरीर दौडन्छ चारैतिर । कसको अधीनमा दौडन्छ यो शरीर थाहा पाउँदिनँ तर पनि दौडन्छ । मानिसले रोबोट बनाएपछि नै भगवानले रिसले मान्छेलाई रोबोट बनाइदिए हुन् क्यार † एक्काइसौं शताब्दीमा मानिसहरू रोबोटभन्दा कहाँ कम छन् र ? त्यसमा पनि एकल महिलाको जिन्दगी, सुपर–रोबोट भएर बाँचेको हुन्छ । चिया, नास्ता, खाना गर्दागर्दै मोबाइलको घन्टी बजेको थाहा नै पाइनछु । तीन मिसकल रहेछ दिदीकी छोरी आयुष्माको ।
अन्तिममा मेसेज पठाएर ठुक्क भएकी रहेछ । मेसेज के रहेछ हेर्छु, ‘आन्टी मम्मीलाई मोडल अस्तपालमा राखिएको छ । इमरजेन्सीमा हुनुहुन्छ । आत्तिनुपर्दैन हामी छौं ।’
‘ला † के भएछ दिदीलाई ? अलिक बिसन्चो छ भन्नुहुन्थ्यो । साह्रो पारेछ कि क्या हो ?’ मन भित्रभित्रै शंकाको संक्रमणले आतंकित बन्छु ।
सदाभन्दा एक घन्टाअघि घरबाट निस्किन्छु । पुरानो बानेश्वर चोकमा टेम्पोको पर्खाइमा बस्छु । कुनै टेम्पो खाली आउादैनन् । झर्को लाग्छ । भत्केको बाटोमा पानी परेर हिलाम्मे भएको छ । नेपालीले दु:खको भारी यही सडकमा बिछ्याइको हो कि जस्तो लाग्छ । मनमनै वितृष्णाको माला उन्न थाल्छु । वरिपरिको परिवेशलाई भिडियो क्यामेराले खिचेझैं मनको क्यामेरामा खिच्न थाल्छु । छेउमा एउटी महिला १०/१५ मुठा साग राखेर बेच्न बसेकी छ । एउटा ल्यान्डक्रुजर गाडी हिलो उछिटयाउँदै जान्छ । उक्त महिला हिलोबाट सागलाई जोगाउन असफल प्रयास गर्छिन् । मलाई लाग्छ, उक्त गाडीले हिलो छेपेको होइन, सम्पन्नताले मादकताको गन्ध छेपेको हो । म कथाकार रमेश विकलको कथा ‘नयाँ सडकको गीत’मा झंकृत हुन्छु । १० हजारको चश्मा, १५ हजारको सुट अनि ८० लाखको गाडीको अहम्ताको भार सायद यो सडकले पनि थेग्न नसकेर हिलो उछिटयाएजस्तो लाग्छ । यो सम्पन्नता अरू पनि धेरै कुराको गन्ध हुन सक्छ तर म साधारण कर्मचारी महिलाले अरु कुरा के बुझनु र ? ती गरिब महिला उठेर गाडीलाई सराप्न खोज्छिन् । त्यतिञ्जेल गाडी पर जाममा हराइसकेको हुन्छ । म फेरि यथावत टेम्पो पर्खाइमा परिवेशको चलचित्र खिच्न व्यस्त हुन्छु ।
हेर्दाहेर्दै एकछिनमा एउटा युवक पुलिस लिएर ती महिला भए ठाउँमा आइपुग्छ । एकछिन कुराको भारी बिसाउँदै त्यतै ध्यानमग्न हुन्छु ।
त्यो युवक तिनै महिलालाई देखाउँदै हवल्दारलाई भन्छ, ‘सा’ब साग बेच्ने महिला भनेकी यिनै हुन् । यिनकै साग खाएर मेरी काकी अहिले सिरियस भएर हस्पिटलमा हुनुहुन्छ ।’
सुरुमा ती महिला अत्तालिन्छिन् फेरि नम्र भएर भन्छिन्, ‘सा’ब मैले केही गरेकी छैन मैले त गाउँबाट ल्याएर साग बेचेकी हुँ हजुर ।’
त्यो युवक फेरि जोसिँदै भन्छन्, ‘यसो भनेर कहाँ हुन्छ सा’ब । यिनलाई वडा लानुपर्छ । त्यसै कहाँ छोड्न मिल्छ र ? दुधमा क्लोरोफार्म छ भनेर लाखौंको घाटा खुवाएर फयाक्ट्री बन्द गर्न लगाउने अनि यो साग खाएर मान्छे मर्यो भने छाड्न मिल्छ ?’
