सोलुखुम्बु : जिल्लाको चौलाखर्क तथा गोलीको केही स्थानमा उत्पादन गरिादै आएको अलौची उत्पादन यस वर्ष ३० प्रतिशतले बढेको छ । खोल्सामा फल्ने सुनको उपनामले चिनिने अलौचीप्रति त्यहाँका बासिन्दाको आकर्षण बढेसँगै उत्पादनमा समेत बढेको हो ।
स्थानीय कृषक तथा ठेकेदार डम्बरबहादुर बस्नेतका अनुसार गत वर्ष अनुमानित २३ हजार केजी उत्पादन भएको अलैंची यस वर्ष ३३ हजार केजीभन्दा बढी उत्पादन भएको हो । हाल स्थानीय मूल्य प्रतिकेजी एक हजार दुई सय रहेकाले यस वर्ष चौलाखर्क र गोली गाविसको केही भागमा गरी करिब चार करोडको अलैंची उत्पादन भएको छ ।
गाविसका धेरैजसो घरमा अलैंचीखेती रहेको र अलैंची टिप्न तथा गोडमेलका लागि स्थानीय कामदारको प्रयोग गरिने भएकोले अलैंचीको आम्दानी त्यही गाविसमा हुन्छ । अलैंचीको बेर्ना त्यही उत्पादन हुने र कृषकले अहिलेसम्म रासायनिक मल तथा कुनै किसिमको विषादी प्रयोग नगरेका कारण अलैंचीखेतीका लागि गरिएको लगानी अन्यत्र जाँदैन ।
कृषकले उत्पादन गरेको अलौची घरबाट नै बिक्री हुने गरेको छ । ‘अलैंची संकलकबीच प्रतिस्पर्धा भएका कारण कृषकले घरमै राम्रो मूल्य पाउने गरेका छन्’ स्थानीय संकलक रेखराज बस्नेतले भने । करिब दुई दशकअघि गाउँमा सुरु गरिएको अलैंची उत्पादन कार्यले पछिल्ला ५/७ वर्ष जिल्लाको चौलाखर्क गाविसमा राम्रो आम्दानी भइरहेको छ भने पछिल्ला वर्षमा छिमेकी गाविस गोलीमा समेत अलौचीखेतीको बिस्तार भइरहेको छ । स्थानीयस्तरमा उत्पादन भइरहेको अलैंची काठमाडौं लगेर बिक्री गर्ने गरिएको छ । सुरक्षालगायतका दृष्टिले अलैंची काठमाडौं पुर्याउनु चुनौतीपूर्ण रहेको भए पनि यसको बजार अभाव नभएको स्थानीय ठेकेदार डम्बरबहादुर बस्नेतको भनाइ छ । अलैंची उत्पादन र यसको राम्रो मूल्यकै कारण अहिले जिल्लाको चौलाखर्क तथा छिमेकी गाविसको आर्थिकस्तर वृद्धि भइरहेको छ ।
करिब दुई दशकअघि नै अलैंचीको खेती सुरु गरिएको भए पनि पछिल्ला वर्षमा यसको मूल्य बढेका कारण यस खेतीप्रति आकर्षण बढेर उत्पादन धेरै वृद्धि भएको हो । पछिल्ला वर्षको विभिन्न क्षेत्रमा उत्पादनमा आएको ह्रास र अन्तर्राष्ट्रिय बजारमा माग बढेपछि मूल्य एकाएक वृद्धि भएको हो । ठूला दाना, राम्ररी सुकेका र धूवाँ नलागेका जम्बुजेट भनेर चिनिने अलैंचीको मूल्य अहिले पनि सामान्यभन्दा प्रतिमन दुई हजार बढी छ ।
मसला, च्यवनप्राससमेत बनाउन प्रयोग हुने अलैंचीको माग र मूल्य दुवै बढेको छ । विशेषगरी भुटान र भारतमा उत्पादन कमी भएकाले यसको मूल्य बढी भएको व्यापारी बताउँछन् ।
नेपालको अलैंची करिब ९० प्रतिशत तेस्रो मुलुक निकासी भइसकेको छ । हिमाली, इलामी र भारत ब्राण्ड दिएर अलैंची तेस्रो मुलुक पुग्ने गरेको अलैंची व्यवसायी बताउँछन् । (सौस)
प्रतिक्रिया