इलाममा साक्षरको सङ्ख्या बढ्दै

इलाम : इलाम जिल्लामा साक्षारता प्रतिशत बढ्दै गएको तथ्याङले देखाएको छ । जसको कारण इलाममा निरक्षरको सङ्ख्या घट्दै गएको छ ।
जिल्ला शिक्षा कार्यालयले पेस गरेको एक तथ्याङ्कअनुसार जिल्लाको एक नगरपालिका र ४८ गाविसमा ४० हजार २ सय ३३ जना निरक्षर रहेकामा हाल आएर आठ हजार ५ सय ३३ जना मात्र निरक्षर रहेका छन् । साक्षर नेपाल अभियानअन्तर्गत साक्षरता कक्षा सञ्चालन गरेको तीन वर्षमा ३२ हजार निरक्षरलाई साक्षर बनाइएको कार्यालयले जनाएको छ ।
आर्थिक वर्ष २०६७/६८ देखि जिल्लामा निरन्तर रूपमा साक्षरता कक्षा सञ्चालन गरिएको छ । पहिलो वर्ष १३ वटा गाविस, दोस्रो वर्ष आव २०६८/६९ र तेस्रो वर्ष आव २०६९/७० मा ११/११ वटामा गरी हाल ३५ गाविसमा साक्षरता अभियान सञ्चालन भइसकेको छ । हालसम्ममा ३२ हजार निरक्षरलाई सावा अक्षर चिन्ने, सही गर्न जान्ने र सामान्य चिठ्ठीपत्र लेख्न सक्ने बनाइएको जिशिकाका प्रेमकुमार गौतमले बताए ।
चालु आव २०७०/७१ मा फाकफोक, नयाँबजार, नामसालिङ, शान्तिपुर, सोयाङ, धुसेनी, चुलाचुली, इभाङ, इरौंटार, जमुना, कन्याम, लक्ष्मीपुर, महमाई र बाँझो गाविसमा साक्षरता कक्षा सञ्चालन गर्न लागिएको जिशिकाले जनाएको छ । यी गाविसमा आठ हजार ५ सय ३३ जना निरक्षर रहेको पाइएको छ ।
अभियान सञ्चालनपछि जिल्लालाई निरक्षरता उन्मूलन जिल्ला घोषणा गरिने छ । जिल्लामा ८३ प्रतिशत साक्षरता दर रहेको छ । ‘आजै सिकौँ साउँ अक्षर–नरहौँ कोही निरक्षर’ भन्ने नाराका साथ चालु आवमा साक्षरता अभियान सञ्चालन हुन लागेको छ । (सौस)

प्रतिक्रिया