वरिष्ठ नेता नेपाल कुटनीतिक भेटघाटमा व्यस्त

काठमाडौं, २१ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताई र इस्लामिक गणतन्त्र पाकिस्तानका राजदूत अरसद साउद खोसाले विहिवार भेटवार्ता गरे । विहिवार भएको अलग अलग भेटवार्तामा दुवै देशका राजदूतले सफलतापूर्वक संविधानसभा निर्वाचन सम्पन्न भएकोमा र पूर्वप्रधानमन्त्री नेपाल निर्वाचित भएकोमा बधाई दिँदै नयाँ संविधान निर्माण गरी आर्थिक विकासको ढोका खोल्न सफल होस् भन्ने शुभकामना दिए ।

त्यस अवसरमा राजदूत चुन्ताई र पूर्व राजदूत एवम् प्रतिनिधिमण्डलका प्रमुख याङ् होउलान सम्मिलित चिनियाँ टोलीले हालै चिनियाँ कम्युनिष्ट पार्टीको अठारौं बैठकले पारित गरेको आर्थिक एजेन्डा र परराष्ट्र नीतिबारे पनि पूर्व प्रधानमन्त्री नेपाललाई अवगत गराएको थियो । विहिवार नै भएको भेटमा पाकिस्तानी राजदूतले नेपाल र पाकिस्तानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन पाकिस्तान सरकार तयार रहेको उल्लेख गर्दै जारी सङ्क्रमणकालको छिट्टै अन्त्य गरी अगाडि बढ्न नेपाललाई शुभकामना दिए ।
वरिष्ठ नेता नेपालले नेपालका छिमेकी एवम् मित्रराष्ट्रहरुको शुभेच्छाअनुरुप नवगठित संविधानसभाबाट संविधान निर्माणको कार्य पूरा गरी मुलुकलाई आर्थिक विकास र प्रगतिको चरणमा प्रवेश गराउन दलहरुबीच पारस्परिक समझदारी निर्माण गर्न आफू र आफ्नो पार्टी सदा तयार रहेको र त्यसतर्फ प्रयास जारी रहेको धारणा राखे ।

प्रतिक्रिया