काठमाडौं : दोस्रो संविधानसभा चुनावमा पराजय भोगेपछि मधेसकेन्द्रित ४ राजनीतिक दलले पार्टी एकीकरणको प्रयास थालेका छन् ।
राजधानीमा बिहीबार संयुक्त पत्रकार सम्मेलन गरी चारै दलका नेताले पराजय व्यहोरेका कारण संगठित हुने निर्णय गरेको जानकारी दिएका छन् । एकीकरणको प्रयासमा लागेका दलहरूमा फोरम गणतान्त्रिक, संघीय सद्भावना, मधेस–तराई फोरम र नेपाल सद्भावना छन् । एकीकरण, सहकार्य वा मोर्चाबन्दी नगर्दा पराजय भोग्नुपरेको निष्कर्षका साथ यी दल एकता प्रयासमा लागेका हुन् । फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले मधेसी दलबीच सहकार्य वा एकीकरण हुन नसक्नु नै हारको कारण भएको उल्लेख गर्दै अब पार्टी एकीकरण आवश्यक रहेको बताए ।
उनीहरूले संविधानसभा चुनावको परिणाम नियोजित, धाँधलीपूर्ण र षड्यन्त्रमूलक रहेको आरोप लगाउँदै विभिन्न घटना, तथ्य र प्रवृत्तिले यसलाई प्रमाणित गरेको ठोकुवा गरेका छन् । ‘परिवर्तन र अधिकारका लागि लडेका शक्तिलाई नियोजित ढंगले संविधानसभाबाहिर राखेर यथास्थितिवादी शक्तिको थलोका रूपमा संविधानसभालाई परिणत गर्ने दुस्साहस भएको छ,’ उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ । (सौस)
प्रतिक्रिया