ती महिला हात जोडेर कारुणिक स्वरमा भन्छिन्, ‘सा’ब यसमा मेरो केही दोष छैन हजुर । घरमा मेरो श्रीमान् बिमारी छन् । अहिले गएर उनलाई औषधि खुवाउनुपर्छ । यो साग बेचिसकेर हजुरलाई मैले साग बेच्न ल्याउने ठाउँ देखाइदिन्छु हजुर अहिलेलाई छोडिदिनोस् ।’
उक्त युवक फेरि जान्ने भएर अघि बढेर बोल्छ, ‘हुन्न सा’ब यिनलाई वडा लानै पर्छ ।’
म टेम्पोभरि महिलाको वेदनाको तरंगसँग तरंगित भइरहन्छु ।
अस्पतालको इमरजेन्सी वार्डमा पुग्छु । दिदीसँग भेनाजु र छोरी पनि रहेछन् । दिदीको हातमा स्लाइन पानी दिइएको रहेछ । भेनाजु र म बाहिर निस्केर गफ गर्न थाल्यौं ।
‘दिदीलाई कहिलेदेखि यस्तो भयो भेनाजु ?’
भेनाजु भन्नुहुन्छ, ‘हिजो बेलुका सागभात खाएर सुतेका थियौं । तिम्रो दिदीलाई रातिदेखि बोमिटिङ र डाइरिया भयो र साहो पार्यो । अनि राति नै ल्यायौं ।’
‘ये ऽ ऽ अनि हजुरहरूलाई केही भएन ?’
‘केही भएन । उसलाई त्यो सुपको साग काँचो खायो भने औषधि हुन्छ भन्दै खाएकी थिई । हामीले चाहिँ पकाएर खाएका थियौं ।’
भेनाजुले यसो भन्नुहुँदा उही साग पसल्नीको भिडियोको चलचित्र मेरो मस्तिष्कमा घुम्न थाल्यो । मैले भनें, ‘भेनाजु अहिले म यता आउँदा पुरानो बानेश्वरमा एउटा साग पसल्नीलाई पुलिसले समाएर लग्यो । उसको साग खाएर बिमारी भएको भन्दै एउटा केटो आएको थियो । कतै हजुरले पठाउनुभएको त होइन ?’
भेनाजुले अत्तालिँदै भन्नुभयो, ‘ये हो त ? त्यहीको साग पसल्नीलाई कारबाही गर्नुपर्छ भन्दै मेरो भतिजो उफ्रँदै थियो । उसले समाउन प्रहरी बोलाएछ कि क्या हो ?’
भेनाजुले यसो भन्नुहुँदा मेरो वितृष्णाको माला चुडिएर छताछुल्ल हुन्छु । मैले आफूले आफूलाई संयमित बनाउँदै भेनाजुलाई भन्छु, ‘भेनाजु यो त घोर अन्याय भयो । दिदीले यसरी काँचै साग खान हुँदैनथ्यो फेरि त्यो पसल्नीले आफूले रोपेकी पनि होइन नि ?’
