‘सिंहदरबारसँग लड्छु’

लहान : एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी जनताले आफूलाई चुनाव जिताएको भन्दै विकास निर्माणले तीव्रता नलिएसम्म क्षेत्र नछाड्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावमा पार्टीको अप्रत्याशित पराजयका कारण मतगणना बहिष्कार गरेपछि बिहीबार पहिलोपटक सिरहा क्षेत्र नम्बर ५ पुगेका एमाओवादी अध्यक्ष दाहालले मतदातासामु यस्तो बताएका हुन् । ‘चुनावी युद्धमा हामी भनेजस्तो अवस्थामा पुग्न नसके पनि यस क्षेत्रको विकासका लागि सिंहदरबारसँग लडेरै भए पनि काम गर्नेछु,’ उनले भने ।
कार्यकर्तासहित सिरहा–५ को गौतारी पुगेका उनले दोस्रो संविधानसभा चुनाव महाभारतको लडाइँजस्तै भएको बताएका थिए । उनले आधारभूत विकासबाट वञ्चित यो क्षेत्रको विकासका लागि बाटोघाटो, खानेपानी र सिँचाइलगायत समस्या समाधानका लागि विशेष पहल गर्ने आश्वासन दिएका थिए । उनले संघर्ष गरेर जिताएको भन्दै मतदातालाई धन्यवाद ज्ञापन गरेका थिए ।
उनी सिरहा–५ मा १५२४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लीलानाथ श्रेष्ठले १४३२३ मत प्राप्त गरेका थिए । दुई क्षेत्रबाट उम्मेदवारी दिएका दाहालले काठमाडौं–१० मा भने तेस्रो स्थानमा मात्र मत ल्याएका थिए । (सौस)

प्रतिक्रिया