समानुपातिकमा मुसलमान प्रतिनिधित्व बढाउन माग

काठमाडौ, २२ मंसिर । राष्ट्रिय मुसलमान संघर्ष गठबन्धनले समानुपातिकमा मुसलमान समुदायको जनसंख्याका आधारमा सभासद प्रतिनिधित्व बढाउन माग गरेको छ ।

पहिलो संविधानसभामा ६ जना प्रत्यक्ष सभासदसहित १८ जना मुसलमान सभासद थिए भने अहिलेको दोस्रो संविधानसभामा ५ जना मुसलमानले प्रत्यक्षमा जित हासिल गरेका छन् । पहिलाको भन्दा अहिले प्रतिनिधित्व कम हुने देखिएपछि गठबन्धनले समयमै दलहरुको ध्यानाकर्षण गराएको हो ।
गठबन्धनले मुसलमानलाई अलग पहिचान दिनुपर्ने माग गर्दै विगतको संविधानसभादेखि नै आन्दोलन गर्दै आएको छ । गठबन्धनले बुधबार कांग्रेस सभापति सुशील कोइरालालाई भेटेर जनसंख्याको अनुपातमा संविधानसभामा प्रतिनिधित्व गराउन, मनोनीत २६ मा दुई जना मुसलमान समेट्न र सूचीमा रहेका सबै मुसलमान महिलालाई सभासद् बनाउन माग गरेको छ । कोइरालाले भने सकेसम्म प्रतिनिधित्व बढाउन आफूले पहल गर्ने आश्वासन दिएका छन् । कांग्रेसले १० जना मुसलमानलाई समानुपातिकमा राखेको छ । अघिल्लो पटक मोहम्मदी सिद्दिकीलाई मात्रै समानुपातिकबाट सभासद बनाएको थियो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पनि बुधबार भेटेर बढीभन्दा बढी मुसलमान प्रतिनिधित्व गराउन माग गरेको गठबन्धनका सचिव मोहम्मद जाकिर हुसैनले जनाएका छन् । एमालेले १६ मुसलमानलाई समानुपातिकमा राखेको छ । अघिल्लो संविधानसभामा एमालेले तीन मुसलमानलाई समानुपातिकबाट सभासद बनाएको थियो ।
दलका प्रतिनिधि र केही मुसलमान अगुवा संलग्न गठबन्धनले समानुपातिकमा मुसलमानको संख्या बढाउने माग सहितको ज्ञापनपत्र सबै दलहरुलाई बुझाएको सचिव हुसैनले जानकारी दिए ।
संविधानसभामा प्रतिनिधित्व बढी भए मात्रै आफ्ना मुद्धालाई सशक्त रुपमा उठाउन बल मिल्ने गठबन्धनसम्बन्धनको बुझाइ छ ।
यसपटक रुपन्देही १ बाट कांग्रेसका अब्दुल रज्जाक गद्दी, बारा ३ बाट फर्मुल्लाह मन्सुर, बारा ४ बाट एमालेकी नजमा खातुन, रौतहट २ बाट फोरम लोकतान्त्रिकका मोहम्मद मुस्ताक आलम र कपिलवस्तु २ बाट स्वतन्त्रमा अतहर कमाल मुसलमान विजयी भएका छन् । २०६८ को गणनाअनुसार नेपालमा ११ लाख ६४ हजार २ सय ६६ मुसलमान छन् ।

प्रतिक्रिया