‘हो सुधा, मैले त्यो भतिजोलाई भो छोड दे भो छोड दे । केही नगर्नु भनेको थिएँ । उसले मानेन होला । दुई/चार हजार भए पनि पाकेट खर्च हुन्छ किन छाड्ने भन्दै थियो । त्यसो गरेछ । यसलाई गुन्डागर्दी गर्न कुनै बहाना नै चाहिँदैन । यो मोरो यस्तै गर्छ कतैबाट दुई/चार पैसा सित्तैमा झछ्र्र भने जाइलागिहाल्छ । ठुटे नेता भइटोपल्छ । म फोन गर्छु है त ।’
यति भन्दै भेनाजु मोबाइल अन गर्नुहुन्छ । म दिदी भए ठाउँमा आउँछु ।
एकछिनमा भेनाजु आउनुहुन्छ र भन्नुहुन्छ, ‘तिमी दिदीसँग बसिदिनु सक्छौ ? म त्यो ठुटे नेतालाई उजुरी फिर्ता लिई भनेर आउँछु । मोबाइलबाट भनेको सुन्दै सुन्दैन ।’
मैले भनें, ‘हुन्छ भेनाजु ती महिला रुँदै थिइन् । मैले आँखैले देखेको । हामीलाई पाप लाग्छ भेनाजु यस्ता गरिबहरूको आँसुले पोल्छ ।’
भेनाजु हतारिँदै जानुभयो । म भित्र बिमारी दिदीसँग बस्न गएँ । छोरी स्टुलको रिपोर्ट लिन गएकी थिई । मेरो मन भने मेरो अफिस र तिनै महिलाको अवस्थामा रुपान्तरित खेल खेलिरहेको थियो ।
म आफू बसेको परिवेशबाट संक्रमित बन्दछु । छेउछाउमा बिमारी राखिएका छन् । प्राय:लाई हातमा स्लाइन दिइएको छ । गफ गर्ने अनुकूलता छैन ।
एकछिनपछि एक जना बिमारी छेउमा ल्याएर राख्छन् केही मानिस ।
बिमारी ५५/६० को देखिन्छ । म ती बिमारीलाई नियालेर हेर्छु । विपन्नताको गन्ध आइरहेको हुन्छ । उनलाई उसका छरछिमेकले ल्याएका रहेछन् । एकछिनमा दुई जना डाक्टर आउँछन् । डाक्टरहरूले जाचिसकेपछि आइसियुमा राख्नुपर्ने बताउँछन् । आइसियुमा राख्न धरौटी ३० हजार बुझाउनुपर्ने डाक्टरहरू बताउँछन् । बिमारीको आफन्त नभएकाले छरछिमेकी तर्किन्छन् । इमरजेन्सीमा नै डाक्टरहरूले केही नि:शुल्क औषधि उपलब्ध गराउँछन् । आइसियुमा राख्नुपर्ने बिमारीलाई इमरजेन्सीमा राखेर हुन्छ र ?
एउटा बिमारीको पैसा नभएको कारणले ज्यान जान लाग्यो । मलाई नेपालीको भाग्यको विडम्बना देखेर विचार मन्थन गर्न मन लाग्यो । कोही नेपाली बिमारै नलागी जापान, अमेरिका पुगिसक्छन् कोही नेपाली भने औषधि उपचार नपाएर ज्यान जान लागेको छ । यो कस्तो विडम्बना हो नियतिको †
भेनाजु आइपुग्नुहुन्छ । दिदीलाई डिस्चार्ज गर्ने कुरा हुन्छ । भेनाजु औषधि अरू बिल लिन जानुहुन्छ ।
हामी घर फर्कने तयारीमा हुन्छौं । एकछिनपछि एक जना महिला रुँदै, अत्तालिँदै आउँछिन् । म तिनको मुख पुलुक्क हेछुर््ृ । उनी तिनै साग पसल्नी हुन्छिन् । तुरुन्त डाक्टरहरू त्यो आइसियुमा राख्नुपर्ने बिमारीको वरिपरि झुम्मिन्छन् । एक जना डाक्टरले चेक गरेपछि भन्छन्, ‘हि इज नो मोर ।’
मेरो मन विडम्बनाको ठूलो भारीले किचेजस्तो हुन्छ । म विवश र लाचार आँखाले यो सब हेरिरहेको हुन्छु । उनका छरछिमेकले उनलाई समाएर बाहिर लान्छन् । बाहिर उनको रुवाइ चर्कंदै जान्छ । उनको रुवाइमा म महिनैपिच्छे फेरिने मन्त्रीको गाडीले सडकमा साइरन बजाउँदै कुदाएको आवाज आइरहेको सुन्छु ।
प्रतिक्रिया